अरुण जलविद्युत-४ आयोजना निर्माणको एमओयूमा हस्ताक्षर

अरुण जलविद्युत-४ आयोजना निर्माणको एमओयूमा हस्ताक्षर


संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्धसञ्चालक नन्दलाल शर्माले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

चैत २०७८ मा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र बमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरुण-४ को निर्माण अगाडि बढाउन लागिएको हो ।

आयोजनाको अनुमानित लागत ७९ अर्ब १२ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक औसत दुई अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने बताइएको छ ।