पोर्चुगलमा नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगलमा नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह


वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् ।

गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवाललाई उद्धृत गर्दै राससले जनाएको छ ।

सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले जनाएका छन् । बेपत्ता भएका सिलवालको झोला, राहदानीलगायतका कागजपत्र होस्टेलमै रहेको बताइएको छ ।

सम्पर्कबिहीन भइ बेपत्ता भएका सिलवालको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ । सिलवाल बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रशासनलाई खबर गरिएको र उनको खोजीकार्यका लागि पहल गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिएका छन् ।