भाग्यको भुमरीले जेलको बास, भविष्य सप्रिने अझै आश !

भाग्यको भुमरीले जेलको बास, भविष्य सप्रिने अझै आश !


स्थानीय तहको निर्वाचनका कारण ओझेल परे पनि मोडल तथा सिने-अभिनेता पल शाहको प्रकरण उनका फ्यानहरूको लागि भुल्न सकिने सन्दर्भ होइन । अझै पनि सामाजिक सञ्जालदेखि अन्य प्लेटफर्ममा मौका प¥यो कि पलका प्रशंसकहरू होहल्ला मच्चाइहाल्छन् । अर्थात्, पलप्रति चासो र चिन्ता कायम नै छ ।

वास्तवमा पल को हुन् त ? दाङका स्थानीय बासिन्दा पल शाहको वास्तविक नाम पूर्णविक्रम शाह भन्ने त धेरैले जानकारी पाएका छन् । फिल्म क्षेत्रमा आएपछि पूर्णविक्रमबाट उनी पल बनेका हुन् । १६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए । उनको बुबाको चाहना छोरा सेकेण्ड लेफ्टिनेन्ट बनेर देशको सेवा गरोस् । तर उनले बुबाको इच्छाको पालना गरेनन् त्यसैले बुबाको मनमा छोराप्रति अलिकति गुनासो थियो ।

फिल्म एडिटर बन्ने चाहना पूरा गर्न उनी त्यतै मोडिए । जसका कारण उनको बुवासँग केही महिना बोलचालसमेत पनि बन्द भयो । उनीसँग कुनै समय डेराभाडा तिर्ने पैसा पनि नहुँदा घरभेटीले निकालिदिएका थिए ।

काठमाडौंको अनामनगर, पुरानोबानेश्वर, पुतलीसडक, बागबजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बाँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिँड्छन् । उनी आफ्नो घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।

त्यतिबेला उनका छिमेकी एकजना टिभी भिडियो सम्पादक थिए । फिल्म र कथा सकिएपछि सम्पादकको नाम आउँदा उनले आफू पनि त्यस्तै बन्ने इच्छा राखे । एसएलसी पास गरेपछि उनले काठमाडौंमा पढ्न आउने सपना पूरा गर्न पनि बुबासँग निकै संघर्ष गर्नुपरेको थियो ।

काठमाडौ आएर पनि उनी फिल्म सम्पादकको घरमा आएर बसे । एक वर्ष लुकिलुकि सम्पादनको काम पनि सिके । त्यसपछि म्युजिक भिडियोमा सम्पादन गर्ने काम पनि गरे । तर विडम्बना ! उनले काम गरेको म्युजिक भिडियो बनाउने कम्पनी पनि भाग्यो ।
त्यसपछि उनले नेपाल टेलिभिजनमा सम्पादनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब नहुने त्यही बेलामा एउटा निजी टेलिभिजन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाएपछि नेपाल टेलिभिजन छोडेर तराई टेलिभिजनमा पुगेका थिए ।

तर ११ महिनासम्म उनले काम गरेको तलब पनि पाएनन् । तर उनले अरु काम गरेर कोठा भाडा पनि तिरे । उनले साथीको जन्मदिनमा पनि जान नपाएको बताए । उनले फ्ल्याट निकाल्दा उनले आमालाई बहाना बनाएर सानो कोठामा बस्न आग्रह गरेका थिए । त्यतिबेला उनले किनेर नास्ता पनि खान सक्थेनन् ।

त्यति नै बेला म्युजिक भिडियोमा काम गर्ने अफर आएपछि उनको जीवनमा मोड आयो । म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो । उनले आफूले त्यो गल्ती फेरि गरेनन्, र आज सफलताको सिँढी चढ्न सके । भाग्यको भुमरीले यतिबेला जेलको बास गराए पनि उनको भविष्य नै बिग्रियो भन्न मिल्दैन । भविष्यमा फेरि उनले आफ्नो भाग्य चम्काएर देखाउन सक्छन् ।