चौतर्फी आक्रमणमा किन पर्‍यो ‘ए मेरो हजूर–४’ ?

चौतर्फी आक्रमणमा किन पर्‍यो ‘ए मेरो हजूर–४’ ?


पूर्वाग्रही सरकारी नीति !

  • राजन घिमिरे

नेपाली समाजमा एउटा भनाइ छ, ‘चोरले पनि आफ्नो छिमेकको दुई-चार वटा घर छोडेर चोर्छ ।’ भनाइको तात्पर्य चोरमा पनि यति नैतिकता हुन्छ र, आफ्नो छिमेक वा छिमेकीको कुभलो चिताउँंदैन । तर, नेपाली चलचित्र क्षेत्र र यस विधामा लागेका कतिपयमा चोरको जति पनि नैतिकता देखिएन । नेपाली चलचित्रलाई ध्वस्त बनाएर विदेशी सिनेमाको बखान गर्ने मात्र नभइ विदेशी सिनेमा करोडौँमा किनेर ल्याइ नेपाली सिनेमा रिलिजकै दिन जुधाएर फ्लप तुल्याउँदै नेपाली सिनेमाको हुर्मत लिन खोज्ने हिन्दी चलचित्रका वितरकहरूमा कस्तो नैतिकता रह्यो त ?

विदेशी सिनेमा भित्र्याएर नेपाली सिनेमासँग जुधाउंन र नेपाली लगानीकर्ता एवम् सिनेकर्मीलाई गिराउँदा गौरव महसूस गर्ने हिन्दी चलचित्रका वितरकहरूका कारण यतिबेला सुस्ताएको नेपाली सिनेमाको बजारलाई उकास्ने/उठाउंने विश्वास गरिएको चलचित्र ‘ए मेरो हजुर–४’ मारमा परेको छ । यो चलचित्र रिलिजका लागि तोकिएको तिथि बैशाख १ कै दिन नेपाली सिनेमाकै वितरकबाट चिनिँदै स्थापित भएका व्यक्तिहरूले पुरानो रिस साँधेर ‘ए मेरो हजूर–४’ लाई व्यवसायिक हिसाबबाट सिध्याउने दुवर्नयतका साथ लागिपरेको देखिएको छ ।

त्यसो त जसले हिन्दी चलचित्रको वितरण गरेको छ, त्यो समूह कहिल्यै पनि नेपाली सिनेमाको बारेमा सकारात्मक हुनै सकेन । हिन्दी चलचित्रका वितरक मनोज राठी तिनै वितरक हुन् जो पहिला आफैले वितरणको जिम्मा लिएको दुई वटा नेपाली सिनेमा जुधाएर एकै पटक रिलिज गर्दथे । यसो गर्दा उनलाई के फाइदा हुन्थ्यो भने दुवै सिनेमा जुध्दा दुवैको ब्यापार घट्ने अनि निर्मातालाई चलचित्र नै चलेन भनिदिँदा निर्माताले पनि ब्यापार ब्यवसायप्रति चासो नदिने हुँदा वितरकले बेग्लै लाभको ‘गेम’ खेल्न पाउने कुटिल रणनीतिका योजनाकार हुन् यिनी । राठीले वितरणको जिम्मा लिएको कुनै पनि नेपाली सिनेमा आजसम्म चलेको र निर्माताले पैसा कमाएको रेकर्ड छैन । यसरी नेपाली सिने-निर्माता र नेपाली सिनेमाको बजारलाई सुनियोजित तवरले ध्वस्त पार्न खोज्ने केही वितरकहरू अब नेपाली सिनेमा चल्ने दिन हिन्दी चलचित्र किनेर त्यसै दिन जुधाउन पाइएमा सफल भएको अनुभूतिमा रम्न थालेका छन् ।

चलचित्र ए मेरो हजूर–४ का नायक अनमोल केसीले केही वितरकहरूको फिÞल्म नखेलिदिको अनि अनमोलका पिता भुवन केसीसँगको पुरानो रिस साँधेर अनमोललाई पत्तासाफ गराउनुपर्छ भन्ने विकृत मानसिकता हिन्दी चलचित्रका वितरकहरूमा पलाएको पाइएको छ । आफ्नो घरमा आगो लगाएर त्यो खरानीको न्यानोमा रमाउंन खोज्नेहरूको सोच र उद्देश्य यतिबेला भाइरल भैरहेको छ । एउटा जमात यस्तो निस्किएको छ कि जसरी पनि ए मेरो हजुर–४ लाई असफल बनाएर आत्मसन्तुष्टि लिन लागिपरेको देखिन्छ ।

यहाानेर भन्नैपर्छ कि नेपाली चलचित्रको विकास र विस्तार गर्न गठन भएको चलचित्र विकास बोर्ड नै हिन्दी चलचित्रको पक्षमा रहेको देखिएको छ । सेन्सर नै नभएको हिन्दी चलचित्रको हलहरूले अग्रिम टिकट बुकिङ खोल्दा पनि चलचित्र विकास बोर्ड केही बोल्दैन ! भोलि हिन्दी चलचित्रको सेन्सर फेल भयो भने दर्शकहरूको टिकटको पैसा फिर्ता हुन्छ कि हुन्न ? यसको जवाफ कसले दिने ? जुन दिन ए मेरो हजुर–४ रिलिज हुँदैछ त्यही दिन हिन्दी चलचित्र रिलिज किन गर्नु पर्‍यो ? चलचित्र विकास बोर्डले नेपाली सिनेमा बचाउंन र निर्माताहरूलाई राहत दिन हिन्दी चलचित्रका वितरकलाई हिन्दी चलचित्र शुक्रबार रिलिज गर भनेर भन्न सक्छ र, यो अधिकार पनि छ । तर बोर्ड नेपाली चलचित्रको पक्षमा भन्दा हिन्दी चलचित्रको पक्षमा बढी लचिलो भएको पाइएको छ । बोर्डका अध्यक्ष दयाराम दाहाललाई पङ्क्तिकारको आग्रह के छ भने तपाईंको कार्यकाल समाप्त हुन एक महिना बाँकी छ, जाँदाजाँदै तपाईंले ए मेरो हजुर–४ को पक्षमा एउटा सकारात्मक भूमिका खेलिदिनुभयो भने नेपाली चलचित्र क्षेत्रले जीवननभर तपाईंको जयजयकार गर्ने थिए । यस पटक अध्यक्षज्यू यति भूमिका निर्वाह गरिदिनुहोला ।

चलचित्र क्षेत्रमै जीवन समर्पण गरेको परिवार झरना थापा, सुनिलकुमार थापा र सुहाना थापा अनि अनमोल केसीको चलचित्र भन्दा अर्को पेसा, विधा र क्षेत्र छैन तर, हिन्दी चलचित्रका वितरकहरू भोलि अर्को पेसामा पनि जान सक्छन् । आज चलचित्र विकास बोर्डले बलियो भूमिका नखेल्दा चलचित्र ए मेरो हजुर–४ तलमाथि केही भयो भने यसको भागिदार चलचित्र विकास बोर्ड पनि बन्न सक्छ । त्यसकारण यो जटिल अवस्थामा चलचित्र विकास बोर्डले नाम जस्तै नेपाली चलचित्रको विकासप्रति समर्पित भएको उदाहरण पेश गर्ने कि हिन्दी चलचित्रको बजार बिस्तार गर्न दिएर नेपाली चलचित्र बिनास भएको हेर्ने ?

एउटा हलले एक दिनको लागि एउटा सिनेमा प्रदर्शन गर्न तिन शो पाउँछ तर, हिन्दी चलचित्रले सेन्सर नै नगरिकन दर्जनौँ शोको टिकट बेचिसकेको छ । के यसो गर्दा चलचित्र विकास बोर्डमा यी हलहरूले सबै शोको कर तिर्छन् ? वा यसको अनुगमन नेपाल सरकारले गर्छ ? चलचित्र विकास बोर्ड किन मौन छ यसमा ? हिन्दी चलचित्र सेन्सर नै नगरिकन बुकिंग खोल्न किन हतार ? नेपाली चलचित्र ए मेरो हजुर–४ को मनोबल गिरोस् र यो चलचित्र पछाडि हटोस् भन्ने उद्देश्य हो ? तर ए मेरो हजुर–४ पनि कमजोर चलचित्र भने होइन र, कमजोर पनि नठानियोस् । किनकि यसको ब्राण्ड र उपस्थिति दर्शकहरूमाझ सधै उच्च नै भएर बसेको छ । कमजोर छ त सरकारी नीति मात्र ।

यसरी ए मेरो हजुर–४ बलियो भएकै कारण यो चलचित्रमाथि यति धेरै आक्रमण भएको हुनुपर्छ । हिन्दी चलचित्रका वितरक र चलचित्र बिकास बोर्डले त नेपाली चलचित्रप्रति सदासयता देखाएनन देखाएनन्, यति नै बेला नेपाली चलचित्रकी एउटा हिरोइन पनि भुवन केसी र ए मेरो हजुर–४ की निर्देशक झरना थापाविरुद्ध लागेको पाइएको छ । के यिनलाई नेपाली चलचित्र नचलेर हिन्दी चलचित्र चल्दा फाइदा हुन्छ हो ? कि यिनलाई हिन्दी चलचित्रबाट अफर आएको छ ? पल शाहविरुद्ध भुवन र झरना लागेको गलत आरोप बजारमा फ्याल्दै यी हिरोइन नेपाली चलचित्रको दोहोलो काड्नेतिर लाग्नु आश्चर्य मानिएको छ । यी हिरोइनको चलचित्र चल्दा त झरना, सुनिल कुमार थापालगायतले बधाई र शुभकामना दिएकै थिए त । राम्रो गर्न नसके पनि नराम्रो नगर्नु हजुर ! हजुरलाई पनि भोलि यस्तो अवस्था आउँदा साथ र सपोर्ट हिन्दी चलचित्रका वितरकले नभइ नेपाली चलचित्रवालाहरूले नै दिने हुन् । यो कुरा तपाईंजस्ती बुझ्झकीले बुझ्नैपर्ने हो ।

अनमोल र सुहानाले अरूको चलचित्र नखेल्नु, अनमोलका पितासँगको इगो अनि केही यूटुबरहरूलाई अनमोल र सुहानाले इन्टरभ्यू नदिनु जस्ता कारणलाई इश्यू बनाएर ए मेरो हजुर–४ को विरोधमा केही चलचित्रकर्मीहरू लागेको देखिएको छ । यो चलचित्रलाई यसरी आक्रमण गर्दा यी विरोधिहरूले बुझेनन् कि नेपाली चलचित्रको विकास, बिस्तार अनि सफलतामा आफ्नो पनि सफलता र उज्ज्वल भविष्यका साथै आफ्नो पेशा, विधा र क्षेत्र पनि जोडिएको छ भन्ने कुरा । एउटा नेपाली चलचित्र सफल र असफल हुँदा सम्पूर्ण नेपाली चलचित्र क्षेत्रलाई पर्ने प्रभाव अनि हिन्दी चलचित्र ब्यावसायिक रूपमा सफल हुँदा वितरकले मात्र दाम कमाउंनेबीचको भिन्नताबारे खै मनन गरेको ?