ऋण लिएर लगानी गर्नेहरू किन परे तनावमा ?

ऋण लिएर लगानी गर्नेहरू किन परे तनावमा ?


  • उमेश थापा, काठमाडौं

पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षण अहिले मर्नु न बाँच्नुको दोसाँधमा परेको छ । एकदिन सेयरको मूल्य बढ्छ, लगानीकर्ता खुशी हुन्छन्, फेरि अर्कोदिन मुल्य घट्छ- निरास हुन्छन् । सेयरमा लगानी गर्नु भनेको जुवा खेलेबराबर हो भन्ने त सबैले सुने-जानेकै कुरा हो । जुवामा त कहिलेकाहीँ जितिन्छ तर नेपालको सेयरबजार यतिबेला हार्ने खेल जस्तो मात्र भइदिएको छ । सेयरमा लगानी गर्नेहरू केही महिनायता डिप्रेशनमा जाने अवस्थामा पुगिसकेका छन् ।

सेयरमा लगानी गर्ने लगानीकर्ताले लिएको बैंङ्क तथा फाइनान्सको ऋण तिर्न सकिरहेका छैनन् । धेरै लगानी गर्ने व्यक्तिहरू ऋण तिर्न नसकेर भागिसकेका छन् । बैंक/फाइनान्सहरू पनि ऋण उठाउन नसकेर धराशायी हुने अवस्थामा पुगेका छन् । सेयरको विषयमा ज्ञान नभइ अरुको लहैलहैमा लागेर लगानी गर्दा आज उनीहरूलाई मर्नु न मोटाउनु भएको छ ।

अर्थ मन्त्रालय भने यत्रो दूरावस्था आइसक्दा पनि कानमा तेल हालेर बसेको छ । सेयर लगानीकर्ताप्रति कुनै चासो दिएको छैन । सेयरमा लगानी गर्ने सर्वसाधारणहरू सेयर बिक्री नभएर ठूलो तनावमा छन् । सरकारले लगानीको नयाँ र सही दिशा देखाउन सकेन भने उनीहरू पक्कै डुब्छन् । अहिले सेयरको मुल्य मात्र घटेको नभइ घर-जग्गाको मुल्य पनि स्वाट्टै घटेर घोर मन्दी छाएको छ ।

घरजग्गा धितो राखेर लगानी गर्ने, बैंङ्क तथा फाइनान्सबाट ऋण लिने व्यक्तिहरूले ऋण तिर्न सकेका छैनन्, न त बैङ्क/फाइनान्सले दिएको कर्जा नै उठाउन सकेको छ । घरजग्गामा ठुलो लगानी गरेका फाइनान्स कम्पनीहरू डुबिसकेका छन् ।

एक कित्ता सेयरको मुल्य ३३०० रुपैयाँ पुग्दा पनि दायाँबायाँ नसोचिकन लगानीकर्ताले खरिद गरे । त्यो सेयरको मुल्य घटेर १७०० मा आयो । घटेकै मूल्यमा बेच्छु भन्दा पनि किन्ने मान्छे छैन । सेयरमा लगानी गर्नेहरूको घरमा रुवाबासी चलेको छ । सेयरकोे मुल्यको घटेर मन्दी आउनेबित्तिकै देशको अर्थतन्त्र बिग्रिएको छ भनेर सर्वसाधारणले बुझ्छन् ।

अहिले सेयरको मुल्य घट्नुको कारण व्यक्तिहरूले पैसा लुकाएको कारण पनि हो भनिन्छ । विशेष गरेर हजार र पाँच सयको नोट एक वर्गले पूरै डम्पिङ गरेका छन् । जनताले बैंङ्क/फाइनान्सलाई विश्वास गरेनन् । अहिले कति सहकारीहरू भागिसकेका छन् भने कतिचाहिँ भाग्ने अवस्थामा छन् । सहकारीहरूमा पैसा जम्मा गर्ने बचतकर्ता शून्यजस्तै भइसकेको छ ।

कर्मचारीलाई तलब खुवाउन सकस परेको छ । सहकारी भाग्ने र डुब्ने डरले जनताले पैसा राख्न छोडिसके । यता प्राइभेट बैंङ्कमा पनि जनताले पैसा डिपोजिट राख्न छोडिसके । नेपाल राष्ट्र बैंङ्क र सहकारी विभाग कानमा तेल हालेर बसिरहेका छन् । भनेको समयमा पैसा निकाल्न नपाएर जनता तनावमा छन् ।

सहकारीको कार्यालयमा जाँदा चेयरम्यान वा अध्यक्ष भेटिन छोडिसकेका छन् । एउटै घरमा पाँच वटासम्म सहकारीको कार्यालय देखिन्छ । सहकारीहरू च्याउ उम्रेझैँ उम्रिएका छन् । महँगो ब्याज दिन्छु भनेर जनतासँग डिपोजिट लिएर सेयर, घरजग्गा र निजी प्लेटको सवारीसाधनमा लगानी गर्दा अहिले सहकारीहरू डुब्ने अवस्थामा पुगेका छन् ।

अहिले निजी प्लेटको सवारीसाधनमा ह्वात्तै घटेको छ भने घरजग्गाको पनि मूल्य घटेर किनबेच नै बन्द छ । घरजग्गा बेच्ने मान्छेको लाइन छ तर किन्ने कोही छैन । एक वर्षअगाडि आनाको ६० लाखमा किनेको घडेरीलाई २० लाखमा बेच्छु भन्दा पनि कसैले किन्दैन । ऋण लिएर घरजग्गा किन किनेछौँ भन्दै टाउकोमा हात राखेर बसिरहेका छन् ।

यता, जग्गा प्लटिङ गर्ने व्यक्तिहरू पनि लाखापाखा लागिसके, भागिसके । बैंङ्क/फाइनान्सहरू जसले घरजग्गा सेयर निजी नम्बर प्लेटमा लगानी गरेको छ त्योबाट पैसा उठ्न असम्भव भइसकेको छ । वित्तिय संस्थाका सिइओ र सहकारीका अध्यक्षलाई रातभर निद्रा लाग्दैन । बैंङ्क/फाइनान्स डुब्दा धेरै व्यक्तिका डिपोजिट डुब्ने अवस्थामा छ ।

जनताहरूले बुझदैनबुझी सहकारीमा पैसा राख्दा पछुताउने मात्र विकल्प छ । अहिले नयाँ गाडी किन्नका लागि अटो शोरुम जाँदैनन् । पुरानो वा सेकेन्ड ह्यान्ड बिक्री गर्ने ठाउँमा पनि किन्ने मान्छे छैनन् । बैंक/फाइनान्सहरूले बढी लगानी गरेको क्षेत्र हो यो । यो व्यापार वा व्यवसायी नै घराशायी भएपछि बैंङ्क/फाइनान्सलाई पनि सिधै असर परेको छ ।

अहिले निजी बैंङ्कहरूले १४ प्रतिशत ब्याज दिन्छु भन्दै डिपोजिट माग्दै छन्, सहकारीहरू १९ प्रतिशत ब्याज दिन्छु भन्दै डिपोजिट राख्नेको खोजी गर्दै छन् । यति धेरै ब्याज दिन्छु भन्दा पनि डिपोजिट राख्न छोडिसके । बैंङ्क/फाइनान्सलाई सर्वसाधारणले विश्वास गर्दैनन् । फाइनान्स ठग हो भन्ने कुरा जनताको मनमा परेको छ ।

डिपोजिटमा पैसा राख्ने मान्छेलाई थोरै ब्याज दिने अनि घरजग्गा राखेर कर्जा लिनेहरूलाई १६ देखि २१ प्रतशितसम्म लिने । सेवाशुल्क वापत सहकारीले ३ प्रतिशत र बैंङ्कले एक प्रतिशत रकम लिन्छन् । बैंङ्क र फाइनान्सले जनतालाई ऋण दिँदा कमिशन खाएर दिने गरेका कुरा त सामान्य भइसके ।

वास्तवमा सहकारीबाट लिएको कर्जाको ब्याज हिसाब गर्ने हो भने ४२ प्रतिशतसम्म पर्छ । बैंङ्क फाइनान्सबाट लिएको ऋणले धेरै मान्छेहरूको उठिबास लागिसकेको छ । धेरै मान्छेको धितो लिलाम गरेर खाएका छन् बैंक तथा वित्तिय संस्थाहरूले । ५० लाखको पुँजी वा धितो छ भने १५ लाख कर्जा दिन्छ, तीन किस्ता तिर्न नसक्नेबित्तिकै पत्रपत्रिकामा सूचना निकाल्छन् । ६ किस्ता तिर्न नसक्दा लिलाम गरिदिन्छन् । जनताको डिपोजिटको ब्याज महिना नमरी दिँदैनन्, महिना मर्नुभन्दा अगाडि पैसा निकाल्यो भने ब्याज पाउँदैन । कर्जा लिएको मान्छेसँग कर्जा चुक्ता गर्ने दिनको समेत ब्याज लिन्छ ।

बैंङ्क/फाइनान्सले ऋण तिर्न नसकेको व्यक्तिहरूको तीनपुस्ताको खुलासा गरी पत्रिकामा सूचना निकाल्छ र पत्रिकाको खर्च पनि ऋणीबाटै असुल गर्छ । कति बैंङ्क/फाइनान्समा खाता खोलेर पैसा राख्ने मान्छेको मुत्य हुँदा त्यस बैंङ्क वा फाइनान्सका कर्मचारीले जानकारी नगराइ पैसा खाइदिन्छन् भन्ने पनि सुनिन्छ । बैङ्क वा फाइनान्सका कर्मचारीहरूले जनताको खातामा भएको पैसा आफ्नो पारेका घटना पनि छन् । वास्तवमा अब जनताले डिपोजिट राख्ने दिन गइसक्यो भन्दा पनि फरक नपर्ने भयो ।

देशको अर्थतन्त्र प्रत्येक दिन धराशायी हुँदैछ, ब्यापारघाटा प्रत्येक दिन बढेको छ, महँगी ह्वात्तै बढेको छ भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो हुन्छ भनेर जनताको मनमा परेको छ । अब राजनीतिक दलहरूले जनता र राष्ट्र वा अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउको लागि बेलैमा सही निर्णय नगर्ने हो भने नेपाल पनि छिट्टै श्रीलङ्काको हालतमा पुग्दैन भनी आशा राख्न नसकिने भएको छ ।