विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेल्जियममा कार्यक्रम

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बेल्जियममा कार्यक्रम


  • सनत आचार्य, बेल्जियम

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले आन्तरपेनमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बेल्जियमका लागि नेपाली दुतावासका द्वित्तिय सचिव रुउस कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपालको संविधानले मौलिक हकको रुपमा स्थापना गरेको स्मरण गर्दै सुसंस्कृत र मर्यादित पत्रकारिताका लागि दुतावासले सदैव सहयोग गर्ने बताउनुभयो । समाजलाई सुसूचित गर्न पत्रकार निरन्तर लागिपर्नु पर्ने उहाँको आग्रहात्मक सुझाव थियो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले पत्रकारिता पेशाले समाजको आमूल परिवर्तन र समाज एकिकृत बनाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा प्रवासी समाजलाई सुसूचित गर्दै समृद्ध समाज निर्माणका लागि भूमिका खेल्न आग्रह गर्नुभयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले पत्रकारहरूले डर, भावना र लोभले ओतप्रोत भएर समाचार सम्प्रेषण गरेमा समाजमा नकारात्मक असर पर्ने भएकोले पत्रकारहरू यसप्रति सजग हुनुपर्ने र सृजनशील भएर समाचार संकलन तथा सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष निरौलाले आफूलाई डायस्पोराका पत्रकारहरूले नेपाली समुदायका लागि आवश्यक खुराक कतै कम पस्किएका त हैनन् ? भन्ने लागेको र डायस्पोराका पत्रकारहरूले नेपाली समाजलाई आवश्यक समाचार अलि बढी सम्प्रेषण गर्न आग्रह गर्नुभयो । समाजका घटना त्यसमा पनि डायस्पोराका समाचार लेख्ने कलमको मसी कहिल्यै नसुकोस् भन्दै उहाँले शुभकामना दिनुभयो ।

एनआरएनएका बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुवेदीले प्रवासमा पत्रकारहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा आफूहरू पहिलो पुस्तालाई समेत मध्यनजर गरी कलम चलाउन सुझाव दिनुभयो भने नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष मोना राईले पत्रकारहरू संगठित भएमा समाज सशक्त हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका निवर्तमान अध्यक्ष केजिन राईले संगठित भएर पत्रकारिता गरेमा समाज र संगठनको कल्याण हुने उल्लेख गर्दै पत्रकारहरू संवेदनशील, स्वतन्त्र र निर्भिक भएर कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।

राईले विदेशमा पत्रकारिता गरेरै बाँच्न सक्ने अवस्था नभएको जानकारी गराउँदै प्रवासमा रहेका पत्रकारहरूले थोरै समय निकालेर पत्रकारिता गरिरहेकोले यो नै खुसीको कुरा भएको विचार व्यक्त गर्नुभयो ।

जन प्रगतिशील मञ्चका निवर्तमान अध्यक्ष जीत लामाले आमनागरिकको सही र निष्पक्ष जानकारी प्राप्त होस् भन्ने चाहना हुने हुँदा त्यसतर्फ पत्रकारहरूलाई ध्यान दिन आग्रह गर्दै समाजको अहिलेको चाहना भने स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएको उल्लेख गर्नुभयो । लामाले आफूलाई लागेको सकारात्मक कुरा निस्फिक्रीका साथ लेख्न पत्रकारसँग आग्रह गर्नुभयो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष प्रकाश गिरीले बेल्जियमका पत्रकारहरूले घर-व्यवहार, दैनिकीलाई एक ठाउँमा राखेर संसारलाई सुसूचित गर्ने काम गरेकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा निष्पक्ष समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।

नेपाली जनप्रगतीशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले प्रत्येक क्षेत्रमा चुनौती देखिँदा पत्रकारिता क्षेत्रमा पनि चुनौती नभएको होइन तर ती चुनौतीहरूलाई सामना गर्दै मर्यादित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष प्रकाश पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिता भन्ने विषयले मेल नखाएको अनुभव सुनाउँदै पत्रकारहरूले वैचारिक रूपमा समाचार संकलन र सम्प्रेषण गर्न नहुने बताउनुभयो ।

वेन्स्टडे सोसाइटीका अध्यक्ष ब्रह्मदत्त वाग्लेले आग्रह र पूर्वाग्रह नराखेर निष्पक्ष पत्रकारिता गर्न सुझाव दिँदै बेल्जियमका स्थानीय समस्याहरूलाई सम्बोधन गर्न नसकेकोमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

पत्रकार दिल निशानी मगरले पछिल्लो समयमा प्रविधिले मानिसलाई पत्रकारिता गर्न सजिलो बनाइदिएको उल्लेख गर्दै प्रविधिको प्रयोगले पनि समाचार बनाउन सजिलो भएको धारणा राख्नुभयो ।

एनआरएनका निवर्तमान आईसीसी सदस्य सुवास जोशीले बेल्जियममा नेपाली समाज संगठित हुन लामो समय लागेको बताउँदै पत्रकार महासंघले दोश्रो पुस्तालाई पनि पत्रकारिता क्षेत्रमा सक्रिय गराउन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सुझाव दिनुभयो ।

तमुधिःकी अध्यक्ष प्रविना गुरुङले पत्रकारहरूलाई अनैतिक तवरले दिइने धम्कीको सबै मिलेर सामना गर्नुपर्ने र समाजलाई सुसूचित गर्न निरन्तर लागेका पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चाका मेघ गुरुङले आजको आवश्यकता निष्पक्ष पत्रकारिता रहेको हुनाले सबै पत्रकारहरूले त्यसतर्फ सोचेर कलम चलाएमा समाज चेतनशील बन्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली अम्माईले प्रवासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अम्माईले भयरहित पत्रकारिता आजको आवश्यकता भएकोले यस क्षेत्रमा क्रियाशील पत्रकार संवेदनशील भएर समाचार सम्प्रेषण, संस्लेषण, विश्लेषण र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अन्त्यमा पत्रकार सनत आचार्यले पत्रकारिता पेशा समाजलाई सुसूचित बनाउने मात्र नभइ मानव अधिकारको संरक्षण तथा सम्बर्धन, मौलिक अधिकारको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि समिति आवश्यक रहेको बताउँदै छलफलमा आएका सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्षता गर्दै ओम शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले आम नागरिकको मात्र नभइ राज्यसंचालकहरूलाई समेत सचेत गराउने भएकोले यो विषय सबैका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा पत्रकारहरू पत्रकारिताको मूल मर्मअनुसार चल्ने अभ्यासमा रहेको बताउँदै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणका लागि आफूहरू सदैव चनाखो रहेको जिकिर गर्नुभयो । अध्यक्ष शर्माले छलफलमा उठेका विषयहरूमा संघभित्र छलफल गरी कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यक्षेत्र लगायत रुस-युक्रेन युद्धमा मारिएका पत्रकारहरूको कामको प्रशंसा गर्दै मृतक पत्रकारहरूप्रति श्रद्धाञ्जली ज्ञापन गरिएको थियो ।

कार्यक्रममा सबै आगन्तुकहरूलाई कोषाध्यक्ष निलम घिमिरेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पेम्वागेलु शेर्पाले गर्नुभएको थियो ।