काठमाडौं-नारिता उडान सातामा एक दिन थपियो

काठमाडौं-नारिता उडान सातामा एक दिन थपियो


  • जापान प्रतिनिधि

नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको काठमाडौं- नारिता उडान सातामा एक दिन थप गर्ने निर्णयसहित भाडादर निर्धारण गरेको छ ।

निगमले नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेकोमा मे १, २०२२ देखि नियमति रुपमा आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने जनाएको हो । निगमले थप उडानअन्तर्गत अप्रिल २४ तारिखबाट साताको तीन दिन उडान थालेको हो ।

जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने समेत निगमले स्पष्ट पारेको छ । यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको जनाउँदै निगमले जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही महँगो हुन गएको जनाएको छ ।

निगमका अनुसार काठमाडौं नारिता सेक्टरमा करसहित विजनेश क्लासमा १,५२,००० रुपैयाँ र इकोनोमी क्लासमा १,१९,७०० रुपैयाँ भाडादर कायम गरिएको उल्लेख छ । जापानबाट नेपाल तर्फको उडानमा भने इकोनोमी क्लासमा केवल ६४ हजार रुपैयाँ रहेको छ ।

निगमले नेपालबाट जापानतर्फको तोकिएको मूल्य भन्दा बढी भाडा लिइ टिकटहरु बिक्री वितरण गरेको गुनासो प्राप्त भएको जनाउँदै कसैले तोकिएको मूल्य भन्दा बढी मूल्य लिइ बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने विज्ञप्तिमार्फत जानकारी गराएको छ । यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावहरुलाई प्रमाणसहित निगममा उजुरी गर्नुहुन अनुरोध गरिएको छ ।

काठमाडौं नारिता सेक्टरमा सिट संख्या बढाउन नेपालस्थित जापानी राजदूतावासलाई अनुरोध गरिसकिएको समेत निगमले जनाएको छ । नारिता काठमाडौं सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको छ । काठमाडौं नारिता सेक्टरमा माग अत्याधिक रहेको तर सीमित सिट संख्यामा उडान गर्नुपर्ने र मागबमोजिमको आपूर्ति हुन नसकेको कारणले यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमायाचना गरेको छ ।