‘गैरआवासीय नागरिकता’का लागि विशेष कार्यशाला गोष्ठी आयोजना गर्दै एनआरएनए

‘गैरआवासीय नागरिकता’का लागि विशेष कार्यशाला गोष्ठी आयोजना गर्दै एनआरएनए


  • विशेष प्रतिनिधिबाट

गैरआवासीय नेपाली सङ्घले आफ्ना विविध गतिविधिसँग सम्बन्धित विषयमा केन्द्रित रहेर एक विशेष कार्यशाला गोष्ठी आयोजना गर्न लागेको जनाएको छ ।

हाल जारी संसद्को अधिवेशनबाट गैरआवासीय नेपालीहरूले प्राप्त गर्ने भनिएको ‘गैरआवासीय नागरिकता’का साथै गैरआवासीय लगानी अनि यसको सिमासँग सम्बन्धित विविध विषयलाई नेपाल सरकारका सरोकारवाला निकाय तथा सम्बन्धित व्यक्ति–व्यक्तित्वहरूसँग छलफल गरी आफ्ना मागहरूबारे जानकारी गराउने र कार्यान्वयनका लागि आग्रह गर्ने कार्यशालाको उद्देश्य रहने जनाइएको छ ।

गैरआवासीय नेपाली नागरिकता र यसले समेट्ने प्रावधानमा सङ्घले गहिरोसँग चासो राखिरहेको बुझिएको छ । यस्तै, राष्ट्र बैंकबाट जारी गरिएको सूचनाअनुसार गैरआवासीय नेपालीहरूको लगानी दायराका विषयमा स्पष्टताका लागि सम्बन्धित निकायका व्यक्तित्वहरूलाई निम्त्याइ सङ्घले अझ स्पष्टताको प्रयास गरिरहेको पनि बुझिएको छ ।

सङ्घका महासचिव गौरी जोशीका अनुशार यस कार्यक्रम आयोजनाका लागि कार्यकारी अध्यक्ष कुल आचार्य, अर्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा, सङ्घका महासचिव डा. केशव पौडेललगायतका पदाधिकारीहरू यसै महिनाको दोश्रो साता राजधानी काठमाडौं पुग्दैछन् ।

उक्त कार्यशालामा सङ्घद्वारा प्रष्टता खोजिएका विषयहरूमा सरोकारवाला सम्बन्धित सबैसँग छलफल गरिने सङ्घको अभीष्ट रहेको छ भने कार्यशालाका लागि एक अध्यक्ष डा. केसी नेपाल पुगिसकेका छन् ।

उक्त कार्यशाला गोष्ठीमा संसदमा प्रस्तुत हुन लागेको नागरिकता ऐनमा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा पनि प्रावधान राखिने भएकाले सङ्घले आफ्नो स्थापनाकालदेखि उठाउँदै आएको यस महत्वपूर्ण विषयलाई प्राथमिकतामा राखेर क्रियाकलाप अघि बढाएको हो । सङ्घले उठाउँदै आएको गैरआवासीय नेपाली नागरिकता दिलाउनका लागि यो समय महत्वपूर्ण रहेको महसूस गरी एनआरएनए सचिवालयले विशेष कार्यशाला गोष्ठी आयोजना गर्न लागेको हो ।