सम्पत्तिको हत्याउन बैद्धिक अपाङ्ग व्यक्तिको अपहरण, प्रशासन मौन !

सम्पत्तिको हत्याउन बैद्धिक अपाङ्ग व्यक्तिको अपहरण, प्रशासन मौन !


जग्गामा कसले कति अनियमितता गरे ?

  • पुनहरि बेल्बासे, भैरहवा

रुपन्देहीको सियारी गाउँपालिका-३ भैसाखदरमा बौद्धिक अपाङ्ग व्यक्तिमाथि आफन्तबाट घोर अन्याय भएको छ । बौद्धिक अपाङ्ग पर्शुराम यादव यही चैत ११ गते दिउँसो करिब १२ बजेको समयमा अपहरणमा परे । काका भोला अहिरको घरमा बस्दै आएका परशुराम काकी उदारी अहिरसँग भैँसी चराउन जाने बेलामा घरनजिकैबाट अपहरणमा परेका हुन् ।

पीडित परिवारका अनुसार सेतो कारमा आएका बनगाइ बस्ने कासी अहिर र राजकुमार यावले सम्पत्तिको लागि अपहरण गरेका हुन् । कारमा आएका उनीहरूले बहानाबाजी गरी कार धकेल्न बोलाएर पर्शुरामलाई नै कारभित्र धकेली गाउँपालिका कार्यालय हर्नैयातिर लगेको परिवारको दाबी छ ।

तीव्र शहरीकरण हुँदै गएको रूपन्देहीका धेरै स्थानमा जग्गाको मूल्य आकाशिएको छ । यहाँको खेतीयोग्य धेरै जग्गा अहिले आवासका लागि प्लटिङ भइरहेका छन् । मूल्य बढेसँगै जग्गा कब्जा गर्ने गिरोहले कमजोर र सोझासिधा व्यक्ति छानी-छानी उनीहरूको जग्गा हत्याउन थालेका छन् ।

बौद्धिक अपाङ्गता भएका सियारी गाउँपालिका-३, भैसाखादरका परशुराम यादवको १७ कट्ठा १० धुर जग्गा वि.सं. २०७७ माघ २२ गते जानकारीबिनै खरीद/बिक्री भयो । सानै उमेरमा बुबाआमा गुमाएका परशुराम दिदीको संरक्षणमा थिए । बाबु छँदै उनकोे सम्पत्ति शेषपछि भान्जा बलराम यादवका नाममा बकसपत्र भएको थियो । तर, भाइ नाता पर्ने जोगिन्द्र यादवले उक्त जग्गा आफ्नो पोल्टामा पारे ।

मालपोत कार्यालय रूपन्देहीको अभिलेखअनुसार उक्त जग्गा परशुरामले रु. १ करोडमा बिक्री गरेका हुन् । यता परशुराम भने आफ्नो जग्गा पास गरिदिएको बारे बेखबर थिए । पर्शुराम दिदी बोधी यादवको घरमा बस्दै आएका थिए ।

करिब २ वर्षअगाडि जोगिन्दर यादवले बुबा बिरामी भएको बहाना बनाएर पर्शुरामलाई अपहरण शैलीमा आफ्नो घरमा राखेका थिए । जोगिन्दरले बौद्धिक अपाङ्ग भएका पर्शुरामलाई फकाएर १२ कठ्ठा जग्गा आफ्नो नाममा पास गरेका बुझिएको छ । पर्शुरामको नाममा जोगिन्दरले मेघा बैंक भैरहवा शाखामा ८० लाख रकम जम्मा गरेको भौचर पेश गरेका थिए । मेघा बैंकले पैसा जम्मा भएको भौचर नभएर चेक बुझेको भनेर भौचर दिएको थियो ।

जग्गा पास गर्दा सियारी गाउँपालिकाले दिएको चारकिल्ला सिफारिशमा नक्कली सँधियारहरू खडा गरिएको छ । मुख्य सडकसँग जोडिएको जग्गालाई पनि बाटो नभएको सिफारिश गरिएको छ । परशुराम यादवको मेघा बैंकको खातामा एक करोड रकम बुझेको देखाएर जग्गा पास गरिए पनि खातामा रकम छैन ।

जोगिन्द्र यादवले जग्गा पास गर्नको लागि चारकिल्ला प्रमाणित गर्दा वडाध्यक्ष घिसन यादव थिए । चारकिल्ला माग गर्ने जोगिन्दर यादव वडा अध्यक्षका ज्वाइँ हुन् । उनले कित्ता नम्बर ७८५ (१ क, ७९१ (१क, ३२१ (१ख, ३१९ (१ख, ७८७ (१क, ७८९ (१क, ३२३ (१ख, ७९३ (१क, ५०३ (२क को जग्गा आफ्नो नाममा जिल्ला मालपोत कार्यालय रुपन्देहीबाट पास गरेका छन् ।

जग्गाको विषयमा जोगिन्दर यादव आफूले १२ कठ्ठा जग्गा आफ्नो नाममा पास गरेको स्विकार गर्छन् । जोगिन्दरले आफूले ८० लाख पैसा पर्सुरामलाई दिएको भन्छन् । बौद्धिक अपाङ्ग भएका ती व्यक्तिको खातामा पैसा छैन त ! भनेर जिज्ञासा राख्दा उसले खाएर भ्यायो भन्ने हल्का जवाफ दिन्छन् ।

जोगिन्दरका बुवा भोला यादवले पहिला भान्जाको नाममा शेषबकस रहेको, त्यो बदर गरी अहिले छोरा जोगिन्दरले आफ्नो नाममा पास गरेको बताउँछन् । हरेक दिन भैंसी चराउन जाँदा पर्शुराम आफूसँग जाने गरेकोे उदासी यादव बताउँछिन् । सदाझैँ भैंसी चराउन जाँदा घरपछाडिको सडकबाट पर्शुरामलाई गाडीभित्र धकेलेर भागेको यादव बताउँछिन् ।

सुरुमा बलिराम यादवको घरमा बस्दै गरेको र पछि यहाँ आएर बसेको अनि जग्गाचाहिँ दाइ जोगिन्दर यादवको नाममा पास भएको पुष्पा यादवको भनाइ छ ।

जग्गामा कसले कति अनियमितता गरे ?

२०७४ सालको स्थानीय निर्वाचनपछि रुपन्देहीमा जग्गा कब्जा गर्नेको गिरोह सक्रिय छ । कतै सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने काम भएको छ त कतै नक्कली व्यक्ति खडा गरेर जग्गा बिक्री भइरहेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्ष रहमान अलिमियाँको सिफारिसमा गरिब कोहारको १० कठ्ठा १७ धुर जग्गा नक्कली व्यक्ति खडा गरेर बिक्री भएको छ । सियारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामकिसन थारुको सिफारिसमा बुद्धिराम कहारको २ बिगाहा जग्गा अर्कै व्यक्तिको नाममा खरिदबिक्री भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास कार्यालयको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा २ बिघा ५ कट्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ गुरौलीमा स्थानीय खेदु केवट, अमरनाथ केवट, बलदेव केवट, मङ्गरी केवटको संयुक्त नाममा रहेको ५६ कठ्ठा जग्गामा स्थानीयले हस्तक्षेप गर्दै आएका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ८ तल्कालिन हाटिबनगाई गाविस वडा नम्बर ५ क लभ गार्डेन पछाडिको सार्वजनिक जग्गा कित्ता नं. ३५९ र ३६० मा गरि १६ कठ्ठा ३ धुर सुरेश अर्यालको नाममा वडा अध्यक्ष चोकबहादुर थापाको सिफारिसमा बिक्रि भएको छ । सियारी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष घिसन यादवको सिफारिसमा १२ कठ्ठा जग्गा जोगिन्दर यादवको नाममा पास भएको छ ।

जिल्ला अदालत रूपन्देहीमा जग्गा कीर्ते मुद्दाको चाङ छ तर, मुद्दा किनारा लाग्ने गति भने निकै सुस्त । गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै जग्गा कीर्ते र सुविधासम्बन्धी १ हजार ४ सय ६ वटा मुद्दा दर्ता भएका छन् ।

यसअघि रुपन्देहीको सियारी नक्कली कागजात बनाइ रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा जग्गा कब्जा गरिएको थियो । उक्त ठाउँमा रहेको १ बिघा १९ कठ्ठा ५ धुर जग्गा नक्कली भारतीय कागजात बनाई जग्गा कब्जा गरेको खुलेको छ ।

भारतको गोरखपुर जिल्लाबाट प्रधान पञ्चको नक्कली कागजात बनाइ त्यो प्रयोग गरेर सियारी गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट सिफारिस लिइ मालपोत कार्यालयबाट बेलर कहारको भाइ हो भनि बुद्धिराम कहारको नाममा जग्गा गएको भेटिएको थियो । पछि उक्त जग्गाको विषयमा मिडियाले विषय उठान गरेपछि नक्कली डकुमेन्ट खारेज भएको थियो ।

गाउँको सिंहदरबारमा टाठाबाठा, राजनैतिक पहुँच भएकाहरूले जसले आफुलाई गाउँको मालिक भन्न रुचाउँछन् जनतालाई स्याल र आफुलाई सिंह बताउनेहरूले नै जग्गामा अवैध धन्दा गरेका छन् ।