पुरुषमाथि हुने हिंसा अपवाद मात्रै हो त ?

पुरुषमाथि हुने हिंसा अपवाद मात्रै हो त ?


महिलामाथि हिंसा किन हुन्छ भनेर कोहीले प्रश्न गऱ्यो भने हामी सजिलै भन्छौँ- पितृसत्तात्मक सोचले हिंसा हुन्छ । ठिक त्यसैको उल्टो पितृसत्तात्मक सोचले व्याप्त एक महिलाको कारण हिंसाको शिकार बन्न जान्छ एउटा पुरुष । पुरुष कहिले पनि पीडित हुँदैनन् भन्नेहरूको जमात पनि यहाँ छ ।
  • रसना ढकाल

झट्ट हेर्दा ‘आहा क्या मिलेको जोडी, कस्तो राम्रो भाग्य तिम्रो, तिमीहरू एकअर्काको लागि बनेका रहेछौ, कसैको आँखा नलागोस् तिमीहरूको जोडीमा…!’ सबैले बाहिरबाट यस्तै देख्छन् र बोल्ने शब्द पनि यस्तै नै हो । सम्बन्धभित्रको सम्बन्ध कस्तो छ भन्नलाई कि त भोगिरहेका व्यक्तिलाई थाहा हुन्छ होइन भने पारिवारिक अवस्था नियाल्नु आवश्यक हुन्छ । तर, यस्तो अवस्था धेरै कमले उपयोग गर्छन् भने कतिले अर्काको व्यक्तिगत कुरा.. चासो लिनु हुँदैन भनेर टार्ने गर्छन्, जुन हो पनि ।

एउटा बिहेको पार्टी चलिरहेको थियो । उनको साथी नजिक आएर भनिन्- ‘ओए सुन न, तेरो भाग्य त कस्तो राम्रो, श्रीमान् पनि लायकको क्या दामी, तिमीहरू त भाग्यका धनी रहेछौ । सारै राम्रो जोडी तिमीहरूको । हामीलाई त डाह भयो है !’ यो सुनेर वरपरका सबै गलल हाँसे । साथीको शब्द सुन्नासाथ उनका पतिको भने चेहरा अँध्यारो भयो । किनकि, साथीहरूलाई थाहा थिएन ती पति-पत्नी बीचको सम्बन्धको वास्तविकता कस्तो छ भनेर । त्यो जोडी गाडीमा सँगै हिँडथे, घरभित्र पनि सँगै बस्दथे, बाहिर सबैको अघि राम्रो सम्बन्ध झैँ देखाउथे तर तिनीहरूको सम्बन्ध भुसभित्र लागेको आगोझैँ भित्रभित्र दन्किरहेको थियो, उनीहरू बीचको सम्बन्ध केवल समाजलाई देखाउनको लागि मात्रै चलिरहेको थियो । बिहे पार्टीमा सबै आ–आफ्नो जोडी लिएर नाच्न थाले तर त्यो जोडी नाचेन । हामीलाई नाच्न आउँदैन भनेर टारे । उनीहरू एकअर्कासँग खास बोलेका पनि थिएनन् । खाने कुरामा पनि मन लागेको थिएन उनीहरूको । भिडमा अलि फरक किसिमको व्यवहार देखिन्थ्यो । सबैले तारिफमाथि तारिफ गर्दै थिए तर त्यो जोडीले तारिफ सुन्नबाहेक केही एक्सन देखाउन सकेका थिएनन् । उनीहरूबीचको सम्बन्धको करिब करिब अन्तिम अवस्था आइसकेको रहेछ । किनकि सोही दिन पतिले जिल्ला अदालतमा पत्नीविरुद्ध फिरादपत्र दर्ता गरेर आएका रहेछन् । त्यसपछि पति-पत्नी बीचको सम्बन्धमा चिसोपन आयो । तर बच्चाहरूको भविष्यलाई लिएर चिन्तित त्यो परिवारले बच्चाहरूको निर्णय गर्न सकेको थिएन । पत्नीको अनावश्यक शंका, कार्यालयका महिला कर्मचारीसँग कुरा गर्न पनि नहुने, सहकर्मीलाई घरमा छोड्न जाँदा पनि पत्नीले गरेको निगरानीलगायत साथीभाइहरूको अघिल्तिर पत्नीले गर्ने व्यवहारबाट उनी आजित भइसकेका रहेछन् । घरभित्र जान नरुचाउने तर कार्यालय बिहान ४ बजे भए पनि जान रुचाउने त्यस्तो स्वभाव उनको भइसकेको रहेछ । सम्बन्धमा दुई सन्तान भए तर सन्तानमाथि हाम्रो सम्बन्धको छाप कस्तो पर्ने भन्नेमा चिन्तित बनाइरहन्थ्यो उनलाई ।

उनकी पत्नी सम्बन्धविच्छेद नगर्ने बरु पतिसँग झगडा गरेर भए पनि बस्छु तर नछुट्टिने भन्ने अडान लिएकी थिइन् । यसको लागि उनले आफ्नो माइतीपक्षलाई पनि जानकारी गराएकी थिइन् । माइतीकी आमा-बुबाले पनि ‘छोरी.. यस्तो गर्न हुन्न, ज्वाइँ कति असल र लायकको व्यक्ति हुनुहुन्छ, तँ कचकच नगर उनलाई काम गर्न अप्ठ्यारो पर्छ’ भन्दै सम्झाउँथे तर उनको ढिपीको अघि केही चल्दैनथ्यो । पतिले पनि आफ्नो सम्बन्धको बारेमा एकदम नजिकका एक साथीलाई मात्रै शेयर गरेका थिए अरुलाई थाहा थिएन । किनकि उनी समाजमा नाम-दाम कमाएका असल व्यक्तिको रूपमा चिनिन्थे । आफ्नो स्तरलाई ख्याल राख्दै उनी र उनकी पत्नी आफूहरूबीचको सम्बन्धलाई सर्वजनिक गर्न चाहेका थिएनन् । ठूला शहरभित्रको एक कुनामा उनीहरूको घर थियो । मान्छेले घर, गाडीलगायतका भौतिक अवस्था देखेर सम्पन्नताको मूल्याङ्कन गर्छन् । तर के भौतिक सुख-सुविधा हुँदा मात्रै व्यक्ति सुखसम्पन्न हुने हो र ? यो पनि एक सामाजिक विषय बनेको छ हाम्राअघि । हरेकले पहिला हेर्ने भनेकै अघिल्लो कुरा नै हो पछाडि हेर्दैनन् ।

केही महिनापहिलेको कुरा हो, नेपाल सरकारको उच्च पदमा रहेका एक सरकारी अधिकारीको फोन आयो । आफ्नो पूरा परिचय दिँदै तपाईंसँग भेट गर्नुपर्ने छ, समय निकाल्नु म्याम भन्दै मलाई आग्रह गर्नुभयो । के कारणले भेट्न खोज्नुभएको भनी मैले प्रश्न गरेँ । उहाँको जवाफ थियो- फोनमा कुरा नगरौँ बरु म शनिबार समय मिलाउँछु, भेटेर कुरा गरौँ । ‘हवस् त’ भन्दै एक अधिवक्ताको ल फर्ममा उहाँलाई आउन आग्रह गरेँ । उहाँ आउनुभयो । कुरा गर्दै जाँदा आफ्नी पत्नीबाट प्रताडित भएको सधैं पत्नीको कचकच, अनावश्यक खर्च र केटासाथीहरूसँग रातभर बाहिर हुने जस्ता क्रियाकलापबाट आजित भइ छुटकारा पाउन खोजेको समस्या राख्नुभयो । तर पत्नीका आफन्तहरू प्रहरी एवम् न्यायिक क्षेत्रमा भएका कारण पीडित पुरुषलाई मुद्दा अघि बढाउन गाह्रो भएको जिकिर गर्नुभयो । त्यसपछि उहाँलाई मानसिक परामर्शको लागि एक व्यक्तिमा सिफारिस गरियो । प्रहरीका एक उच्च अधिकारीसमक्ष भेट गराएपछि ती पीडित पुरुष अदालतमा पत्नीविरुद्ध फिरादपत्र दर्ता गर्न राजी हुनुभयो र फिराद दर्ता पनि भयो । अहिले ती पति-पत्नीबीच सम्बन्धबिच्छेद भइसकेको छ ।

माथि उल्लेख गरिएका दुई घटनामा व्यक्तिहरू समाजको लागि बाँचिरहेका, आफूहरू पीडामाथि पीडा खेप्दैछन् तर समाजको अघि हाँसो देखाएर मिलेको जोडी सावित गर्न तत्पर छन् । यसो हेर्दा व्यक्तिहरू आफ्नो लागि होइन समाजको लागि बाँच्न बाध्य भएजस्ता देखिन्छन् । यसैगरी, एक अधिवक्ता भन्नुहुन्छ, सम्बन्धविच्छेदको फिराद दर्ता गरेर गएको व्यक्ति भोलि वैवाहिक समारोह मनाइरहेको छ । सामाजिक सञ्जालमा फोटो राखेर शुभकामना पाइरहेको छ । त्यो देखेर फोन गर्दा ‘होइन यो त समाजलाई देखाउनु प¥यो नि, हाम्रो बीचको सम्बन्ध कस्तो छ त्यो मलाई नै थाहा छ ।’

पुरुषमाथि लादिएको मुल्य-मान्यताहरू

‘पुरुषप्रधान समाजमा पुरुष पनि हिंसामा पर्छन् र ?’ भनेको सुन्दा अचम्म लाग्छ । तर आजको समाजमा यो अचम्मको कुरा होइन, केवल बाहिर निस्कन मात्रै कठिन भइरहेको छ । पुरुषमाथि लादिएका मुल्य-मान्यताहरू जस्तै ‘पुरुष तिमी रुनु हुन्न, कठोर बन्नुपर्छ, बहादुर बन्नुपर्छ’ लगायतका गलत सोचले पुरुषको मानसपटल भरिदिएको छ । त्यही कारणले गर्दा समस्या बाहिर आउन सक्दैन भने अर्कोतिर आफूमाथि भएको समस्याको कानुनी बाटो खोज्ने निकाय पनि पुरुषमैत्री छैनन् । महिला बालबालिका तथा जेष्ठ नागरिकको समस्यामा जिकिर गर्ने स्थान प्रशस्त भेटे पनि एक पुरुष आफूमाथि भएको हिंसाको उपर उजुर गर्न प्रहरीमा पनि जान सक्दैन ।

महिलामाथि हिंसा किन हुन्छ भनेर कोहीले प्रश्न गऱ्यो भने हामी सजिलै भन्छौँ- पितृसत्तात्मक सोचले हिंसा हुन्छ । ठिक त्यसैको उल्टो पितृसत्तात्मक सोचले व्याप्त एक महिलाको कारण हिंसाको शिकार बन्न जान्छ एउटा पुरुष । पुरुष कहिले पनि पीडित हुँदैनन् भन्नेहरूको जमात पनि यहाँ छ । उनीहरू ठूल्ठूला कुरा गरेर महिलालाई माथि र पुरुषलाई तल देखाइहाल्छन् । यस्ता घटनाको कारण समानतामा काम गर्ने हाम्रो अभियान असमानतातर्फ उन्मुख भइरहेको इङ्गित गर्छ । कसैको व्यक्तिगत जीवनको निर्णय लिने अधिकार कोहीलाई छैन । एक हिंसाप्रभावित महिलाको चित्कार सबैले सुन्छन् भने एक महिलाको बात खेपेर वर्षौसम्म हिंसा खेप्दै आइरहेको पुरुषको आवाज कोहीले सुन्न चाहँदैनन् । बगेको आँशुको धारा सबैले देख्छन् तर वर्षौंदेखि आँशु लुकाएर गम पचाइरहेको नजरअन्दाज गरिदिन्छौँ । हरेक ठाउँमा पुरुष दोषी हुँदैनन् भने सबै महिला हिंसा खेपेर बस्छन् भन्ने पनि छैन । समाजमा फरक-फरक खालको आकृति देख्न सकिन्छ । कति पत्नीहरूले आफ्नो श्रीमान्लाई डिप्रेसनको शिकार बनाएका पनि छन् ।

सामान्यतया हिंसाको शिकारमा महिला प्रभावित हुने गरेका छन् । पितृसत्तात्मक सोचको घेरामा महिला नै परेको हुनाले महिलामाथि हुने हिंसाको विरुद्धममा सबै बोल्न थाले यसैअनुरुप महिलाको मानवअधिकार सुरक्षित गर्न न्यायमा पँहुचको सवाललाई जोड्न कानुनहरू बनाइयो, जुन जरुरी पनि छ । पुरुषमाथि पनि यस्तो हिंसा हुन थालेपछि पुरुषको मानवअधिकार संरक्षण गर्न कुनै कानुनी व्यवस्था गरिएन । घरेलु कसुर तथा सजाय ऐन २०६६ ले घरेलु सम्बन्धको शब्द जोडेता पनि पुरुष घरेलु हिंसाको निवेदन दिन आउँदैन । तर २०७५ मा आएको देवानी मूलुकी संहिताले सम्बन्ध विच्छेदको लागि पुरुष सिधै अदालत आउन सक्ने भन्ने प्रावधान राखेपछि पुरुषलाई आफूविरुद्ध हुने हिंसाको उजुरी गर्न अदालत जान बाटो खुलेको हो । २०७५ साल भन्दापूर्व पुरुषको हकमा यो व्यवस्था थिएन । अदालतसम्म फिराद आइपुग्न लगभग एक वर्ष लाग्थ्यो । वडा, गाउँपालिका हुँदै बल्ल अदालत आउँथ्यो । त्यति बेलासम्म जस्तो पनि अवस्था आउँथ्यो । तर त्यो एकदम गाह्रो प्रक्रिया थियो पुरुषको हकमा । यहीअनुरुप जिल्ला अदालत काठमाडौंमा दिनको चारको अनुपातमा सम्बन्धविच्छेदको लागि फिराद दर्ता गर्न आउने फिरादशाखाका अधिकारीहरू बताउँछन् ।

सम्बन्ध घट्नुमा दोष कसको ?

सम्बन्ध बढ्नु राम्रो मानिन्छ । साथीभाइ इष्टमित्र घर-परिवार एक जीवित व्यक्तिको लागि चाहिने सम्पत्ति हो । यो सम्पत्ति जति बढायो उत्ति नै फाइदा हो । तर यस सम्बन्धलाई पैसाको दृष्टिबाट हेरियो भने सबै टुट्न सक्छ । आजको व्यक्ति आफ्नो सवाललाई मात्र प्राथमिकता दिन्छन् । अरुको राम्रो कुरा सुन्ने प्रवृत्तिको विकास बहुत कम देख्न पाइन्छ । भनिन्छ, प्रश्न गरेपछि उत्तर पनि सुन्ने कोशिस गर्नुपर्छ होइन भने एकोहोरो बोलीले केही हासिल गर्न सकिँदैन । सम्बन्धमा उतारचढाव व्यक्तिले नचाहेर पनि आउन सक्छ । परिवार-परिवार जोड्नको लागि बनेको सम्बन्ध परिवार तोड्नमा उतारु भइरहेको छ । सामान्य भन्दा अति सामान्य कुरामा सम्बन्धविच्छेद हुन थालेको छ । सधैं पतिबाट हिंसाको शिकार भइरहने, समाजले लान्छना लगाइरहने यस्ता प्रकारका विकृतिविरुद्ध आवाज उठाउन आवश्यक छ । त्यसको निकाश सम्बन्धविच्छेद नै भन्ने हुँदैन । कोही जानकार व्यक्तिहरूबाट परामर्श लिन सकिन्छ । सम्बन्धविच्छेदको ग्राफ बढ्नु भनेको पति-पत्नीको सम्बन्धमाथि प्रश्नचिह्न लाग्नु हो । आज पवित्र वैवाहिक जीवन भनेर व्याख्या गर्ने तर भोलि त्यही जीवनसँग डराउनुपर्ने ?! यस्तो स्थिति आउनु नराम्रो सङ्केत हो । हामीले आउने भविष्यलाई हामी कसरी हेर्न खोजिरहेका छौँ ? के सन्देश दिइरहेका छौँ ? त्यसैले अहिलेकै अवस्थामा रहेका यस्ता घटनालाई न्युनीकरण गर्न जरुरी देखिन्छ । पुरुषमाथि भइरहेको यातना अपवाद मात्रै होइन, यो पनि बहसको विषय भइसकेको छ ।