गैरआवासीय सङ्घको विवाद, यसभित्रका अतिवादीहरू र सङ्घमाथि परेको दुष्प्रभाव

गैरआवासीय सङ्घको विवाद, यसभित्रका अतिवादीहरू र सङ्घमाथि परेको दुष्प्रभाव


विश्वभरका नेपालीहरूको साझा घर भनिएको सामाजिक संस्थामाथि हस्तक्षेप गरिँदा प्रयोग गरिएको ‘विधानको धारा’ विधानसम्मत थिएन र, फेरि पनि सम्पूर्ण रूपमा शेष घलेलाई एनआरएन कब्जा गर्न दिएको कार्यकारी खालको अधिकार पनि विधानसम्मत थिएन ।
  • सागर सुवेदी

परराष्ट्र मन्त्रालयको ठाडो राजनीतिक हस्तक्षेपपश्चात अदालत हुँदै यसको आन्तरिक विवादमा रुमल्लिरहेको गैरआवासीय नेपाली सङ्घले यही चैत १२ र १३ का दिन आफ्नो दशौँ अधिवेशन तथा निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । विगतमा कहिल्यै कल्पनासमेत नगरिएको भए पनि वर्तमान कार्यकालको लागि परिकल्पना गरिएभन्दा निकै बाहिर गएर विधान संशोधन गर्दै जम्बो कार्यसमिति निर्माण गरेको घोषणा गरेको छ, जसलाई अध्यक्ष कुमार पन्तले स्वयम् वाचन गरेर सुनाए ।

काठमाडौंमा मञ्चन गरिएका हरेक क्रियाकलापलाई अधिवेशन अवधिभर सम्भव भएसम्म पङ्क्तिकारले भियनामै बसेर नियाल्यो । किनकि यही सङ्घमा आवद्ध भइ केही गर्छु भन्ने अठोटका साथ केही महिनादेखि मैले आफूलाई गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग छलफल तथा अन्तरक्रियामा थिएँ । प्रतिष्पर्धात्मक तवरले निर्वाचित भएको खण्डमा यी-यी विषयलाई उठाउने छु, साथै डायस्पोरालाई आज यी विषयहरू आवश्यक छन् भन्ने हिसाबले म मतदातासँग प्रत्यक्ष भेट/कार्यक्रम गरेर अन्तर्क्रियात्मक छलफल सुरु गरिसकेको पनि थिएँ, जसमा मैले युरोपका केही देशको भ्रमण गरी आफ्ना कुरा त्यहाँस्थित एनसीसीका साथीहरू र यसका अभियन्ताहरूलाई राखिसकेको पनि थिएँ । मैले उक्त समयमा उम्मेदवारको हैसियतले भ्रमण शुरु गर्दा आज सङ्घमा भएका कसैले आफ्नो मतदाता भेटघाट सुरु गरेकै थिएनन् ।

पङ्क्तिकार सङ्घमा आउन चाहनुको प्रष्ट उद्देश्य भन्नुपर्दा नेपालको पार्टीगत राजनीतिमा रुमलिएको सङ्घका साथै अनुशासनको घेरा पार मात्र होइन माइल नै काटिसकेका एनसीसीहरू अनुशासित र यसमा प्राक्टिस गरिने निर्वाचन प्रक्रिया अनुशासित भइदिँदा समग्र सङ्घ अनुशासित हुने मेरो बुझाइले यहाँ काम गरेको थियो । जहाँ मैले काठमाडौंमा आयोजना गरिएको नवौँ विश्व सम्मेलनमा देखेका अनुभव र त्यहाँ देखिएको समाधान गर्न सकिने तर गर्न नरुचाइएका विविध विवादहरू थिए ।

२०१९ को आइसीको निर्वाचन परिणामको असर आफै बस्ने मुलुकलगायत युरोपका केही मुलुकका एनसीसीभित्र चरम रूपले बढिरहेको असन्तुष्टि÷असमझदारी÷विवाद–विरोधलाई प्रत्यक्ष बुझ्ने र महसूस गर्ने मौका पाएँ, मैले आफ्नो ठाउँबाट दिएका सुझावलाई नमानिदिँदा, त्यसमा पनि युरोप क्षेत्रका संयोजकले निभाएको भूमिका साथै युकेतिरका एक ‘मनोनित आइसीसी सदस्य’ले विवाद मिलाउने नाममा गरेको व्यवहारलाई प्रत्यक्ष बुझिरहेको थिएँ ।

यी सबै विषयलाई बुझ्दा समस्या कहाँ थियो भन्ने विषयमा म प्रस्ट थिएँ । यिनै विविध विवादलाई आफ्नो ठाउँमा नै मिलाउन सक्ने अवस्था हुँदाहुँदै एनसीसी कार्यसमितिका सदस्यहरू केन्द्रिय अध्यक्ष र महासचिवका पुग्ने गरेको प्रस्ट बुझ्थेँ । सम्बन्धित देशमा ‘केन्द्रलाई जोड्ने पुल’ भनिएका निर्वाचित आइसीसी सदस्य भूमिकाहीन भएको पनि महसूस गर्ने गर्दथेँ । यी सबै विषयलाई देख्दा म पनि युरोप क्षेत्रबाट उपसंयोजकका रूपमा सङ्घमा गएर आफ्नो तर्फबाट दिन सकिने विविध योगदानका विषयलाई लिएर युरोप भ्रमणमा निस्किएको थिएँ ।

उत्तरी युरोपियन मुलुक डेनमार्क, नर्वेका एनसीसी सदस्यहरूसँगको प्रत्यक्ष भेटघाटपश्चात म बेल्जियम आएँ । बेल्जियममा मलाई एकातर्फ नसोचेको सहयोग र हौसला प्राप्त भयो भने अर्कोतर्फ जसबाट मैले ठुलो सहयोगको अपेक्षा राखेको थिएँ ती पात्र मसँग भेट गर्न त कहाँ हो कहाँ बोल्न पनि तयार भएनन् !

मलाई लाग्थ्यो उनी सार्वजनिक पदमा रहँदा उनप्रति फैलाइएका भ्रम चिर्न मैले मेरो पत्रकारितालाई माध्यम बनाएको थिएँ । हुन पनि पत्रकारको धर्म नै त्यही हो- जे छ जस्ताको तस्तै सम्प्रेषण गरिदिने । सत्य भन्ने पूर्ण विश्वाश भएमा उक्त आवाजलाई प्राथमिकता दिने । तर जे सोचेर म त्यहाँ गएँ त्यो पाइनँ । हुन त पत्रिकामार्फत मैले कसैको वकालत गरिदिएको कारण उक्त पात्रले मलाई सहयोग नै गर्नुपर्छ भन्ने पक्कै होइन तर यहाँ विषय ‘नियत’को थियो । यदि म बेल्जियम गएको थिइनँ भने ती पात्रबारे आजसम्म पनि म भ्रममै रहिरहने रहेछु । मैले बुझिसकेको थिएँ कि ती पात्र मैले मान्ने विचारसँग सहमत छैनन्, किनकि म संवैधानिक राजसंस्थाको वकालत गरिरहेको हुन्थेँ । यद्यपि ती पात्रको मप्रतिको बुझाइ पात्रकै मुखबाट सुन्ने इच्छा थियो मलाई । त्यो चाहना पनि त्यहीँकै एक मित्रले पूरा गरिदिनुभयो । फोनमा गरिएको वार्तालाप सुन्दा खाडलमै खसेको महसूस भयो । ती पात्रको मप्रतिको बुझाइ सुनिसकेपछि मलाई अनुभूति भयो- यहाँ (सङ्घमा) खुबी र फरक सोच भएका व्यक्तिहरू भन्दा पनि उनीहरूको पार्टी र त्यसमा पनि उनीहरूको गुटका व्यक्तिहरू मात्र आउनुपर्छ भन्ने भावना हुने रहेछ ! यसमा म प्रस्ट भएँ । जे होस् जीवनमा केहि नयाँ कुरा सिक्ने मौका प्राप्त भएको अनुभूति गरियो ।

जे होस्, अपेक्षा नगरिएकाहरू ‘मित्र’ बनेर बिहानको ५ बजे मलाई छोड्न एयरपोर्टसम्म आए भने जसको सहयोगको अपेक्षा गर्दै म त्यहाँ गएको थिएँ ती पात्रको मप्रतिको सोच बुझेपश्चात् ‘संसारमा सोचेको सबै हुँदैन’ भन्ने विषयलाई आत्मसात गर्दै बेल्जियमको बाँकी भेटघाट सकेर अष्ट्रिया फर्किएँ ।

यस्तै-यस्तैमा सबै विषय अगाडि बढिरहेको थियो । आफूलाई कुल आचार्य समुहको दाबी गर्नेहरू आचार्यसँग नजिक पर्छ कि भनेर केही व्यक्ति डराइरहेका थिए । यतिसम्म कि भर्चुअल गरिने छलफलको जुममा समेत छिर्न नदिने, (पात्रको नाम आवश्यक पर्दा लेख्न पनि सकिने) केही समयपश्चात एक बेलायतनिवासी शुभचिन्तक अग्रज मित्रले त मलाई मुखै खोलेर भन्नुभयो- ‘सागरजी, कुनै टिममा नपरी तपाईं जत्ति नै सक्षम भए पनि अगाडि आउन सक्नुहुन्न । अरु मलाई थाहा छैन, कुलको टिममा पर्छु भन्ने सपना छ भने आजैदेखि त्यागिदिनु ।’ मैले बुझेको पनि त्यही नै थियो ।

यतिका सुनेपश्चात अबचाहिँ हरेक मतदातासँग व्यक्तिगत तवरले जोडिएर/सम्पर्क गरेर नै निर्वाचित हुनुपर्छ भन्ने योजना बनाउन थालेँ र, केहि समयपश्चात स्पेन गएँ । त्यहाँ केही साथीले मलाई आत्मैदेखि स्वागत गरेको पाएँ भने कतिपयले चाहिँ योसँग भेट भएको खण्डमा तस्बिर संजालमा आउँछ, सागरसँगको तस्बिर संजालमा आयो भने सागरलाई भेटेको कारण ‘तिनीहरूको समूहमा’ झगडा हुन सक्ने हुँदा केही पात्रले मसँग भेट गर्न चाहेनन् । तर पछि बाध्यता यस्तो परेछ कि ती पात्र अन्ततः भेट गर्न बाध्य भए, किनकि म त्यहाँ सागर सुवेदी भन्दा पनि युरोप क्षेत्रको उपसंयोजकको उम्मेदवारको हिसाबले गएको थिएँ । यो विषय मैले मसँगै यात्रा गरिरहनुभएका डेनमार्कनिवासी मित्र यामलाल सुवेदीलाई सेयर गर्दा उहाँको बुझाइ पनि त्यस्तै भएको बुझेँ ।

एकातर्फ सङ्घको विवादले चरम रुप लिँदै गइरहेको थियो भने अर्कोतर्फ यसलाई बचाउनुपर्छ भनेर बेल्जियमनिवासी एनआरएन अभियन्ता गंगाधार गौतम, अमेरिकानिवासी अभियन्ता डा. यादव पण्डित, सङ्घका सचिव साथै नवनिर्वाचित महासचिव गौरी जोशी लगायतका व्यक्तित्वहरू लागिरहनुभएको थियो । उता उम्मेदवार नबन्ने हिसाबले जापाननिवासी महेश श्रेष्ठ पनि लागिरहनु भएको थियो ।

म र राष्ट्रिय समन्वय परिषद् डेनमार्कका पूर्वअध्यक्ष यामलाल सुवेदी पनि धेरै सम्वादमा सङ्घ टुक्रिन नदिन के गर्दा हुन्छ भन्ने विषयमा अहिलेका अधिक नेतृत्वमा निर्वाचित भएका मित्रहरूसँग सम्वाद गरिरहेकै थियौँ । तथापि, कुनै नतिजा देखिएको थिएन । अर्कोतर्फ निर्वाचनका कार्यक्रम घोषणा गरिदै, सार्दै स्थगित गर्दै आइरहेको अबस्था थियो । म सिधै कुमार पन्तसँग यसको जवाफ चाहन्थेँ तर उहाँले मेरो फोन कुनै हालतमा नउठाउने ! यसैबीच मैले एक समाचार टिप्पणी लेखेँ- ‘कुमार पन्तले चुनाव गराउन नसकेका या नचाहेका ?’ भलै यो टिप्पणी मैले पत्रिकाको तर्फबाट समाचार टिप्पणीका रूपमा सन्तुलित र तर्कपूर्ण लेखेको थिएँ, यसलाई लिएर मलाई केही साथीहरूबाट अत्यन्त तर्कपूर्ण लेखेको भनेर प्रतिक्रिया प्राप्त गरेको थिएँ ।

मलाई डेलिगेट्स विवादसँग लिनुदिनु थिएन । किनकि विशेष महाधिवेशनमा यी सबै विषय समेटिँदा दुवै पक्ष (कुल, बद्री) को सहमतिमा भएको थियो तर केन्द्रीय प्रतिनिधि छनौटमा कुनै एनसीसीले बठ्याइँ गरे भने कुनै एनसीसीमा केन्द्रमा प्रतिनिधि बन्न पनि निर्वाचनको प्रक्रियामा भएर जानुपर्छ भन्ने बुझेनन् । जब बुझे ढिलो भइसकेको थियो । समग्रमा भन्दा ६५ प्रतिशत र २५ प्रतिशतको प्रावधानले अन्ततः विवाद सिर्जना गर्ने नै थियो । आखिर जे विषयमा विवाद हुन सक्ने आँकलन गरेको थिएँ त्यसैमा विवाद भयो ।

यही विवाद लम्बिँदै गएर परराष्ट्रमा पुग्यो । राजनीतिक परिवर्तन भएर नयाँ सरकार बनेको तातो अवस्थामा परराष्ट्रले केही सीमित व्यक्तिको कुरा सुनेर हस्तक्षेप गऱ्यो । मैले बुझेको परराष्ट्रको हस्तक्षेप नितान्त राजनीतिक थियो । विश्वभरका नेपालीहरूको साझा घर भनिएको सामाजिक संस्थामाथि हस्तक्षेप गरिँदा प्रयोग गरिएको ‘विधानको धारा’ विधानसम्मत थिएन र, अर्कोपटक सम्पूर्ण रूपमा शेष घलेलाई एनआरएन कब्जा गर्न दिएको कार्यकारी खालको अधिकार पनि विधानसम्मत थिएन ।

विवादले चरम रूप लिँदै थियो । कुल आचार्य समूहबाट, त्यहाँका अतिवादीहरूको कारण पूर्ण रूपमा अलग भएता पनि परिवारको सदस्य भएको नाताले अक्कलझुक्कल कुरा भइरहेको हुन्थ्यो । विषयलाई बुझ्न पनि एक पत्रकारको हैसियतले त्यो आवश्यक थियो भने म आफै पनि युरोप क्षेत्रको उम्मेदवार थिएँ ।

यता डा. केसी सम्पर्क गर्दा सदैव सम्पर्कमा आइहाल्ने स्वभावको ! विविध विषयहरू र उहाँले गरेका प्रक्रियाका कुराले म त्यहाँ गएर उहाँहरूले गरिरहेका प्रक्रियाका विषयलाई सुनिरहन्थे । बद्री केसी टिममा भएका बेलायततिर बसोबास गर्ने एक मनोनित आइसीसीचाहिँ डा. बद्री केसीलाई नै बोलि रोक्ने खालका । उनि आफूबाहेक संसारमा अरु कोही पनि बौद्धिक छन् भनी मान्न तयार नहुने खालका ! उनले देखाएको अतिवादको कारण यस्तो विवादित अवस्थामा त्यहाँ गएर मैले के नै गर्न सक्छु भन्ने बुझाइका कारण मैले मेरो संजालमा आफ्नो उम्मेदवारीबाट पछि हटेको जानकारी गराएँ । सो जानकारीपश्चात मैले बुझेँ कि मलाई कुल आचार्यसँग भएका अतिवादीहरू र डा. केसीसँग भएका अतिवादीहरूले निर्वाचित हुन पक्कै रोक्ने प्रयत्न गर्थे ! साथै त्यहाँ मैले लिनभन्दा दिन जाने सोचका साथ गएको कारण र, यस्ता अतिवादीहरूको पाउ मोल्नुभन्दा उम्मेद्वारी स्थगित गर्दा आफ्नो सम्मान हुने बुझेको कारण मैले आफ्नो उम्मेदवारी स्थगित गरेँ । तर मैले आफ्नो उम्मेदवारी स्थगित गरेपश्चात बल्ल मैले बुझेँ– मलाई साथ दिने ठुलो समूह युरोपमा खडा भइसकेको रहेछ ।

आज विविध विवादबाट बाहिर आउँदै फुट्न लागिसकेको सङ्घ जोडिएको छ । परिस्थितिका नाममा जम्बो टिम बनाइएको छ । पद बाँडफाँडका नाममा उम्मेदवारीको सोचसम्म पनि नदर्शाएका व्यक्तिहरूलाई पनि पद बाँडिएको छ । अझ डा. बद्री टिमको एक अतिवादी व्यक्तित्वलाई त झन् उहाँले कहिल्यै प्रचार नगरेको पद ‘केन्द्रिय उपमहासचिव’ सिर्जना गरेर पदस्थापना गरिएको छ । विवादलाई मिलाउने नाममा पद विभाजन गरेर क्षेत्रमा दुई-दुई संयोजकहरू बनाइएको छ । कतै-कतै त हन्टिङ्ग गरेर ल्याइएका व्यक्तिहरूलाई पदमा टाँसिएको छ । यहाँ ख्याल गरिएको छैन कि त्यो व्यक्ति उक्त पदको जिम्मेवारी लिन इच्छुक छ या छैन ? अथवा, जिम्मेवारी बहन गर्न सक्छ सक्दैन ! निवर्तमान अध्यक्ष कुमार पन्तले वाचन गरेका नामहरूमा यस्ता निर्वाचित पदहरूलाई पनि वाचन गरियो जसको गैरआवासीय नेपाली स्टाटस छ छैन भन्ने ख्यालसमेत गरिएन ।

सङ्घको इतिहासकै जटिल अवस्थामा मलाई समेत युरोप क्षेत्रको उप-संयोजकको लागि ‘निर्विरोध निर्वाचित’ गरिएको छ । यसै पदबाट सुरु गरेर सङ्घलाई योगदान दिने जुन उद्देश्य बोकेर युरोप घुमेको थिएँ, अन्तर्क्रिया गरेको थिएँ, त्यो उत्साह आज छैन तर राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूले अपनत्व गर्न सक्ने गैरआवासीय सङ्घ डायस्पोरालाई आज पनि उत्तिकै आवश्यक छ जो हिजो पनि थियो भन्नेमा म हरदम प्रस्ट छु ।

नेपालका नेताहरूले जसरी भाषण मात्र गरेर बाँकी भित्री चलखेल गरेर बस्ने मुद्दा मसँग छैन, न कि सबैले बोलिरहने गैरआवासीय नागरिकता प्राप्ति मेरो मुद्दा हो । मैले देखेका प्रमुख मुद्दा भनेको १- राजनीतिभन्दा माथि उठेको गैरआवासीय नेपाली सङ्घ, २- दोश्रो पुस्तालाई यसमा आकर्षित गराउने गैरआवासीय सङ्घ, ३- रहे/भएका अतिवादीले आफूलाई सुधारेर एकै लयमा हात मिलाएर हिँड्ने गैरआवासीय नेपाली सङ्घ, ४- यसै सङ्घको कारण टुक्रा-टुक्रा, छिया-छिया बनेको डायस्पोराको नेपाली समाजलाई जोड्ने गैरआवासीय नेपाली सङ्घ, ५- विधि र विधानभित्र रहेर आफ्नो कार्य सम्पादन गर्ने एनसीसी, ६- निर्वाचित पदाधिकारी आफ्नो दायरामा रहेर कार्यसम्पादन गर्ने परिपाटीको विकास !

धेरै अपेक्षा नगरी माथि उठाइएका सामान्य विषयमा सबैसँग सहकार्य र हातेमालो गर्दै काम गर्न सकियो भने बाँकी विषय (ज्ञान, शिप, पुँजी ) स्वतः आउँदै जानेछन् भन्ने मेरो बुझाइ हो ।

हेरौँ, जम्बो टिमसँग कसरी काम गर्न सकिन्छ ! मैले सोचेका विविध विषयमा यस क्षेत्रका संयोजक र मेरा सहकर्मी उप-संयोजकहरूले कसरि अघि बढ्ने सोच बनाउनुभएको छ । पहिलो बैठकबाट यसको निर्धारण होला नै ! थप अर्को लेखमा । …. ।

(पङ्क्तिकार सुवेदी गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रका नवनिर्वाचित उप-संयोजक हुन् । –सं.)