बेल्जियममा नेपाली पञ्चेबाजाको प्रवर्द्धन

बेल्जियममा नेपाली पञ्चेबाजाको प्रवर्द्धन


  • सनत आचार्य, लुभेन (बेल्जियम)

युरो नेपाल कलाकार संघ (ऐना)ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ । नौमती बाजा बजाउने कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपालको कला-संस्कृतिको संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पञ्चेबाजा तथा नौमती बाजाले प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उहाँले यो बाजा प्रवद्र्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ‘ऐना’ले प्रवासमा पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना गरेकोमा खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो भने अर्का अतिथि नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले प्रवासमा मानिसले यान्त्रिक रूपले समय गुजारीरहेको अवस्थामा पनि पञ्चे बाजा प्रवद्र्धनका लागि ऐनाले खेलेको भूमिका सह्राहनीय भएको भन्दै आगामी दिनमा अझ बढी व्यवसायिक रूपले अगाडि बढ्न सुझाव दिनुभयो ।

युरो नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती)को संरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दैै आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभ कार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिनुभयो । अध्यक्ष पुनले नेपाल कला-संस्कृतिको धनी देश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी युरोपमा आफूहरूले संरक्षण र सम्वद्र्धनका लागि जमर्को गरेको बताउँदै यसमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । पुनले आगामी दिनमा पञ्चेबाजा तथा नौमतीबाजा शुभ कार्यलगायत चाडपर्व एवम् अन्य कार्यक्रमहरूमा बजाउन सकिने बताउनुभयो ।

उक्त अवसरमा बेलायतमा पञ्चेबाजा प्रवर्द्धन कार्यमा लागिपरेका ओम थापा काउछा र पदम गुरुङलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर्ष अवधि खर्चिनु परेको अनुभव सुनाउँदै साथीहरूको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा अगामी दिनमा आफूहरूले मनोरञ्जन तथा व्यवसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्न सक्ने जानकारी गराउनुभयो ।

स्मरण रहोस्, ‘ऐना’ संसारभरबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संगठन हो । यो संगठनले बेल्जियममा नेपाली कला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा क्रियाशील छ ।