कार्यकर्तालाई पेलेरै चुनावी गठबन्धन : नेताहरूको तृष्णा पार्टीको सकस !

कार्यकर्तालाई पेलेरै चुनावी गठबन्धन : नेताहरूको तृष्णा पार्टीको सकस !


देउवा र प्रचण्डको चिन्ता स्थानीय भन्दा पनि संसदीय निर्वाचनको छ र, अहिले राम्रोसँग चुनावी तालमेल हुन सक्यो भने संसदीय निर्वाचनमा त्यसको लाभ लिन सकिने विश्वासमा प्रचण्ड र देउवा रहेका छन् । त्यसैले कार्यकर्ता पङ्क्तिबाट जतिसुकै विरोध भए पनि उनीहरू तालमेल गरिछाड्न कस्सिएका हुन् ।

सत्ता गठबन्धनका दलहरू नेकपा एमालेलाई पूरै बढार्ने उद्देश्यका साथ चुनावी तालमेलको अन्तिम कसरतमा छन् । गाउँपालिका र नगरहरूमा त्यहाँको वस्तुस्थिति हेरी जिल्ला या प्रदेश तहबाटै तालमेल तथा उम्मेदवारसम्बन्धी टुङ्गो लगाउने सहमति बनेको भए पनि महानगर तथा उपमहानगरसम्बन्धी निर्णय भने सर्वोच्च तहबाट नै गरिँदैछ । सत्ता गठबन्धनका दलहरूबीचको निरन्तर बैठक र छलफलपश्चात देशको ६ वटा महानगरहरूमध्ये तीन काङ्ग्रेसले तथा एक-एक वटा जसपा, माओवादी र समाजवादीले पाउने सहमति बनेको थियो । सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर काङ्ग्रेसले, वीरगञ्ज जसपाले, भरतपुर माओवादीले र पोखरा समाजवादीले पाउनुपर्ने भन्ने थियो । तर पोखरामा समाजवादीको उम्मेदवारलाई विजयी गराउन नसकिने दाबी रामचन्द्र पौडेलले गरेपछि सोमबार गठबन्धन बैठक निकै तनावग्रस्त बनेको थियो । पोखराबाहेक अन्य महानगरमा समाजवादीले दाबी गर्न पाउने अवस्था नरहेको र, त्यही एउटा महानगरसमेत आफूले नपाउने स्थिति बनाउन खोजिएपछि समाजवादीका नेता बैठकमा निकै कड्किएका थिए । पोखरा महानगर सम्बन्धमा टुङ्गो लागेको भए गत सोमबार नै महानगर भागबण्डाको अन्तिम निर्णय सार्वजनिक भइसक्ने थियो ।

सत्ता गठबन्धनभित्रै तीन दलको विशेष गठबन्धन बनाउन प्रचण्डले गरेको प्रयास माधव नेपालका कारण सफल हुन सकिरहेको छैन । काङ्ग्रेसलाई छोडेर कसैसँग बेग्लै गठबन्धन बनाउने पक्षमा माधव नेपाल छैनन् । प्रचण्डबाट बारम्बार आग्रह हुँदा पनि सत्ता गठबन्धनभित्र बेग्लै गठबन्धन बनाउन माधव नेपाल नमानेपछि माओवादी र जसपा आपसमा मिलेर अगाडि जाने तयारीमा छन् । सत्तापक्षका सबैसँग चुनावी तालमेल हुन नसकेका ठाउँहरूमा पनि जसपा र माओवादी चुनावी मैदानमा एकसाथ उत्रने भएका छन् । ज्ञातव्य छ, जसपाका प्रमुख नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई माओवादीको हिंसात्मक सङ्घर्षका नाइके हुन् । पछिल्लो समयमा प्रचण्डसँग उनीहरू निकै नै निकट हुन पुगेका छन् ।

सत्तापक्षीय गठबन्धनका दलहरू एमाले र त्यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सेखी झार्ने नियतका साथ चुनावी तोलमेल गर्न अग्रसर बनेका भए पनि प्रचण्ड र शेरबहादुर देउवाको अतिरिक्त इच्छा नै चुनावी तालमेल गर्नुको मूख्य कारण भएको महसूस सम्बद्ध दलका नेताहरूले गर्न थालेका छन् । प्रचण्ड चितवन क्षेत्र नं. ३ बाट पुनः निर्वाचित भइ आउन काङ्ग्रेसको साथ चाहन्छन् र, त्यसनिम्ति भरतपुर महानगर आफ्नी छोरी रेणुका निम्ति सूरक्षित राख्नुपर्ने बाध्यतामा प्रचण्ड छन् । भरतपुर महानगर आफ्नो हातबाट गयो भने संसदीय निर्वाचनमा आफू विजयी बन्न नसक्ने बुझाइ प्रचण्डको छ । त्यस्तै, कैलालीबाट आफ्नी श्रीमती आरजु र डडेलधुराबाट आफैं विजयी बन्न पनि कम्युनिष्टको साथ आवश्यक पर्ने ठहर शेरबहादुर देउवाको छ । डडेलधुरामा एक्लै लडेर विजयी बन्न सक्ने स्थितिमा देउवा अहिले छैनन् । उनकी पत्नी आरजुलाई संसद्मा भित्र्याउन पनि कम्युनिष्टकै साथ रहनुपर्ने अवस्था छ । त्यसैले प्रचण्डलाई भरतपुर महानगर तथा माधव नेपाललाई पोखरा महानगर छोडेर देउवाले उनीहरूलाई खुशी तुल्याउन खोजेका हुन् ।

देउवा र प्रचण्डको चिन्ता स्थानीय भन्दा पनि संसदीय निर्वाचनको छ र, अहिले राम्रोसँग चुनावी तालमेल हुन सक्यो भने संसदीय निर्वाचनमा त्यसको लाभ लिन सकिने विश्वासमा प्रचण्ड र देउवा रहेका छन् । त्यसैले कार्यकर्ता पङ्क्तिबाट जतिसुकै विरोध भए पनि उनीहरू तालमेल गरिछाड्न कस्सिएका हुन् । त्यसो त रामचन्द्र पौडेल र माधव नेपालका पनि बेग्लै पीडा छन् । पौडेल र नेपाल चुनावी तालमेल नहुने हो भने आगामी संसदीय निर्वाचन परिणामले उनीहरूलाई संसद्बाहिर पारिदिने निश्चित छ । रामचन्द्र पौडेल गत निर्वाचनमा पनि पराजित भएका थिए र, आउँदो निर्वाचनमा गठबन्धन कायम रहे पनि पौडेलको विजय असम्भव मानिन्छ ।