एकै ब्याचका प्रहरी अधिकृत डीआइजीपीदेखि आइजीपीसम्म !

एकै ब्याचका प्रहरी अधिकृत डीआइजीपीदेखि आइजीपीसम्म !


नेपाल प्रहरीको प्रमुख पदमा धीरजप्रताप सिंहको चयन भएपछि प्रतिष्पर्धीहरू यसअघिको परम्परा पछ्याउँदै अदालतको ढोका घचघच्याउन पुगेका छन् । वि.सं. २०४९ मा प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका धीरजप्रताप सिंह, उत्तम सुवेदी, देवेश लोहनी, विश्व पोखरेल, सहकुल थापा र रवीन्द्र धानुकमध्ये सहकुल थापा, रवीन्द्र धानुक र विश्व पोखरेल एआइजीपीको जिम्मेवारीमा रहेका छन् भने धीरज महानिरीक्षक बन्न सफल भएका छन् । तर, एउटै ब्याचका देवेश लोहनी र उत्तम सुवेदी योग्यता र क्षमता भएर पनि नायब प्रहरी महानिरीक्षक (डीआईजीपी) मै सीमित हुनुपरेको छ ।

प्रहरी नियमावलीको धारा ४१ मा ‘ज्येष्ठता, कार्य क्षमता, कार्यकुशलता, नेतृत्व क्षमता र आफ्नो मातहतलाई उच्च मनोबलका साथ परिचालन गर्न सक्ने सामथ्र्य भएका व्यक्तिलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न सकिने’ व्यवस्था छ । प्रतिष्पर्धामा रहेका सबै व्यक्तिहरू महानिरीक्षक बन्न योग्य भए पनि सरकारले धीरजप्रतापलाई नै उक्त जिम्मेवारीका निम्ति उपयुक्त ठानेको छ ।

नेकपा एमालेको सरकारले निरन्तरता पाएको भए विश्व पोखरेल र सहकुल थापा आइजीपीका मूख्य प्रतिष्पर्धी रहने र दुईमध्ये पोखरेलले बाजी मार्न सक्ने सम्भावना प्रवल थियो । पोखरेललाई २०७९ सालमा आइजीपी बनाउनकै लागि भनेर एमाले सरकारले एआइजीपीमा एकल बढुवा गरेको थियो । सहकुल थापालाई भक्तपुर घर भएका तत्कालिक गृहसचिव महेश्वर र युवा नेता महेश बस्नेतको विशेष अग्रसरतामा एआइजीपी बनाइएको थियो । एमाले नेतृत्वको सरकारले विशेष मनपराउनु नै अहिले विश्व र सहकुलका निम्ति प्रतिकुलता बन्न पुग्यो ।

कुनै पनि दल र नेतानिकट हुन नसकेका धीरजप्रताप सिंह अहिले त्यही कारणबाट सरकारको रोजाइमा परेका हुन् । कहिल्यै कुनै किसिमको विवादमा नपरेका धीरज नेपाल प्रहरीभित्र भद्र, सत्जन र योग्य अधिकृतका रुपमा चिनिन्छन् । विश्व पोखरेलले अदालतको ढोका घचघच्याउनु स्वभाविक भए पनि मन्त्रिमण्डलले गरिसकेको निर्णयलाई अदालतले चुनौती नदिने विश्वास गरिन्छ । कसैलाई पदमुक्त गरिएको अवस्थामा भने अदालतले सरकारी निर्णयलाई चुनौती दिँदै न्यायीक निर्णय दिने गरेको छ ।