जलाइनुबाट यसरी जोगिए ऐतिहासिक तस्बिर

जलाइनुबाट यसरी जोगिए ऐतिहासिक तस्बिर


इतिहास
  • सुनिल उलक


प्रस्तुत तस्बिर राणा प्रधानमन्त्री देव शम्शेरको दोस्री श्रीमती रानी कृष्णकुमारीको हो । खासै बहुमुल्य नभए पनि यो चित्र हाल विश्वको नाम चलेकै कला-सङ्ग्रहक अलकाजी फाउण्डेशनको सङ्ग्रहमा रहेको छ ।

देवशम्शेर भारत निस्काशित भएपछि फेयरलाँन प्यालेस, मसुरी गएर बसे । त्यहीँ उनको स्वर्गारोहण पनि भयो । यिनै कृष्णकुमारी र देवशम्शेरको साहिँली छोरी भुवनकुमारीको सङ्ग्रहमा रहेको करिव ८०० तस्बिरहरू उनको देहरादुनको पुरानो घरमा रहिरहेको थियो । उनका पनाति-पनातिनीहरूको लागि निकै समय बेकारको चिज भएर स्टोर कोठामा भण्डार भएर ती तस्बिरहरू रहे । एकपटक त यिनीहरूले जलाउने पनि तैयारी गरेका थिए । तर, के सोचेर हो त्यसपटक जलाउन पाएनन् ।

अचानक एकदिन भुवनकुमारीको पनातिनी इशा सिंह शाहनीको भेट ‘इण्डिया फोटो अर्काइव फाउण्डेसन’का आदित्य आर्यसँग भयो । घरमा जलाउन सोचेर राखेका तस्बिरहरू उनलाई देखाउँदा आर्यले ती सबै तस्बिरलाई आधुनिक कम्प्यूटर प्रणालीबाट पूनर्जीवन दिए । साथै नाम दिए- भुवन कुमारी देवी आर्काइव ।

दुइ वर्षअगाडि करिव ८० तस्बिरहरूको प्रदर्शन दिल्लीमा भयो । ‘निर्वासन’मा यो प्रदर्शनीले केवल ती तस्बिरहरूले पुनर्जीवन पाएन । एक पटक फेरि आफ्नै भाइबाट देशनिकालमा परेर राज्य गुमाएका राज्य र जनताको एक सच्चा भक्त उदार तथा सामाजिक उत्थान चाहने राणा प्रधानमन्त्रीको रूपमा भारतमा चर्चा चल्यो । हरेक भारतीय अखबारका मुख्य पृष्ठमा समाचार बन्यो । इतिहासको चर्चा भयो, देवशम्शेरको योगदानका कथाहरू लेखिए । ती लेखहरू र फोटो प्रदर्शनीले देवशम्शेरका हरेक सन्ततिलाई आफ्ना पूर्वजका बारेमा गर्व जाग्यो । थाहा हुनेलाई त थाहा थियो नै थाहा नपाएकाहरूले पनि थाहा पाए ।

तपाईंको बुबा वा बाजेको पारिवारिक तस्बिर तपाईंको लागि निकै महत्वपूर्ण हुन सक्छ । तर तपाईंको नाति वा पनातिको पालामा बेकारको चिज बन्न सक्छ । नयाँ सजावटमा मग्न नयाँ पिँढीको लागि यी तस्बिर महत्वहीन हुन जान्छ । केही समय स्टोरमा रहे पनि पछि कवाड जम्मा गर्नेलाइ बेचिन सक्छ वा जलाइन सक्छ । हामीकहाँ पनि कतिपयको घरमा यस्तै ऐतिहासिक तस्बिरहरू भण्डारकोठाको कुनामा मिल्किएका हुन सक्छन् । ती तस्बिरहरू समयमै मलाई उपलब्ध गराइ डिजिटल रूपमा सुरक्षित राखिदिनुभयो भने पछिका पिँढीको लागि अमुल्य उपहार हुन सक्छ ।