न्याय क्षेत्रभित्रै यस्तो पनि हुन्छ !

न्याय क्षेत्रभित्रै यस्तो पनि हुन्छ !


न्यायालयभित्र नातावाद र कृपावाद जस्तो गैह्रन्यायीक क्रियाकलाप नराम्रोसँग फैलिएको छ । त्यस्तै, परिवारका कुनै सदस्य न्यायाधीश बनेपछि सम्वद्ध व्यक्तिका पति, पत्नी या अन्य नातेदारका ल फर्म रातारात ‘चम्किने’ गरेका छन् ।


विश्वका सबैभन्दा ‘फोहोर’ न्यायपालिकाको पहिचान बनाउन नसकेको भए पनि नेपालको न्यायपालिका र न्यायाधीशहरूको स्थिति अध्ययन गर्दा यो नकारात्मक रेकर्ड कायम गर्ने दिशातर्फ उच्च गतिका साथ लम्किरहेको पाइएको छ । वकील खर्च बुझाउन नसक्नेहरूका निम्ति त न्याय धेरै अघि नै मरिसकेको थियो, अतिरिक्त खर्चको जोहो नगरिकन न्याय पाउने अवस्थाको समेत अब अन्त्य भएको छ । देशको सबैभन्दा बढी भ्रष्टाचार हुने निकायका रूपमा न्यायालयलाई समेत लिन थालिएको छ ।

कैयन न्यायाधीशहरूको चारित्रिक कारणले पनि न्यायपालिका र न्यायाधीशहरू बदनाम भइरहेका छन् । न्यायालयमा भइरहेको पार्टीकरण र राजनीतिकरणले न्यायालयको साख र विश्वसनियता ह्रास हुँदै गएको छ । पछिल्लो समयमा न्यायालय राजनीतिक दलका खास नेताहरूको राजनीतिक साध्य पूरा गर्ने साधन बनेको टिप्पणी पनि हुन थालेको छ । नातावाद, कृपावाद र ‘सेटिङ’ जस्ता कराणले पनि न्यायालयको गरिमामा गम्भीर क्षति पुगिरहेको छ । आफ्नो पारिवारिक सदस्य कोही वकील र न्यायाधीश छन् भने तिनले कसरी ‘सेटिङ’मा काम गरिरहेका हुन्छन् भन्ने जानकारी न्यायीक क्षेत्रमा सीमित रहे पनि यो विषय समेत सार्वजनिक हुने हो भने त्यसले न्यायीक क्षेत्रको गरिमा थप घटाउने देखिन्छ ।

सर्वोच्च अदालतमा न्यायाधीश हरि फुयाल योग्य र असल व्यक्तिका रूपमा चिनिनुहुन्छ । उहाँले आफ्नी पत्नी अञ्जु फुयाललाई हरेक दिन आफ्नो गाडीमा राखेर ल फर्मसम्म पुऱ्याइदिने र बेलुका लिन जाने गर्दै आउनुभएको छ । पति-पत्नीका रूपमा यस किसिमको प्रेमपूर्ण सम्बन्ध रहनु अस्वभाविक होइन । तर त्यसरी सर्वोच्च न्यायाधीश दिनहुँ ल फर्ममा पुग्ने गरेपछि पत्नी अञ्जुको अनामनगरस्थित ल फर्ममा मुद्दाको चापचाहिँ अस्वाभाविक किसिमले बढेको देखिन्छ । सर्वोच्च अदालतका न्यायाधीशको आउजाउ हुने ल फर्ममा मुद्दाको चाप बढेपछि आसपासका ल फर्महरूमा त्यसको सिधै असर पर्ने गरेको छ ।

यस्तै स्थिति न्यायाधीश ईश्वर खतिवडाको सवालमा पनि छ । आफूलाई सफा र इमानदार व्यक्तिका रूपमा चिनाउन चाहने खतिवडाले छोरालाई वकिल बनाउनु नाजायज होइन । तर अपूर्वको ल फर्ममा पनि बाबु ईश्वरसँगको सम्बन्धकै कारण मुद्दाको चाप बढेको निकटवर्तीहरूले देखेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश मात्र होइन, उच्च र जिल्ला अदालतमा पनि यस्ताखाले समस्या देखापरेका छन् । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठका पति भीमसेन बञ्जरा वकालत गर्ने गर्छन् । आफूले सरकारी सुविधामा पाएको गाडीमै पतिदेवलाई बिहान ल फर्ममा छोड्ने र बेलुका लिन जाने गरेपछि भीमसेनको ल फर्ममा पनि ग्राहक ह्वात्तै बढेको छ । काठमाडौं जिल्ला अदालतमा परेका मुद्दामा बञ्जरालाई वकिल राखियो भने जित्ने सम्भावना अधिक रहने सन्देश बिस्तारै फैलिन थालेको छ । त्यस्तै भक्तपुर जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलका पति छवि निरौलाको ल फर्ममा पनि मुद्दाको चाप अचानक बढेको छ । छविलाई मुद्दा दिएपछि हारिँदैन भन्ने विश्वास भक्तपुरबासीबीच फैलँदै गएको छ । न्यायाधीशको पतिलाई मुद्दा नदिएर अन्य वकिल या ल फर्मलाई दिँदा मुद्दा हार्न सक्ने ठानेर उक्त जिल्लाका बासिन्दाहरू छविकै ल फर्ममा झुम्मिने गरेका छन् ।

सर्वोच्च अदालतमा केदारप्रसाद गिरी प्रधानन्यायाधीश रहँदा उनका छोरा सन्तोष गिरीद्वारा सञ्चालित ल फर्ममा मुद्दाको चाप हज्जारौँ गुणाले बढेको थियो । जगदीश शर्मा सर्वोच्चका न्यायाधीश हुँदा पनि उनका पुत्र सुभाष पौडेलद्वारा सञ्चालित ल फर्म निकै चलेको थियो । पौडेल यतिबेला उच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा छन् । हाल का.मू. प्रधानन्यायाधीश रहेका दीपक कार्कीका विषयमा अनेक टीका-टिप्पणी हुने गरेका भए पनि आफ्ना दुवै भाञ्जीज्वाइँहरूलाई उच्चको न्यायाधीश बनाउन प्राप्त गरेको सफलताको बारम्बार चर्चा हुने गरेको छ । दीपकका भाञ्जीज्वाइँ उज्वल शुक्ल वकील थिए र, चण्डेश्वर श्रेष्ठको ल फर्ममा रहेर प्राक्टिस गर्ने गर्थे । अर्का भाञ्जीज्वाइँ डालकुमार खड्का पनि कानून व्यवशाय नै गरिरहेका थिए । दुवै भाञ्जीज्वाइँहरू यतिबेला उच्च अदालतका न्यायाधीश छन् ।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठले पनि आफ्नी वकील सालीलाई उच्च अदालतको न्यायाधीश बनाइदिएका छन् । विश्वम्भरसँगको नाताका कारण उनलाई न्यायाधीश बनाइनुभन्दाअघि साली मेरिना श्रेष्ठको ल फर्म पनि निकै चम्किएको थियो । माओवादी कोटाबाट न्यायपरिषद् सदस्य बनाइएका पदम वैदिक आफू सर्वोच्च अदालतको न्यायाधीश बन्नबाट बञ्चित रहे पनि उनी आफ्ना साढुभाइ मदन पोखरेललाई उच्च अदालतको न्यायाधीश बनाउन सफल भएका थिए । वैजनाथ उपाध्यायले सर्वोच्चको न्यायाधीशबाट अवकाश पाएपछि राष्ट्रिय न्यायीक प्रतिष्ठानको कार्यकारी प्रमुख बन्ने मौका पाएका छन् । उनले आफूसँगै आफ्नो भाञ्जीबुहारी श्रीधरा कुमारी पुडासैनीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गराएका थिए । पुडासैनी यतिबेला पोखरास्थित उच्च अदालतमा कार्यरत छिन् ।

यी केही दृष्टान्त मात्र हुन्, न्यायालयभित्र नातावाद र कृपावाद जस्तो गैह्रन्यायीक क्रियाकलाप नराम्रोसँग फैलिएको छ । त्यस्तै, परिवारका कुनै सदस्य न्यायाधीश बनेपछि सम्वद्ध व्यक्तिका पति, पत्नी या अन्य नातेदारका ल फर्म रातारात ‘चम्किने’ गरेका छन् । तर यस प्रकारको विकृति अन्त्यका निम्ति न्यायालय, सरकार र संसद्ले अहिलेसम्म कुनै प्रकारको कदम चालेको छैन ।

(घटना र विचार साप्ताहिक, ७ वैशाख २०७९)