शर्मिला र लक्ष्मीको नाम लिँदै कलाकर्मीको प्रश्न- ‘यिनले केका लागि कसरी हात पारे अवार्ड ?

शर्मिला र लक्ष्मीको नाम लिँदै कलाकर्मीको प्रश्न- ‘यिनले केका लागि कसरी हात पारे अवार्ड ?


  • राजन घिमिरे

चलचित्र क्षेत्रको विकास र बिस्तार अनि चलचित्रकर्मीहरूको प्रोत्साहनका लागि विशेष भूमिका खेल्ने संस्था हो चलचित्र विकास बोर्ड । यो संस्थाप्रति लामो समयदेखि चलचित्रकर्मीहरूको आस्था र विश्वास जोडिएको छ । तर, पछिल्लो समय भने यो संस्था आफ्नो उद्देश्यबाट चुकेको हो कि भन्ने कोणबाट चलचित्रकर्मीले सोच्न थालेका छन् । चलचित्रकर्मीहरूलाई बाहिर पारेर गैरचलचित्रकर्मीहरू बोर्डमा हाबी हुनु र यस्तै प्रवृत्तिलाई बढावा दिने गतिविधि गर्नुले पनि बोर्डप्रति चलचित्रकर्मीहरूको विश्वास घट्न थालेको हो ।

राष्ट्रपति कार्यालयमा बोर्डले आयोजना गरेको चलचित्र सम्मान तथा अवार्ड कार्यक्रममा देखिएको बिझाउने सन्दर्भले यस्तै महसूस गराएको छ ।

राष्ट्रपति कार्यालयमा आइतबार वितरण गरिएको अवार्ड तथा सम्मान कार्यक्रम निकै भब्य र सभ्य थियो । सबै सम्मान र अवार्डमा चलचित्रकर्मीहरूले प्रश्न उठाएका पनि छैनन्, तर शर्मिला पाण्डे र लक्ष्मी आचार्यलाई प्रदान गरिएको अवार्ड र सम्मानमाथि व्यक्ति तोकेरै प्रश्न उठाइएको छ ।

चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै जब सम्मान तथा एवार्ड थाप्न शर्मिला पाण्डेलाई स्टेजमा बोलाइयो, तब उपस्थित चलचित्रकर्मीहरू तीन छक्क परे ! चलचित्रकर्मीहरूबीच गाइँगुईं चल्न थाल्यो– ‘मुस्किलले दुई वटा चलचित्र बनाएको अनि चलचित्र विधामा लागेको पाँच वर्ष पनि भएको छैन, अनि हस्तीहरूलाई पछि पारेर यिनले कसरी हात पारे विशेष सम्मान ?’ गुनासोमिश्रित लवजमा चलचित्रकर्मी भन्दै थिए– ‘पाण्डेको न चलचित्र क्षेत्रमा खास योगदान छ न त निरन्तरता नै । कसरी पाइन् शर्मिलाले अवार्ड ?’

चलचित्र निर्माणको सङ्ख्याको हिसाबले त शर्मिलाको भन्दा छवि ओझा, युवराज लामा, शोभित बस्नेत, रेखा थापा, झरना थापा, पुनम गौतम, प्रज्ञा जोशी र सविता गुरूङलगायतले निकै बढी योगदान गरेका छन् । लामो समयदेखि काम गरी महत्वपूर्ण योगदान दिएकालाई प्रदान गरिनुपर्ने अवार्ड र सम्मान बोर्डले शर्मिला जस्ता नयाँलाई दिन थाल्यो भने यो क्षेत्रमा समर्पण गरेर कपाल फुलाउनेहरूको मनमा कस्तो बज्रपात पर्ला ? यो कुरा बोर्डले सोच्नुपर्ने थियो ? यदि शर्मिलालाई महिला–निर्माताको रूपमा पुरस्कृत गरिएको हो भने उनीभन्दा पहिले सम्झनुपर्ने नाम त रेखा थापा, झरना थापा, प्रज्ञा जोशी, पूनम गौतम, सविता गुरूङलगायत थिए नि ! कि यस्ता दिग्गज नाम चिनेकै छैन बोर्डले ?

शर्मिला पाण्डे जस्तै कलाकार्मीहरूले चित्त नबुझाएको अर्को पुरस्कृत पात्रको नाम हो लक्ष्मी आचार्य । यिनलाई गायिका भनेर सम्मान गरिएको रहेछ । यिनको नाम उच्चारण हुनासाथ हलमा सबै चलचित्रकर्मी आपसमा अनुहार हेराहेर गर्न थाले । ‘हामीले नै नचिनेको कुन् गायिका हुन् यिनी ? नेपाली चलचित्रमा बोर्डले मात्रै चिनेको यस्ता गायिका रातारात कसरी अवार्ड र सम्मान थाप्ने हैसियत बनाउँछन् ?’ चलचित्रकर्मीहरू ब्यङ्ग्य गर्दै थिए ।

लक्ष्मीले कुन चलचित्रमा कतिवटा गीत गाएकी छिन् ? वास्तवमा बोर्ड र चलचित्रकर्मीहरूलाई नै थाहा छैन, तर उनले नै चलचित्र विकास बोर्डले दिने पार्श्वगायनको पुरस्कार हात पारिन् । चलचित्रमा बढी सुनिने अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारीलगायतका गायिकाहरूलाई निराश बनाएर काम र नाम नै नसुनिएकालाई सम्मान गर्न बोर्डलाई त्यस्तो के बाध्यता आइ पऱ्यो ? कुरा बुझिसक्नु छैन ।