यौनिकतामाथिको प्रश्न सँधै बहसको विषय !

यौनिकतामाथिको प्रश्न सँधै बहसको विषय !


  • रसना ढकाल

‘होइन यो कस्तो प्रश्न हो ??’
चर्चामा रहेको प्रश्न- ‘तपाईं भर्जिन हो ?’ एक चर्चित पत्रकारले मोडललाई प्रश्न गरे । उनी भर्जिन हो वा होइन यो जनताले जान्न चाहेको छैन । यदि कोही वर्गलाई यो चासोको विषय बन्छ भने आफ्नो ठाउँमा होला तर आमसञ्चारको प्रयोग गर्दै यौनिकतामाथि प्रश्न उठाउने अधिकार एक जिम्मेवार पत्रकारलाई किमार्थ छैन र, पत्रकारिताको ‘इथिक्स’ले पनि यो कुरा बोल्दैन । उनै पत्रकारले यस्तै प्रश्न गरेका थिए एक चर्चित नायिकालाई । आफ्नो ठाउँबाट जवाफ दिइन् ती नायिकाले । प्रश्नको विषयलाई लिएर खुबै चर्चा भयो । समाजिक सञ्जालमा प्रयोगकर्ताहरू तात्तिए । सबैले आ-आफ्नो दमदार तर्क दिए । आखिर के भयो त ?! ती पत्रकारले यौनिकतामाथि प्रश्न गरेकोगऱ्यै छन्, एकपछि अर्को घटना भइरहेको छ । उनको प्रश्नको कारण नेपाली पत्रकारिता क्षेत्रको मर्यादामाथि नै प्रश्न उठेको छ । कोही बोल्न सक्दैनन् ! बोले पनि ब्यर्थ सावित भइरहेको छ !!

यस्ता खालका प्रश्न आमसञ्चारको मात्रै होइनरहेछ, साथीभाइ भेटघाट हुँदा गरिने विषय पनि रहेछ । कामविशेषले एक दिन पत्रकार र अधिकारकर्मीहरूको समुहमा जाने अवसर जुरेको थियो । दुर्भाग्य ! त्यहाँ पनि उक्त समुह व्यक्तिको यौनिकतामाथि बहस गरिरहेका थिए । ए फलानो पत्रकार त यस्तो हो नि मलाई अरुले भनेको ! त्यो पुरुषको कारणले गर्दा उ त्यति माथि पुगेको नत्र भने कहाँ उसको हैसियत थियो र ?! आफूलाई अधिकारकर्मी भन्न रुचाउने ती अधवैँशे महिलाको पनि यो चासोको विषय रहेछ । ती अधिकारकर्मीले पनि कुरा थप्दै गइन् । साथमा बसेका पकेटका पत्रकारले ‘ए हो र !?’ भन्दै कुरा सुन्दै गए । कोही पत्रकारले हिम्मत गरेर भन्न सकेनन् कि तपाईं चुप लाग्नुस्, अनावश्यक कुरा नगर्नुस् !!

यस्ता बहसमा पत्रकारले त बोले-बोले तर ती अधिकारकर्मी जो समाज परिवर्तनको मुद्दा उठाएर पैरवी गर्दै हिँड्छिन्, उनलाई समेत चासोको विषय भनेपछि उनको समाज परिवर्तनको यात्रा कस्तो होला ? सहजै मूल्याङ्कन गर्न सक्छौँ । जो व्यक्ति आफू परिवर्तन हुन सकेको छैन त्यो व्यक्तिले अरुलाई परिवर्तन कसरी गर्छ ? अरुलाई होच्याउने, गाली गर्ने, अरुको क्षमतामाथि प्रश्न उठाउने यस्ता व्यक्ति समाज परिवर्तनको ढोँग बोकेर हिँड्नु समय खेर फाल्नुबाहेक केही होइन ।

प्रायः यस्ता अनौपचारिक भेटघाटमा धेरैजसो महिलाको यौनिकताबारे चाखलाग्दो पाराले बहस गरिन्छ । दिनभर कामको थकाइ मार्न जाने रेष्टुरेण्ट होस् वा कुनै खुला स्थान व्यक्तिले आफ्नो कामको विषयमा कुरा गर्दैन केवल अरुको चरित्रमाथि बहस गरिरहन्छ । यस्ता बहस पुरुषहरूको जमघटमा पनि गरिन्छ । चिया र ‘चिसो चिया’मा बहस हुने विषय नै कसैको यौनिकतालाई लिएर हो । यति मात्र नभइ गाईजात्राजस्तो पवित्र चाडमा पनि महिलाको शरीरका खास अङ्ग देखाएर प्रदर्शन गरियो । यसको धेरै विरोध भयो । त्यसपछि हटाइयो । प्रसारण र प्रकाशन गरिएको सञ्चारबाट त्यस सामाग्रीलाई हटाइए पनि व्यक्तिको दिमागबाट यौनिकतामाथिको मजाक हट्न सकेको छैन । यही नै मुख्य चुनौती हो ।

परिवर्तनको नारा र कुरा केवल नाम कमाउनको लागि मात्रै भइरहेको छ । बन्द कोठाभित्र गरिने कुराकानी र सार्वजनिक स्थानमा गरिने कुराकानीमा धेरै फरक पर्छ । सार्वजनिक स्थानमा कसैको चरित्रलाई लिएर बहस गर्नु गम्भीर आपत्तिको विषय हो । चरित्रमाथिको बहस गम्भीर कुरा हो । चरित्रको मापन समाजको हातमा कसले दियो ? छोराछोरीलाई समान देख्न नचाहने व्यक्ति सधैं छोरीको काँधमा जिम्मेवार र चरित्रको भारी बोकाएर त्रासपूर्ण जीवन बनाइदिन्छ । सोच परिवर्तन गाह्रो कुरा हो !

प्रसङ्ग थोरै बदलौँ…
धेरै वर्षपछि एक दिन मिल्ने साथीसँग भेट भयो । हालखबर सोध्दै जाँदा उनले आफ्नो ८ महिनाको नानीलाइ दुध ख्वाउन अफिसबाट एक घण्टाको बिदा माग्दा कार्यालय प्रशासनले बिदा नदिएर उल्टै ‘यो पाराले काम चल्दैन है’ भन्दै हापारेको र त्यही निहुँमा जागिर छोडेको बताइन् । पछि बुझ्दै जाँदा सोही कार्यालयले कामकाजी महिलाहरूको कार्यस्थलमा बेबी केयर हुनुपर्छ भन्दै पैरवी गर्दोरहेछ । त्यस्तै, एक दिन पङ्क्तिकार आफ्नो कार्यालयमा बसिरहेको थिए एक महिलाको फोन आयो । एकदम आत्तिएको बोलीको लवज थियो । के-कसो छ ? भन्ने प्रश्न नगरी सिधै ‘दिदी.. कसरी दुब्लाउने होला ? लौन सुझाव पाउँ..’ भन्न लागिन् । जवाफमा ‘म चिकित्सक होइन, बरु एक अनुभवी चिकित्सकको सल्लाह लेउ’ भन्ने सुझाव दिएँ । उनलाई दुब्लाउन मन लागेको रहेछ । हुन त शरीरको तौल नियन्त्रणमा राख्नु स्वस्थताको प्रतीक हो भन्ने मान्यता छ र गर्नु पनि पर्छ, तर शरीर मोटाएपछि दुब्लो गराउन गाह्रो हुन्छ । उनलाई उनका चिनजानका व्यक्तिहरूले मोटो र धेरै खाने भन्दै जिस्काउने होच्याउने गर्दा रहेछन् । सभा-समारोहमा पनि तिमी त धेरै खाने भन्दै अरु साथीहरूको अघिल्तिर गिज्जयाउने/हाँस्ने गर्दारहेछन् । साथीहरूको त्यो भद्दा मजाकको कारणले गर्दा उनी डिप्रेसनमा पुगेको र उपाय केही नलागेर धेरै दिन भोकभोकै बसेको सुनाइन् । पातलो हुने चक्करमा खाना नै नखाइ बस्ने उपाय गलत हो । मोटा व्यक्तिलाई ‘खानामा नियन्त्रण गर’ भनेर सुझाव दिनु राम्रो हो तर होच्चाउने÷जिस्काउने प्रवृत्ति एकदम गलत र अपमानजनक हो । कसैको शरीरको बनावटलाई लिएर होच्याउने जिस्काउने र मजाकको पात्र बनाउने प्रवृत्ति त परपीडिक व्यक्तिको गलत क्रियाकलाप हो । राम्रो व्यक्तिले सुझाव दिन्छ, गलत व्यक्तिले होच्याउँछ । यस्तो प्रवृत्तिले पनि व्यक्तिलाई मानसिक असर गर्छ । उ भन्न नसक्ला तर कसैको सिधापनको फाइदा लिने अधिकार कसैलाई पनि छैन । यो विषय सामान्य जस्तो लाग्छ तर अति असामान्य विषय हो । सार्वजनिक स्थानमा कसैको शरीरलाई लिएर मजाक गर्नु कदापि उचित होइन ।

टिभी पत्रकार तथा प्रस्तोता आरती चटौतले सामाजिक सञ्जालको वालमा लेख्नुभएको थियो- ‘विश्वचर्चित अस्कर अवार्ड समारोहमा अभिनेता क्रिसले एक महिलाको कपाललाई मजाकको विषय बनाएर उद्घोषण गरे, त्यो विषयलाई लिएर अस्करविजेता अभिनेता स्मीथले अभिनेता क्रिस रकलाई मञ्चमै गएर थप्पड हाने । मजाक उडाइएकी महिला स्मीथकी श्रीमती थिइन् र, उनको कपाल एक रोगविशेषले फरक भएको थियो । स्मरण रहोस्, कसैको पनि शारीरिक अवस्था, आकार, रंग वा अन्य कुनै पनि सन्दर्भमा मजाक बनाइनुलाई Body Shaming भनिन्छ र, यो दण्डनीय अपराध मानिन्छ । तथापि हामीकहाँ दैनिक जीवनदेखि सञ्चारमाध्यममा समेत, विशेषगरी महिलालाई त्यस्तै विभिन्न नाम दिएर शरीरको मजाक उडाइन्छ । अझ अपाङ्गता जस्तो संवेदनशील विषयलाई माध्यम बनाइ हँसाउने असफल कोशिस गरिन्छ । अबदेखि कसैको शरीरलाई लिएर मजाक गर्नुअघि दुई पल्ट सोच्नुहोला !!’

युवाहरूको एक जमात माइतीघरको छेउमा थियो । ती सबै चुरोट सेवन गरिरहेका थिए । त्यो जमातमा एक युवती पनि थिइन्, उनले पनि चुरोट सेवन गर्दै थिइन् । तर बाटोमा हिँड्ने बटुवाहरूको दृष्टि युवाहरूले सेवन गरेको चुरोटप्रति गएन तर ती युवतीले सेवन गरेकोप्रति भने गहिरोसँग नजर गइरहेको थियो । ‘छिः कस्ती काम नलाग्ने केटी’ भन्दै दुत्कारिरहेका थिए । पुरुषले चुरोट सेवन गर्नु समान्य मान्ने समाजले महिलाले सेवन गर्दा उनको चरित्रमाथि नै औंला उठाउँछ । हुन त चुरोट सेवन कसैको लागि पनि राम्रो होइन, स्वास्थ्यलाई असर पार्ने विषालु पदार्थ हो । तर मान्छेको हेर्ने नजरले महिलाको यौनिकतालाई केन्द्रविन्दुमा राखेर व्याख्या गऱ्यो । तर सबैले बुझ्नैपर्ने कुरा के हो भने चुरोटको सम्बन्ध स्वास्थ्यसँग हुन्छ चरित्रसँग होइन । यहाँ महिला र पुरुष दुवैले स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ । समाजले व्यक्तिको पहिरनको लम्बाइको आधारमा चरित्रलाई मापन गर्छ ।

बडा गजबको सोचको छ महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूप्रति । यो समाजले लिङ्गलाइ स्वीकार गऱ्यो तर अस्तित्वलाई स्वीकार गर्न सकेको छैन । अस्तित्वलाई स्वीकार जबसम्म गरिँदैन तबसम्म यौनिकतामाथि प्रश्न आइरहन्छ । अस्तित्वलाई यौनिकतासँग दाँजेर हेरियो । अझै पनि घरका सदस्य परिवारको कुरा सुन्दैनन् समाजको कुरा सुन्छन् ।

आजको लडाइँ भनेकै सोच परिवर्तनको लडाइँ हो । वर्षौंदेखि गढेको कुरुप मानसिकताको लडाइँ हो । यस्ता मानसिकताले महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई नै हानी गर्छ । घटना भएको आधारमा व्यक्तिले लिङ्गलाई दोष दिन्छ । तर यहाँ पुरातन सोच र मूल्य-मान्यता नै हाबी भएर विपरीत लिङ्गीहरूप्रति हिंसा भइरहेको छ । त्यसैले यहाँ लिङ्ग परिवर्तन होइन सोच परिवर्तन गर्नु छ । यसको लागि सबै आ-आफ्नो क्षेत्रबाट सहकार्य गर्न आवश्यक छ ।