जसपाले नेपालगन्ज पनि खोजेपछि बल्झियो विवाद, गठबन्धनको बैठक बस्दै

जसपाले नेपालगन्ज पनि खोजेपछि बल्झियो विवाद, गठबन्धनको बैठक बस्दै


आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिब-करिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ ।

मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो ।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो ।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबी प्रस्तुत गरेको हो ।

११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक/एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खोजेको छ ।

६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक/एक मेयर पाउने गरी सहमति जुटिसकेको बताइएको छ ।