पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै


पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन (यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग)लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ ।

तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । पेरुका न्यायमन्त्री फेरलिक्स चेरोले भनेका छन्, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’

नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने उनले बताएका एजेन्सीहरुले जनाएका छन् ।

३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।

सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विधेयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनुपर्ने उनले बताएका छन् ।

‘हामीलाई आशा छ कि संसद्ले यो विधेयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।

विद्येयकले कानुनको रूप लिन संसद्बाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विधेयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुको महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

तीव्र न्यायिक प्रक्रिया, हेरचाहमा सुधार, दण्डहीनता विरुद्ध लडाइँ र रोकथामलाई बलियो बनाउने उपाय आवश्यक छन्’, समूहले अगाडि भनेको छ ।