जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, छोराको ज्यान गयो

जीप दुर्घटनामा कांग्रेस बझाङ सभापति घाइते, छोराको ज्यान गयो


जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका छोरा विनोद बोहराको ज्यान गएको छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।

गयराति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।