जनगायक जीवन शर्मा पुरस्कृत

जनगायक जीवन शर्मा पुरस्कृत


जनगायक जीवन शर्मा यहाँ स्थापित ‘कलाकार बाबुराम-सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो ।

सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।

‘पुरस्कारले प्रेरणा र उर्जा थपेको छ’, उहाँले भन्नुभयो, ‘कुनै बेला हामीले गीत गाउँदा हत्कडी लगाइन्थ्यो, अहिले गलामा फूलको माला छ ।’ सोही समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी…’ सुनाउनुभएको थियो । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मनुभएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्छ । रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहनुभएका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।

स्मृति कोषले भदौरे नाचको संरक्षण र उत्थानमा योगदान पुऱ्याएको भन्दै ज्ञानोदय बुद्ध बिहार बागलुङलाई पनि पुरस्कृत गरेको छ । रु. २० हजार राशिको उक्त पुरस्कार बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गरिएको थियो । कलाकार बाबुराम बज्राचार्य र उहाँकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उहाँका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए । कोषबाट यसअघि मूर्तिकार ओम खत्री, कलाकार विक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसक्नुभएको छ ।