नमागेको रकम बेरुजु आएपछि जनप्रतिनिधिलाई तनाव

नमागेको रकम बेरुजु आएपछि जनप्रतिनिधिलाई तनाव


समयमा पैसा फिर्ता गर्न नसकेका कारण धेरै महिला वडासदस्यहरूले आगामी चुनावमा उठ्न नपाउने सम्भावना एकातिर छ भने अर्कोतिर ऋण लिएर तिरेकाहरूले तुरुन्तै ऋण तिर्न सक्ने अवस्था नभएकोले कतिपय महिला जनप्रतिनिधिका घर-परिवारमा समस्या आएको छ ।

२०७८ साल चैत्र २९ गते मंगलबार काठमाडौं महानगरपालिकाले आफ्नो नाममा पठाएको पत्र पढेर काठमाडौं महानगरपालिकाका सदस्यहरू छक्क परे । मलाई मात्रै हो कि सबैलाई हो ? एकार्कामा सोधीखोजी गर्दा थाहा भयो पत्र सबैलाई पठाइएको रहेछ । ‘बेरुजु रकम दाखिला सम्बन्धमा’ शीर्षक दिइएको उक्त पत्रमा लेखिएको थियो- महानगरपालिकाको लेखापरीक्षण गराउने सिलसिलामा कानूनहरूले औंल्याएका कुराहरूमा कुनै पदाधिकारी वा जनप्रतिनिधिहरूको यो आर्थिक वर्ष भएका कारोबारहरूको रकम फछ्र्यौटका लागि यो खाता नम्बरमा दाखिला गरिदिनु होला ।’ पत्रमा प्रचलित कानूनबमोजिम सम्परीक्षण हुन नसकेको रकम फछ्र्यौटमा सहयोग पुऱ्याइदिनका लागि आग्रह गरिएको थियो ।

पत्र पाएपछि विवरण हेर्नुअघि धेरैको मनमा एउटै प्रश्न उब्जियो, बेरुजु आउने गरी मैले त्यस्तो रकम कहिले लिएँ ? किन लिएँ ? आफूले लिएको सामानको विवरणमा पोशाक, सञ्चार, पारवहन, बैठक भत्ता, मासिक सुविधा र वडा बैठक भत्ता लेखिएको थियो । तीमध्ये पोशाकका लागि लिइएको १२ हजार, पारवहनका लागि ७ हजार, मासिक सुविधा ३० हजार, बैठक पारवहन ९ हजार ५ सय, वडा बैठक भत्ता २४ हजार गरी १ लाख ६५ हजारसम्मको बेरुजु देखाइएको थियो । यी शीर्षकमध्ये पोशाकका लागि भनेर नगरसभाले रकम पास गर्दा धेरैजसो जनप्रतिनिधिले ‘हामीलाई लुगाको लागि पैसा चाहिँदैन, किन राखेको’ भनी प्रश्न उठाएका थिए । तर आवश्यक छैन भन्दाभन्दै पनि पास गरिएको रकम अहिले दुई वर्षको एकमुष्ट राखेर एक हप्ताभित्र देउ भनी पत्र लेख्दा धेरै जनप्रतिनिधिहरू अप्ठ्यारोमा परेका छन् । साथै नगरसभाले पास गरेर दिएको रकम कसरी बेरुजुमा आयो भन्ने प्रश्न पनि उनीहरूले गरेका छन् ।

नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य सबैले मासिक रकम तलबकै रूपमा लिँदै आएका छन् । काठमाडौंका मेयरले ४४ हजार, उपमेयरले ४१ हजार, वडाध्यक्षहरूले ३१ हजार र सदस्यहरूले ११ हजार ५ सय रुपैयाँ लिँदै आएका थिए । अहिले सदस्यहरूको बैठक भत्तादेखि मासिक सुविधासम्मको रकम बेरुजुमा निकालिएको छ । आफूले नमागी नगरपालिकाले आफ्नो नाममा हालिदिएको पैसा अहिले बेरुजु आयो भनेर पत्र मात्र काटिएको छैन, यही वैशाख ५ गतेभित्र अनिवार्य तवरले बुझाउनका लागि एसएमएसबाट ताकेतासमेत गरिएको छ । एसएमएसमा लेखिएको छ- ‘तपाईंको नाममा रहेको बेरुजु रकमको पत्र प्राप्त गर्नुभएकै छ, प्राप्त गर्न बाँकी भएमा आलेप तथा बेरुजु सम्परीक्षण एकाइमा सम्पर्क गरी पत्र लिनुहुन अनुरोध छ । वैशाख ५ गतेभित्र बैंकमा रकम दाखिला गरी भौचर बुझाउनुहोला ।’

पत्र र एसएमएसका कारण विशेषगरी महिला जनप्रतिनिधिहरू निकै सकसमा परेका छन् । तिरौँ साथमा पैसा छैन, नतिरौँ बेरुजु आएपछि चुनावमा उठ्न पाइँदैन । एकैपल्ट लाखभन्दा माथिको रकम जुटाउन नसक्दा कतिपय जनप्रनिधिहरूको राजनीतिक करियर नै समाप्त हुने अवस्था देखिएको छ । महिला, दलित र पछाडि पारिएको वर्गका जनप्रतिनिधिहरूमध्ये धेरैसँग एकैपल्ट एक लाख रकम जुटाउने हैसियत छैन । घटना र विचारसँग कुरा गर्दै एक महिला वडा सदस्यले भनिन्, मैले नगरसभाले पोशाकको रकम पास गर्दै गर्दा हामी एक जोर लुगा लाउन सक्ने अवस्थामा छौँ, हामीलाई लुगा किन्न पैसा दिनु पर्दैन भनेको थिएँ, तर पास गरेर सबैलाई वर्षको १२ हजार रकम बैंकमा पठाइयो, हामीले खर्च गऱ्यौँ, अहिले एकै पल्ट दुई वर्षको पोशाकको रकम जोडेर बेरुजु देखाइएको छ । मैले एकैपल्ट एक लाखभन्दा बढी पैसा कहाँबाट ल्याउने ?

समयमा पैसा फिर्ता गर्न नसकेका कारण धेरै महिला वडासदस्यहरूले आगामी चुनावमा उठ्न नपाउने सम्भावना एकातिर छ भने अर्कोतिर ऋण लिएर तिरेकाहरूले तुरुन्तै ऋण तिर्न सक्ने अवस्था छैन । यही कारणले कतिपय महिला जनप्रतिनिधिका घर-परिवारमा समस्या आएको पनि एक सदस्यले बताइन् । उनले भनिन्, त्यसै त हामीलाई राजनीति गर्न गाह्रो थियो अब त झन् ऋण लिएर राजनीति गर्नु पर्दैन भन्ने थप दबाब हुने भयो ।