अष्ट्रेलियामा कबड्डी-४ ले तताएको नेपाली सिनेमाको बजार

अष्ट्रेलियामा कबड्डी-४ ले तताएको नेपाली सिनेमाको बजार


  • राजन घिमिरे

अब यो कुरा निश्चित तथा प्रमाणित भएको छ कि नेपालबाहिर नेपाली सिनेमाको ठूलो बजार अष्ट्रेलियामा छ । पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या बढ्नु र अष्ट्रेलियामै स्थापित भएर बस्ने नेपालीहरूको संख्यामा आएको बढोत्तरीले पनि अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बढ्न पुगेको छ । नेपालमा उत्कृष्ट मानिएका र चर्चा बटुल्न सफल चलचित्रहरूले अष्ट्रेलियामा नेपाली एक करोड भन्दा माथिको ब्यापार गर्न सक्छ भन्ने उदाहरण एकपछि अर्को प्रस्तुत भएका छन् ।

लामो समयदेखि अष्ट्रेलियामा नेपाली सिनेमा प्रदर्शन गर्दै आएका रोशन भट्टराईका अनुसार अष्ट्रेलियामा पारिवारिक र हास्य विषयबस्तुमा बनेका चलचित्रहरूले राम्रो बजार पाउने गरेका छन् । उनका अनुसार नेपालमा चर्चा पाएका र गीत संगीत हिट भएका सिनेमाहरू अष्ट्रेलियामा चल्ने गरेका छन् । भट्टराईले वडा नं ६ देखि हाल प्रदर्शन भइरहेको चलचित्र कबड्डी-४ सम्म आइपुग्दा अष्ट्रेलियामा नेपाली सिनेमाहरूलाई सफलताका साथ प्रदर्शन गराइसकेका छन् ।

तत्कालिन अवस्थामा वडा नं ६ ले पूरा अष्ट्रेलियामा १५ लाखहाराहारीको ब्यापार गरेको थियो भने अहिले एक हप्ताभित्र कबड्डी-४ को ब्यापार १ करोडभन्दा माथि पुगिसकेको छ । यस हिसाबले हेर्ने हो भने एकपछि अर्को चलचित्र गरेर अष्ट्रेलियामा नेपाली सिनेमाले ब्यावसायिक छलाङ मारिरहेका छन् भन्दा फरक नपर्ला । त्यसो त अष्ट्रेलियामा चलेका सबै सिनेमा ब्यावसासिक रूपमा राम्रै हुन्छन् भन्ने पनि छैन । लभ स्टेसन, दाल भात तरकारी, कान्छी लगायतका केही सिनेमाले नेपालबाट ती सिनेमाहरू किनेर लगेको रकम पनि उठाउन नसकेको उदाहरण पनि ताजै छन् ।

नेपालसँगै एकसाथ अष्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन गरिएको चलचित्र कबड्डी-४ लाई एक हप्ताभित्र पूरा अष्ट्रेलियामा ८ हज़ार दर्शकहरूले हेरिसकेका छन् भने यो क्रम अझै बढ्दो छ । यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याउने रोशन भट्टराई र विनोद पौडेलका अनुसार अहिलेसम्म कबड्डी-४ ले एक करोड भन्दा माथिको ब्यापार गरिसकेको छ । यो रकम सबै नाफा नभइ ब्यापार मात्र हो । यही रकमबाट नेपालको निर्मातालाई बुझाउनुपर्ने, हलचार्ज र प्रचारप्रसारमा पनि खर्च गर्नुपर्ने उनीहरुको प्रष्टोक्ति छ ।

अष्ट्रेलियामा कति रकम तिरेर चलचित्र खरिद गरिन्छ ? हलचार्ज र प्रचारप्रसारमा कति खर्च हुन्छ ? यी आन्तरिक कुरा हुन्, तर पनि अष्ट्रेलियामा एउटा नेपाली चलचित्रले १ करोड़ भन्दा माथिको ब्यापार गर्न थाल्नु अवश्य पनि समग्र नेपाली सिनेमा क्षेत्रको लागि खुशीको कुरा मान्नु पर्दछ । ‘अष्ट्रेलियामा नेपाली सिनेमालाई यो सुखद अवस्थामा पुऱ्याउन अष्ट्रेलियाबासी नेपालीहरूको ठूलो हात छ । काम छोडेर र ब्यस्त समयलाई कटाइ नेपाली सिनेमाप्रति उहाँहरुले देखाउनुभएको माया र साथ साँच्चै नमन गर्नलायक छ । हामी त माध्यम मात्र हौँ’, रोशन भट्टराईको भनाइ छ ।

यस अघि यो समूहले अष्ट्रेलिया भित्र्याएको चलचित्र जात्रैजात्राले पनि एक करोडको हाराहारीमा ब्यापार गरेको थियो भने लुट-२ को ब्यापार पनि सुखद नै रह्यो । यस हिसाबले जात्रैजात्राको ब्यापारलाई कबड्डी-४ ले जित्ने निश्चित देखिएको छ । यो चलचित्र कबड्डी-४ करिब एक महिना भन्दा बढी अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रदर्शन हुने निश्चित भएको छ । ‘कबड्डी-४ देखाएर हामी अर्को चलचित्र खरिद गर्ने तयारीमा थियौँ तर, यो चलचित्रको शो बढेको र दर्शकहरूले बढ़ी माग गरेकाले हामीले हाल अर्को चलचित्र किन्ने सोच छोड्यौँ’- भट्टराईले जानकारी दिए ।