पाँचखाल कोशिदेखा घटनाबारे बोले वडाअध्यक्षका एमाले उम्मेदवार प्रकाश ब्लोन

पाँचखाल कोशिदेखा घटनाबारे बोले वडाअध्यक्षका एमाले उम्मेदवार प्रकाश ब्लोन


भन्छन्- ‘जबर्जस्ती उत्तेजना फैलाउने काम गरियो’

पाँचखाल नगरपालिका-१३ का नेकपा (एमाले)बाट वडाअध्यक्षका उम्मेदवार प्रकाश ब्लोन तामाङले शान्तिपूर्ण ढङ्गले भइरहेको मतदान पक्रियालाई काङ्ग्रेसका कार्यकर्ताले सुनियोजित तवरबाट खल्बल्याएको आरोप लगाएका छन् । जिम्मेवार राजनीतिक दलका जिम्मेवार ब्यक्तिले उत्तेजना फैलाएर स्थिति अशान्तितर्फ लगी निर्वाचन स्थगित गराएको उनको भनाइ छ ।

शुक्रबार पाँचखाल-१३ कोशिदेखामा मतदान बिथोलिएर निर्वाचन स्थगित भएपछि एक विज्ञप्ति जारी गर्दै उम्मेदवार ब्लोनले भनेका छन्- निर्वाचन अधिकृतको हातबाट नेपाली काङ्ग्रेसका बुथ एजेण्टले मतपत्र थुतेर उल्टै नेकपा (एमाले)ले निर्वाचन प्रभावित गऱ्यो भन्ने आरोप लगाए । केही असमजदारी भएको भए सुरक्षा निकाय वा सर्वदलीय बैठक बसेर हल गर्न सकिन्थ्यो, तर उत्तेजना फैलाएर निर्वाचन बिथोल्ने काम गरियो ।’

यस्तो छ एमालेका उम्मेदवार ब्लोनको विज्ञप्ति-

‘बहुदलीय ब्यबस्थाको स्थापनापछि २०४८ सालमा पहिलो पटक आमचुनाव भएको थियो । त्यसपछि २०४९ सालमा स्थानीय चुनाब अनि २०५१ सालमा मध्यावधि चुनावका साथै २०५४ सालमा स्थानीय चुनाव, २०५७ सालमा प्रतिनिधिसभाको चुनाव, २०६४ सालमा संविधानसभाको चुनाव प्रत्यक्ष देख्ने र भाग लिने अवसर पाएँ । २०७० सलमा पुनः संविधानसभाको र २०७४ सालको स्थानीय निकायका साथै सङ्घ र प्रदेशसभाको चुनावमा विदेशमा भएकोले भाग लिन पाइनँ, तथापि निर्वाचन शान्तिपूर्ण रूपमा नै सम्पन्न भयो । नजिकैको खरेलथोकको बुथमा बुथ क्याप्चर हुँदा पनि कोशिदेखा शान्त हुन्थ्यो, यही नै हाम्रो चिनारी थियो । आज देशैभर भैरहेको स्थानीय तहको चुनावमा पाँचखाल नगरपालिका वडा नं. १३ मा नेकपा (एमाले) को तर्फबाट म वडाअध्यक्ष को उम्मेदवार छु । बिहान ११ः०० बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भैरहेको निर्वाचन भइरहेको थियो । यही क्रममा सहायक निर्वाचन अधिकृतको हातबाट नेपाली काङ्ग्रेसका बुथ एजेण्डले मतपत्र थुतेर उल्टो नेकपा (एमाले) ले निर्वाचन प्रभावित गऱ्यो भन्ने आरोप लगाउने काम भयो । केही असमझदारी भएको भए सुरक्षा निकाय वा सर्वदलिय बैठक बसेर ती असमजदारी हल गर्न सकिन्थ्यो । तर, जिम्मेवार राजनीतिक दलका जिम्मेवार ब्यक्तिले उत्तेजना फैलाइ स्थिति अशान्तितर्फ लगी भड्काउने काम भएको र त्यस क्रममा भीड नियन्त्रणबाहिर गइ सार्वजनिक सम्पत्तिको समेत तोडफोड र नोक्सानी हुन गएको छ । म नेकपा (एमाले)को तर्फबाट यस्ता भड्कावपूर्ण घटनाको घोर भत्सर्ना गर्न चाहन्छु । यो घटना आफ्नो वालमा लेख्दै गर्दा लज्जाबोध भएको छ । आम कोशिदेखाबासीको शिर यो घटनाले झुकाएको छ । एउटा पार्टीको जिम्मेवार ब्यक्ति र वडाअध्यक्षकाउम्मेदवारको नाताले आवश्यक समन्वयमा कमी भएकोमा म ब्यक्तिगत रूपमा माफी चाहन्छु । कोशिदेखाका आमाबुबाको भावनामा चोट पुगेको छ । यसबाट कोही पनि बिचलित र हतास नहुन आग्रह गर्दै निर्वाचनको नयाँ तालिका अनुसार सार्वजनिक भएपछि पुनः मतदान प्रक्रियामा सहभागिताको लागि विनम्र अनुरोध गर्दै त्यतिन्जेल धैर्य गर्न सबैमा आग्रह गर्दछु ।’

प्रकाश ब्लोन तामाङ
वडाध्यक्ष उम्मेदवार, नेकपा (एमाले)
पाँचखाल नगरपालिका, वडा नं.१३