कृषि-अधिकृतलाई ३५ किलोको मालासहित नागरिक अभिनन्दन

कृषि-अधिकृतलाई ३५ किलोको मालासहित नागरिक अभिनन्दन


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा गत ०७६ देखि कार्यरत वरिष्ठ कृषिअधिकृत तथा कार्यालय प्रमुख खेमराज जोशीलाई जिल्लामा कृषि क्षेत्रमा विशिष्ट योगदान दिएको र आलुखेतीलाई परिस्कृत गर्न प्राथमिकताका साथ काम गरेवापत सम्मानस्वरुप सदरमुकामको बसपार्कदेखि कृषि ज्ञान केन्द्रसम्म बाजागाजाका साथ ३५ किलोको माला पहिराएर नगर परिक्रमासाथ अभिनन्दन गरिएको हो ।

नेपाल सरकारका कर्मचारीलाई जिल्लामा पहिलो पटक किसान, क्रियाशील कृषक समूहहरू, कृषि तथा उद्यमी संस्थाहरू, कृषि सरोकारवालालगायत नागरिक समाज डडेल्धुराले समेत उनको योगदानको कदर गरेका छन् ।

आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर काम गर्ने, सिर्जनशलि भएर काम गर्ने, सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गर्दै मन-मनमा बस्न सफल जोशी सरले किसानलाई मात्र बाटो देखाएका नभइ कृषक उद्यमीलाई पनि प्रोत्साहित गरेका गन्यापधुरा गाउँपालिका वडा नं. १ का अगुवा कृषक पदम महताले बताए ।

अगुवा कृषक तथा उद्यमी प्रसाद अवस्थी भन्छन्– ‘हामीजस्ता युवा कृषकलाई चिनाउने काम जोशी सरले नै गर्नुभएको हो, उहाँले दुर्गम/सुगम केही भन्नुभएन, समय अनुकुल/प्रतिकुलको पनि वेवास्ता गर्दै किसानको बारीमा पुग्नुभएको छ, किसानलाई आइपरेका हरेक समस्या समाधानका लागि कार्यालयको श्रोत-साधनलाई मात्र सदुपयोग गर्नुभएन आफू पनि त्यत्तिकै खटिनुभएको योगदानको हामी मूल्य त चुकाउन सक्दैनौँ तर पनि कृषि पेशामा रहेसम्म सम्झिरहने छौँ ।’

यस्तै, कृषक परमानन्द भट्टले भने- ‘आज एक कर्मठ सरकारी कर्मचारीलाई यसरी अभिनन्दन गर्न पाउँदा जिल्लाका सबै किसानहरू खुशी र उत्साहित भएका छौँ । उहाँले जिल्लाको पहिचान गराउनुभएको छ, आधारभूत रुपमा आलुखेती गरिने डडेल्धुरालाई व्यवसायिक र प्रगतितिर डोर्याउने कामका लागि जिल्लाबासीले सम्मान गरेकामा हर्षित पनि भएका छौँ ।’

परियोजनाले किसानहरुलाई आलुखेतीमा आवश्यक भौतिक पूर्वाधारदेखि किसानहरुका स-साना समस्यासम्म सम्बोधन गरेको छ । दैवीप्रकोप र किटनाशक रोगले ग्रस्त वालीलाई पुर्नजीवित गर्न र किसानहरुलाई हतोत्साहि बन्नबाट समेत उकासेको कृषि प्राबिधिक तथा अगुवा कृषक तीर्थ साउँदले बताए । कृषि उर्बरभुमि डडेल्धुराका किसानहरूलाई व्यवसायिक कृषि परामर्शसहित आलु खेतीको क्षेत्रफल बढाएर कृषकको आम्दानी बढाउन र जिल्लालाई आलुमय बनाउन जोशीको सक्रियताको उच्च मूल्यांकन गरिएको आलु सुपर जोन संचालक तथा समन्वय समितिका अध्यक्ष पदम बहादुर ऐरले जानकारी दिए ।

जोशीले तीन वर्ष ९ महिनाको कार्यकालमा करिब १२१ हेक्टर आलुखेतीलाई ६५० हेक्टर पुगाएका छन् भने किसानहरुलाई बीउ तथा खायन आलु बीउ उपलब्धतामा सहजिकरण, शितभण्डार तथा बजारीकरण व्यवस्थापन, प्रविधि तथा यान्त्रिक अनुदान र सहयोगलगायत कार्यसम्पादनमा पारदर्शी रहनुका साथै आलुखेतीमा समन्वय सहकार्य तथा अनुगमन कार्यक्रम प्रभावकारी रहेको जिल्लाबासी कृषकको भनाइ रहेको छ ।