व्यास–८ का दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

व्यास–८ का दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने



तनहुँको व्यास नगरपालिका-८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।