स्वरोजगार कोषद्वारा एकैदिन १२० सहकारीलाई ५० करोड ऋण स्वीकृत

स्वरोजगार कोषद्वारा एकैदिन १२० सहकारीलाई ५० करोड ऋण स्वीकृत


युवा स्वरोजगारकोषले सोमबार एकदिनमै करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारी संस्थाका फाइलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करिब ५० करोड सम्बन्धित सहकारी संस्थाका खातामा निकासा हुनलागेको हो ।

कोषले सहकारी संस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लो समय ऋण स्वीकृतिमा सुस्तता आएको थियो । सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारी संस्थाका फाइललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाइल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्य प्राप्त गर्नलाई युद्धस्तरबाट काम अघिबढाइरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैंक तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैंक तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्राकर्जा प्राप्त गर्दछन् ।