एनआरएनए बैठक अप्रिल अन्तिम साता

एनआरएनए बैठक अप्रिल अन्तिम साता


गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४औँ बैठक अप्रिल ३० तारिख भर्चुअल माध्यमबाट बस्न लागेको हो ।

संघको १०औँ महाधिवेशनपछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिएको छ ।

‘साथीहरुले चाहेका आ-आफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाइहरु राख्न पाइदैन भनेर गुनासो गर्नुभएको छ । यसपटक सबैलाई अवसर दिने योजना छ’, जोशीको भनाइ छ ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कायौन्वयन लगायतका विषयमा आ-आफ्ना भनाइ राख्ने तयारी गरेका छन् ।