‘युक्रेनमा युद्ध घमासान भएर बारूदले ध्वंश मच्चाइरहेको छ’

‘युक्रेनमा युद्ध घमासान भएर बारूदले ध्वंश मच्चाइरहेको छ’


  • गोविन्द बेल्वासे, लण्डन

युरोभिजन साङ्गीतिक प्रतिस्पर्धा-२०२२ मा युक्रेनले देशको प्रतिनिधत्व गऱ्यो र प्रथम पुरस्कार जित्यो । उक्त सहभागिता युद्ध साहित्य भनेर बुझ्न मन लाग्छ । वीर रसको प्रतिरोध विरूद्धमा श्रृङ्गार रसको हतियार पनि बन्न सक्छ । म भने टिभीको स्क्रीनमा फुटबल क्लबहरूको बीचका गोल ठोकाठोक युद्धभन्दा बढी सङ्गीतका प्रतिस्पर्धा मन पराउँछु । बारूदको युद्धले तर्साउँछ तर मञ्चमा लड्ने योद्धा पो मनपर्छ ! न सबै युद्ध मन पराएर लडिन्छन् न त बाघ र हरिणबीचको युद्ध टारेर टारिन्छ । मान्छे बाघप्रति टीठ मान्छ र बाघ संरक्षणको अभियान चलाउँछ । तर, बाघ बाच्न अर्को प्राणीको ज्यन जानुपर्छ । हिंसा तथा अर्को प्राणीको नास पनि मान्छे मन पराउन बाध्य छ ।

बेलाबखत नाति र मेरो बीचमा पनि युद्ध चल्छ । स्पेशको स्पिकरमा बसेर हात उठाएपछि पालो पर्खिएकै बेला स्कूलबाट फर्किएको हुन्छ उ । बच्चोले गार्डेनमा खेल्ने साथी बनाउन मेरो औँला समाउँदै तान्दै गर्छ । मेरो मस्तिष्क मेरो बोल्ने पालो तर्किन्छ भनेर नातिलाई टार्न खोज्छ । कहिले म स्पिकरबाट झरेर उसको खेल्ने साथी बनिदिन्छु । कहिले यता बोल्ने पालो पाएका बखत नातिलाई पर्खाइरहेको हुन्छु । यस्ता युद्ध हाम्रा दैनिकी हुन्छन् ।

बारूद-युद्ध आवधिक हुन्छन् । कहिले छोटो समय लडिन्छन् त कहिले वर्षौं लम्बिन्छन् । जीत-हारमा रोकिन्छन् । बारूद त सलाइको काँटीको टुप्पामा पनि हुन्छ । पधेँराबाट फर्किएपछि आमाले गाग्री सधैं राख्ने ठाउँमा राख्नुहुन्थ्यो । त्यही सलाइका काँटीको बारूद कोर्दै अगेनामा आगो सल्काउनुहुन्थ्यो । बुबाले गोठबाट भरेर ल्याएको गाबुको दुध कराइमा खनाएर भल्काइन्थ्यो ।

माघ महिनामा अगेनाको डिलमा बसेर दिदीले स्वस्थानी कथा बाचन गर्नुहुन्थ्यो । हजुरआमा दुई हातका माझी औँलाका बीचमा फूल पर्ने गरेर नमस्करको भावमा शीर झुकाएर नमोनमः गर्दै हुनुहुन्थ्यो । अनि त्यो कथा तारकासुरसँगको युद्धबाट शुरू हुन्थ्यो । हाडबाट पहाड, रगतबाट समुन्द्र, मासुबाट माटो बनेको पृथ्वी बारेको अन्धविश्वास मेरो हार्ड ड्रइभमा भरिइरहेको थियो । मेरो सबै जस्तो स्पेस खाली रहेको मेमोरी खै कति एम्बी वा जीबी पो थियो कुन्नि ? त्यस्तै डेटाहरू मेमोरीबाट मेरो गिदीका हार्ड डिस्कमा भरिँदै गए । त्यसैगरी रामले रावणलाई बध गरेको युद्धको कथाले पनि एउटा फोल्डर बनाएर एउटा कुनामा थन्कायो । कौरव र पाण्डवहरूको युद्धको विवरण, त्यो युद्ध हुनुको कारण, महाभारतको कथाका रूपमा अर्को फोल्डर बनाएर गिदीका अर्को कुनामा थन्किन पुग्यो ।

मोदनाथ प्रश्रितले लेखेको ‘मनोहरादेखि मानवसम्म’ भन्ने पुस्तक पढेपछि गिदीभित्रको युद्धको स्वरूप परिवर्तन भयो । विज्ञानसरले ब्याख्या गरेको डार्बिनको विकासवादले स्वस्थानी कथाले ओगटेको अन्धविश्वास फोल्डर डिलिट गर्न हम्मे-हम्मे पऱ्यो ।

म ६ वर्षको हुँदा ठुलापधेँरामाथिको कोलमा भूत देखेँ । भूत हुँदैन भन्छन् कोही ! अनि ‘आफैले देखेको छु.. तैँले भनेर हुन्छ ?’ भनेर जोरका तोर गर्ने गर्थें । उमेरले सिकाएर होला त्यस्तो जोरका तोर हुने वाकयुद्धमा संयमित हुन अलि-अलि सिकेको छु । तर कहिलेकाहीँ ब्लड प्रेशरले पारा चढाउँछ र त्यस्ता वाकयुद्ध त कति चल्छन् कति । हुँदा-हुँदा के-के कुरा पढेँ । प्रोफेसरहरूका लेक्चर सुनेँ । विभिन्न चलचित्र हेरेँ । त्यसपछि आफैले देखेको भूत हुँदैहुँदैन भन्ने विश्वासको लडाइँ जितेँ । उहिले भूत हुन्न भन्नेहरूसँग भूत हुन्छ भनेर आफ्नो तर्क माथि पार्ने हठ ओकल्ने गर्थें । हिजोआज भूत हुँदैन भन्ने तर्क जित्न हठ गर्ने गर्छु । चाहे मान्नुस् चाहे नमान्नुस् भूत हुन्छ कि हुँदैन भन्ने गिदीभित्रको युद्धले सेतो झण्डा देखाएर शान्ति कायम गरेको छ । र, विश्वस्त भएको छु, भूत त हुँदै हुँदैन ।

आफैले भूत देखेको साक्षी बकपत्र पढेर सुनाएको हैन ? अनि देखेको कुरा होइन भन्ने विरोधाभास बोल्दोरहेछ भन्दै हुनुहुन्छ हैन त ?

भएछ के भने मेरो गिदीको हार्डडिस्क पूरै खाली थियो । छन त अपरेटिङ सिस्टमका केही डेटा पहिलेदेखि थिए होलान्, तर खाली नै भन्दा हुन्छ । दिदीहरूले सुनाएका भूतका कथाहरू एउटा फोल्डरमा भरिँदा स्वस्थानीको कथा पनि रेकर्ड भएको थिएन । पधेँरामा सिद्ध भूत छन् भनेर सुन्तली दिदीले सुनाउनुभएको थियो । कतिपय भूत आक्रामक भए पनि कतिपय सोझा भूत हुन्छन् भन्नुहुन्थ्यो । सिद्ध भूतमा पनि भलादमी आचरण हुन्छ भन्नुहुन्थ्यो । अनि सेता कपडा लगाएका अग्ला हुन्छन् भनेर म सुत्ने बेलामा सुताउने कथा सुनाउनुभएको थियो ।

सानै उमेरदेखि मलाई हिन्दी सिनेमा हेर्ने लत पनि बसेको छ अलि-अलि । कतिपय भूतका कथा भएको फिलिम हेर्दा पनि रमाइलै लाग्छ । त्यही क्रममा ‘लगे रहो मुन्ना भाइ’ भन्ने फिलिम हेरेँ । त्यो फिलिम हेरेपछि मुख्य हिरो सञ्जयदत्तले सन् १९४८मै मरिसकेका महात्मा गान्धीलाई ६० वर्षपछि देख्ने गरेको प्रसङ्ग छ । एक प्रकारले भन्ने हो भने गान्धीको भूत देख्थे भन्न पर्ला । रेडियोमा श्रोताले सोधेको प्रश्नको उत्तर गान्धीले हिरोलाई सिकाउँछन् । फिलिमको अन्त्यतिर एउटा प्रश्नको उत्तर दिन गान्धी आउँदैनन् । हिरोले गान्धीले दिएका ज्ञानको निकै अध्ययन गरेका कारण सबैै कुराको उत्तर गान्धीले दिएको रहस्य चिकित्सकले बताउँछन् । हिरोले पढेका किताबमा नलेखिएको विषयको प्रश्न दिन गान्धी नदेखिनु हिरोको गिदीको मेमोरी हार्ड डिस्कमा रेकर्ड नभएकोले रहेछ भन्ने सन्देश बुझेँ मैले ।

त्यसपछि मैले देखेको सिद्धभूत विषयको गिदीभित्र वर्षौं चलेको युद्ध पनि रोकियो । त्यो भूत मैले साँझमा देखेको थिएँ । ठ्याक्कै दिदीले पधेँराको भूतको विवरण सुनाएजस्तै भूत देखेको थिएँ ।

त्यसदिन, स्कूलबाट फर्किएर घरमा पुग्दा आमालाई नदेखेपछि दिदीलाई ‘खै आमा ?’ भनेर सोधेको थिएँ । दिदीले ‘तेल पेल्न जानुभएको छ’ भन्नुभयो । मलाई थाहा भएको तेल पेल्ने काठको कोल त्यही पँधेरानिर थियो । म अरू केही नभनी आमालाई भेट्न कोलमा गएँ । तर, त्यो कोलमा राम्रोसँग तोरी नपेलिने तथा तेल कम निस्कने हुनाले आमाहरू अलि टाढको कोलमा जानुभएको रहेछ । जाडो महिना भएकोले दिन छोटा थिए । पहेँली घाममा बारीको डीलैडीलको गोरेटो मोडिएर कोल देखिने ठाउँमा आमाहरू केही नभएर सुनसान देखेँ । त्यो कालो भएको कोलको तेर्सो काठ र बीचको मुढे भागको शून्यताबीच मेरो गिदीको फोल्डर खुलेछ । दिदीले सुनाएको सिद्धभूतको फोल्डरको फाइल खुलेकोले मेरा आँखाले त्यही इमेज फाइल देखेको भ्रम भयो । वास्तवमा मेरा आँखाले हैन दिमागले मात्र त्यो दृष्य देखेको थियो ।

जब मेरो गिदीको भूतयुद्ध सकियो त्यसपछि अँध्यारोमा भूतले छल्ने डरले सताउन पनि छाड्यो । भूत देख्नै छाडेँ । पहिला-पहिला त यति डर लाग्थ्यो कि सबै जना तल्लो तलामा बसेको समयमा माथि कोठामा पुगेर बिजुलीको स्वीच थिचेर उज्यालो नपार्दासम्म कुन भूतले छल्छ अब भन्ने डर लाग्थ्यो ।