प्रेमको तीरले घोचेको छैन

प्रेमको तीरले घोचेको छैन


आकर्षक जिउडालकी सविना कार्की नृत्यमा पनि उत्तिकै पारङ्गत मानिन्छिन् । काठमाडौंको राजधानी कला केन्द्रमा नृत्य निर्देशक दिनेश अधिकारीसँग नृत्यको प्रशिक्षण लिएपछि त्यो विधामा पोख्त भएकी सविनाको परिचयले यतिबेला फराकिलो हुने अवसर पाएको छ । चल्तापुर्जा चलचित्र निर्देशकको रूपमा स्थापित शोभित बस्नेतको नयाँ चलचित्र दुलही रानीमा नायिका हुने अवसर पाएकी छिन् सविनाले यतिबेला ।
० भनेपछि अब सिनेमाकी हिरोइन पनि भइयो ?
– हो, हिरोइन बन्ने सपना पूरा भएको छ ।
० कसरी पाइयो त यो चलचित्र ?
– नयाँ हिरोइनको खोजी भइरहेको रहेछ । त्यही क्रममा मेरो नाम आयो र म दुलही रानीमा नायिका बन्न पुगेँ ।
० सिनेमा क्षेत्र रहर कि निरन्तरता ?
– रहर मात्र होइन । अब त यही क्षेत्रमा लागियो र पूरा जीवन सिनेमामा नै बिताउने लक्ष्य लिएकी छु ।
० कस्तो छ त यो चलचित्रमा भूमिका ?
– सोझी गाउँले युवतीको भूमिका छ । जो अरूको बारेमा कहिले पनि गलत सोच्दिनँ ।
० सिनेमाकी हिरोइन बन्न त निर्माता-निर्देशकले नयाँलाई खुव चाकडी गराउँछन् भन्छन् नि ?
– अरूले के गरे मलाई थाहा छैन तर म यो मामिलामा भाग्यमानी ठान्छु कि मैले त्यस्तो कुनै दुःख, चाकडी र चाप्लुसी व्यहोर्नुपरेन ।
० शरीर निकै राम्रो बनाएकी छ्यौ नि ?
– हिरोइन बन्ने भएपछि शारीरिक रूपमा पनि आकर्षक हुनुपर्‍यो नि । यो त व्यायामको कमाल पनि हो ।
० यो शरीरप्रति लोभिने छन् कि छैनन् त ?
– होलान् । तर, यतिबेला त्यस्तो लोभिनेतिर ध्यान दिने समय छैन मेरो ।
० कुनै ब्याइपेण्ड… ?
– अहिलेसम्म प्रेमको चक्करमा परेकी छैन । पहिले सिनेमा क्षेत्रमा स्थापित हुने लक्ष्य छ, प्रेमको तीरमा किन पर्नु ?
० साधन के छ नि ?
– स्कुटी चलाउँछु ।
० कत्तिको र्‍याक हुन्छ बाटोमा ?
– केटाहरूले अनियन्त्रित रूपमा बाइक चलाउँदा निकै अप्ठेरोमा परिन्छ ।
० अहिलेसम्म दुर्घटनामा परिएको छ ?
– छैन । पुरुषभन्दा महिलाहरू सजक भएर ड्राइभिङ गर्छन् ।
० अहिलेसम्म कसैले प्रेम प्रस्ताव राखेका छन् –
– योजनाचाहिँ बनाएको सुनेकी छु । तर, आँट गरेका छैनन् ।
० आँट किन नगरेका होलान् ?
– यसले स्वीकार नगर्ली भनेर होला ।
० कुनै पुरुषले एकान्तमा भेट्न बोलायो भने ?
– एकान्तमा बोलाउनुमा नै गलत सोच हुन्छ । त्यसैले म जान्नँ ।

हामी ठगिने मात्र
महिला गीतकारहरूको भीडमा यतिबेला स्थापित भइसकेकी छिन् मीना सिङगक । गीतकारकै रूपमा निरन्तर लागिरहने उद्देश्यका साथ लागिपरेकी मीना आधुनिक र चलचित्र दुवै विधाका गीतलेखनमा पोख्त मानिएकी छिन् । गीतलेखन भने चर्चित गायक राजेशपायल राईको एल्बम ‘जस्ट फर यु’ बाट सुरु गरेकी हुन् । यो एल्बम उनकै लगानीमा बजारमा आएको थियो । ‘यो एल्बमको सफलतापछि मलाई गीतलेखन क्षेत्रतर्फ लाग्न झनै प्रोत्साहन मिल्यो,’ मीनाले भनिन् ।
मीनाले पछिल्लोपटक चर्चित गायिका सुनिता दुलालको नयाँ एल्बम ‘शिरमा फूल’का लागि पनि गीत लेखिन् । ‘आँखामा गाजल पाउमा पाउजु…’ बोलको यो गीत पनि अहिले चर्चामा छ । मीनाले यसबीचमा केही चलचित्रमा पनि गीत लेख्न भ्याएकी छिन् । द क्रिस, कोही त छ र तिमीले दिएको माया मीनाको गीति रचना रहेका सिनेमाहरू हुन् । ‘चलचित्रमा गीत लेख्दा बाँधिनुपर्छ तर आधुनिक गीत लेख्दा भने मन फुकाएर लेख्न पाइन्छ,’ मीनाले भनिन् । उनका अनुसार मीना किन गीत लेख्छिन् उनी आफैंलाई थाहा छैन । उनले थपिन्, ‘पहिले रहरमा गीत लेखियो तर अहिले आफूले लेखेका गीतहरूले चर्चा पाउन थालेपछि गीतलेखनतर्फ झनै तनमन नै लगाउन मन लाग्यो ।’ उनले भनिन् ।
गीतकारको दाँजोमा गायक-गायिकाहरूको चर्चा, नाम अनि दाम बढी हुने गरेकोमा अन्य गीतकारहरूजस्तै मीनाको पनि चित्त दुखाइ रहेछ । उनले कुनै धक नमानीकन दुखेसो पोखिन्, ‘हामै्र गीत गाएर गायक-गायिकाहरू देश-विदेश मात्र घुम्दैनन्, दामका साथै वाहवाही पनि कमाउँछन् तर हामी भने जहिले पनि पछि अनि अँध्यारोमा ।’ त्यसो त मीना यसो हुनुमा मिडियाको पनि दोष देख्छिन् । भन्छिन्, ‘मिडियाले पनि बेवास्ता गर्छ हामीलाई । हामी त ठगिने मात्र जताबाट पनि ।’
पहिले-पहिले मेरो गीत गाइदिनोस् भनेर मीनाले थुपै्र गायक-गायिकाको घरघर धाइन्, तर आज समय फेरिएको छ । ‘गायक-गायिका, साथीभाइहरू नयाँ गीत भए ल्याउनुस् भन्नुहुन्छ । यो त सफलता हो जस्तो लाग्छ,’ मीना फुरुङ्ग छिन् ।

मल्लिका पनि अमेरिकामै हराउने †
मीठो आवाजले होइन, सुन्दर अनुहारका कारण चर्चामा छिन् गायिका मल्लिका कार्की । क्षमताभन्दा पनि सङ्गीतकारसँगको हेलमेलका कारण गीत गाउने अवसर पाएकी मल्लिकाको एउटा योजना यतिबेला आएर पूरा भएको छ । ‘युरोपको भ्रमण गरेर फर्किएपछि अमेरिकाको भिसा लगाउनु सजिलो हुन्छ’ भनेर आफ्ना साथीभाइसमक्ष कुनै समय यसो भन्ने मल्लिकालाई अन्ततः अमेरिकाको भिसा पनि लाग्यो । भिसा लाग्यो मात्र होइन, अब उतै भासिने योजनामा उनी रहेको कुरा यतिबेला सांगीतिक बजारमा गाइँगुइँ चल्न थालेको छ । तर, मल्लिका भने यी सब वाहियात हल्ला हुन् भन्छिन् । ‘विदेशमा लुक्ने भए त म युरोपमा नै लुक्थेँ नि – किन र्फकन्थेँ र -‘ उनी यस्तै जवाफ दिन थालेकी छिन् आजभोलि ।
विशेष गरेर आलोकश्रीको संगीतमा बढी गीत गाउने मल्लिका यतिबेला अमेरिका छिरेपछि त्यहाँ ग्रिनकार्ड एप्लाई गर्नका निम्ति चाहिने कागजपत्र बनाउन व्यस्त रहेको कुरा बजारमा व्यापक रूपमा चलेको छ । गीत गाउनभन्दा पनि कागजपत्र बनाउनतिर व्यस्त मल्लिका कार्की केही हप्तामा नै अमेरिका जाँदै छिन् सांस्कृतिक कार्यक्रमका लागि ।
सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने बहानामा अधिकांश कलाकार विदेशमा नै लुक्ने बानीले गर्दा वास्तविक रूपमा नै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न विदेश जाने कलाकारहरूलाई पनि राजदूतावासले पत्याउन छाडेको थियो । तर, केही समययता आएर कलाकारहरूको भिसामा केही खुकुलो देखापरेको छ । तर, यसको कलाकारहरूले गलत फाइदा उठाउन हुन्न भन्ने हाम्रो भनाइ हो । बजारमा हल्ला चलेजस्तै यदि मल्लिका पनि उतै लुक्ने भइन् भने भोलि अन्य कलाकारहरूलाई गाह्रो हुने देखिन्छ । तर, मल्लिकाले आफ्नोबारेमा गलत हल्ला फैलाउने समूहलाई पाठ सिकाउन अमेरिका गएर सांस्कृतिक कार्यक्रममा भाग लिएर स्वदेश फर्किइन् भने विरोधीहरूलाई मल्लिकाका तर्फबाट रामै्र झापड हुनेछ । यस्तै होस्, हामी पनि कामना गर्दछौँ ।