कर्णालीबाटै पहिलो राजदूत बने माओवादीले घर जलाइदिएका ढकाल

कर्णालीबाटै पहिलो राजदूत बने माओवादीले घर जलाइदिएका ढकाल


कतारका लागि प्रस्तावित नेपाली राजदूत डा. नरेशविक्रम ढकालले कतारमा नेपाल र नेपालीप्रतिको दृष्टि बदल्न आफ्नो क्षमताले भ्याएसम्म प्रयत्न गर्ने बताएका छन् । कर्णालीका दश जिल्लाभित्र जन्मिएर राजदूत बन्न अवसर पाउने पहिलो नेपाली ढकालले विश्वको सर्वाधिक धनी र समृद्ध मुलुक कतारमा नेपालीलाई ‘श्रमिक’ र नेपाललाई ‘श्रमिक निर्यातक’ मुलुकको रूपमा मात्र चिन्ने गरिएको छ भने अब नेपालको पहिचान त्यतिमै सीमित हुन नहुने बताएका छन् । उनको भनाइ छ- ‘अहिले कतारमा करिब चार लाख नेपाली श्रमिकका रूपमा काम गरिरहेका छन् । ती नेपालीको हितमा काम गर्नु मेरो कर्तव्य हुँदै हो, नेपालको आर्थिक तथा भौतिक विकासमा कतारको सहभागिताका निम्ति पनि मेरो भरमग्दुर प्रयास हुनेछ । नेपाल र नेपालीको प्रतिष्ठा वृद्धिका निम्ति म सधैं सचेत र क्रियाशील रहने छु ।’

वि.सं. २०२२ भाद्र १५ गते गुरुवाकोट नगरपालिका सुर्खेतमा जन्मिएका नरेशविक्रम ढकालको प्रारम्भिक शिक्षा जनज्ञान भण्डार मावि कोटखोला, मालारानीमा भएको थियो । एउटा असल शिक्षक बन्ने पवित्र उद्देश्यका साथ सक्रिय ढकालले औपचारिक जिम्मेवारी नलिइकन राजनीतिक कर्ममा पनि सहभागिता जनाउँदै आएका थिए । दशवर्षे हिंसात्मक युद्धकालमा माओवादीहरूले ढकालको बासस्थानमा आगजनी गराउनुका साथै सम्पत्ति समेत लुटेका थिए । त्यसरी घरमा आगो लगाएर खरानी बनाइदिएपछि ढकाल आफ्नो गाउँबाट विस्थापित भएर पाँच वर्षसम्म वीरेन्द्रनगरमा बस्न बाध्य भएका थिए । अत्यन्त प्राज्ञिक र राष्ट्रप्रेमी ढकाल राजदूत नियुक्त भएपछि कर्णालीवासीले प्रशन्नता प्रकट गरेका छन् । डा. ढकालसँग घटना र विचारले गरेको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० कुनै पनि मुलुकले मानिसलाई राजदूत बनाउने किन होला ?
  • स्पष्ट छ, दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र परस्पर हित तथा लगानी प्रवर्द्धन गराउने मूख्य भूमिका निर्वाह गरोस् भनेर नै देशहरूले मानिसलाई राजदूतको जिम्मेवारी दिएजस्तो लाग्छ मलाई ।
० तपाईंको विचारमा एउटा राजदूतको मूख्य कर्तव्य र दायित्व के हो ?
  • समग्रमा आफ्नो देशको हित गर्नु नै कर्तव्य र दायित्व पनि हो ।
० नेपालको परराष्ट्र नीतिको आधार केलाई बनाउँदा उपयुक्त होला ?
  • नेपालको संविधानले निर्दिष्ट गरेका कुराहरू परराष्ट्र नीतिका निम्ति मूख्य आधार हुन सक्छन् । पञ्चशीलको सिद्धान्त, असंलग्नता र विभिन्न समयमा भएका सन्धि-सम्झौतालाई आधार मानेर हामीले धारणा बनाउने गर्नुपर्दछ ।
० नेपालको इतिहासमा परराष्ट्र मामिलामा सबैभन्दा सफल कसलाई ठान्नुहुन्छ ?
  • मेरो विचारमा पहिलो बीपी कोइराला र त्यसपछि महेन्द्रलाई मान्न सकिन्छ । सगरमाथा नेपालको स्वामित्वमा ल्याउने कार्य सहज र सरल थिएन ।
० राजा महेन्द्र र जङ्गबहादुर राणाको कुटनीतिक क्षमताबारे तपाईंको बुझाइ के छ ?
  • जङ्गबहादुर देशको साथै आफू पनि बलियो हुन चाहन्थे, महेन्द्रमा चाहिँ देशको मात्र चिन्ता भएजस्तो लाग्छ ।
० आफ्नो कार्यकाल सफल बनाउने तपाईंका योजना र कार्यक्रम के-कस्ता छन् ?
  • दुवै मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूको एकअर्को मुलुकमा भ्रमण गराउने कार्यलाई मैले प्राथमिकतामा राखेको छु । कतार एक समृद्ध र धनी मुलुक भएकोले नेपालको आर्थिक तथा भौतिक विकासमा कतारको योगदान जुटाउनु मेरो लक्ष्य हुनेछ । नेपालको व्यापार घाटा न्यून गराउनेतर्फ पनि मैले ध्यान दिनुपर्ने छ । अदक्ष र दक्ष कामदार मात्र नभइ प्राज्ञिक नेपालीहरूलाई समेत कतारमा अवसर जुटाउन मेरो प्रयास हुनेछ । नेपालमा मजदूर मात्र नभइ प्राज्ञिक तथा विषयविज्ञ मानिसहरू पनि पर्याप्त रहेको सन्देश दिनका निम्ति मैले यस प्रकारको सोच बनाएको हुँ । नेपालको पर्यटनका निम्ति कतारीहरूलाई आकर्षित गर्ने प्रयास मेरो अर्को प्रमुख दायित्व हुनेछ ।
० परराष्ट्रका कर्मचारीबाट तपाईंको काममा सहयोग कसरी पुग्ला भन्ने ठान्नुभएको छ ?
  • राजदूतका रूपमा मैले गर्ने काम केवल देशका निम्ति हुनेछ र, कर्मचारी साथीहरू पनि देशहितकै निम्ति क्रियाशील र समर्पित भएको पाउँछु । म टीम व्यवस्थामा विश्वास गर्छु । हाम्रो साझा प्रयासबाट मात्रै राष्ट्रको पक्षमा उपलब्धि हाशील हुन सक्ने भएकोले कर्मचारी प्रशासनबाट पूर्ण सहयोग रहने विश्वास मैले गरेको छु ।