साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने


सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिने बताएका हुन् ।

निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शर्माले बताए ।

हाल खाइपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित

सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत उक्त कुरा बताएका हुन् ।

पूर्वपश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ छ ।

विराटनगर-धरान, पथलैया-वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको मन्त्री शर्माले बताए ।

जयनगर-जनकपुर-कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने उनको भनाइ छ । विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको उनको भनाइ छ ।

विर्तामोड-जलेश्वर-जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ ।

सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् ।

अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ ।

सरकारले जनकपुर चुरोट कारखानालगायत अन्य उद्योग पनि पुनः सञ्चालन गर्ने घोषणा गरेको छ ।