आइएफजेको नयाँ अध्यक्षमा डोमिनिक प्राडाली

आइएफजेको नयाँ अध्यक्षमा डोमिनिक प्राडाली


  • डिल्ली अम्माई, मस्कट

फ्रान्समा लामो समयदेखि पत्रकारिता गर्दै आएकी पत्रकार डोमिनिक प्राडाली अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) को अध्यक्षमा निर्वाचित भएकी छन् ।

नेशनल युनियन अफ जर्नलिस्ट (IFJ) की सदस्य रहेकी उनी २ जुन २०२२ मा ओमानको राजधानी मस्कटमा भएको ३१औँ अन्तर्राष्ट्रिय पत्रकार महासंघ महासभाबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । महासभाभन्दा अगाडि मोरक्कोका युनेस मजाहेद आइएफजेका अध्यक्ष थिए ।

अध्यक्ष डोमिनिक प्राडालीले आफ्नो करिअरभरि फ्रान्सेली सार्वजनिक प्रसारण ORTF देखि फ्रान्स टेलिभिजनसम्म काम गरिसकेकी छन्, र उनी ‘फ्रान्स २’मा रात्रिकालीन समाचारको मुख्य सम्पादकसमेत रहेकी छन् ।

पत्रकारको रूपमा काम गर्दै जाँदा डोमिनिक प्राडाली स्वैच्छिक रूपले प्रेस संगठनका गतिविधिहरूमा पनि संलग्न भइन् । विशेषगरी उनले फ्रान्स टेलिभिजन-स्टाफ प्रतिनिधिको कार्य परिषद सदस्य र कम्पनीको युनियन प्रतिनिधिभित्र पत्रकारहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

आफ्नो संगठन (इले डे फ्रान्स) भित्र, उनी क्षेत्रीय र केन्द्रिय तहमा महासचिव तथा कानुनी र अन्तर्राष्ट्रिय मुद्दाहरूको पैरवीको भूमिकामा रहिन् भने, २०२१ मा फ्रान्सको राष्ट्रिय पत्रकार संघ (SNJ) को प्रवक्ताको रूपमा निर्वाचित भएर अनुभव सँगालिन् ।

उनी हाल फ्रान्सको राष्ट्रिय पत्रकार संघभित्र सभासद रहेकी छन् भने आइएफजेमा एञ्जर्समा (सन् २०१६)भएको महासभादेखि लगातार कार्यकारी समितिको सदस्य हुँदै आएकी थिइन् ।

त्यस्तै, उनी २०२१ सम्म व्यावसायिक पत्रकारहरूको परिचय पत्र (CCIJP) को उच्च आयोगको सदस्य समेत रहेकी थिइन् । अहिले पनि पत्रकारिता आचारसंहिता र मध्यस्थता परिषद् (CDJM) को सहकोषाध्यक्ष र पेरिसमा Maison des lanceurs d’alerte को प्रशासक भएर काम गरिरहेकी छन् ।

सन् १९२६ मा पेरिसमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको गठन भएदेखि हालसम्म यो महासंघले दुई पटक मात्र महिला अध्यक्ष पाएको छ, त्यसमा पहिलो महिला अध्यक्ष बेल्जियम पत्रकार मिया डोरनार्ट (१९८६-१९९०) रहेकी छन् भने डोमिनिक प्राडाली दोस्रो महिला अध्यक्ष हुन् ।

अब उनको कार्यकाल सन् २०२६ सम्म चल्ने छ र उनैको कार्यकालमा यो महासंघले आफ्नो सय बर्षको शताब्दी उत्सव मनाउने छ ।