कृति विमोचनसहित अनेसास बेल्जियमको आठौँ आधिवेशन सम्पन्न

कृति विमोचनसहित अनेसास बेल्जियमको आठौँ आधिवेशन सम्पन्न


डिल्ली अम्माईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)बेल्जियम च्याप्टरको आठौँ अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष परमानन्द सापकोटाको सभापतित्व र महासचिव सौरभ कारान्जितको संचालनमा आइतबार (मार्च २७) का दिन आयोजित अधिवेशन समारोहकै बीच रचना वाचन तथा कृति विमोचन कार्यक्रमसमेत सम्पन्न भएको हो।

प्रमुख अतिथि बेनेलक्सका महामहिम राजदुत गेहेन्द्र राजभण्डारीका साथै विशेष अतिथि एनआरएनएका उपाध्यक्ष लाल गुरुङ तथा साहित्य समाजका सल्लाहकारहरु विमल गिरि र दिपेन्द्र केसीले युरोपका नेपाली कविताहरु नामक संगालोको संयुक्त रुपमा विमोचन गरेका थिए ।

महासचिव सौरभ कारान्जितले संचालन गरेको खुला सत्रमा अतिथिहरुले अधिवेशनको शुभकामना दिनुका साथै समाजका उपाध्यक्ष मोहन खत्रीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको खुला सत्रमा विभिन्न सर्जकहरुले आफ्ना कविता वाचन गर्नुको साथै युरोपका नेपाली कविताहरु नामक कृति विमोचन समेत गरिएको थियो ।

बेल्जियमको आन्त्वेर्पेन शहरमा भएको कार्यक्रममा राजदूत राजभण्डारीले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताए । नेपाली भाषा तथा साहित्यलाई विश्वस्तरमा पुऱ्याउनका लागि बेल्जियमलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले समेत योगदान गरेको बताउँदै अनेसास जस्तो ७० देशमा बिस्तारित साहित्यिक समाजलाई दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

त्यस्तै एनआरएनए बेल्जियमका उपाध्यक्ष लाल गुरुङले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनकालागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा स्रष्टा तथा अनेसास बेल्जियमका कोषाध्यक्ष गोपाल दाहालले ‘युरोपका नेपाली कविताहरु’ नामक कविता संग्रहको समीक्षात्मक समालोचना गरेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा अधिवेशनको बन्द सत्रले डिल्ली अम्माईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष सौरभ कारान्जित, महासचिव लोक नाथ शर्मा, सचिव गोपाल दाहाल, कोषाध्यक्ष श्रीराम प्रसाईं, सदस्यहरुमा मुना ताम्राकार, बुद्ध बस्नेत, बुद्धि बराल र कौशल खनाल रहेका छन् । अधिवेशनको बन्द सत्रले अनेसासको बिस्तारलाई ब्यापक बनाउँदै लैजानको लागि अझै केही सदस्य थप गर्ने जिम्मेवारी अध्यक्षसहित कार्यसमितिलाई दिएको छ।

स्मरण रहोस्, अधिवेशनले अनेसास बेल्जियमको अभिभावकत्वको लागि तीन सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । जसमा क्रमशः विमल गिरि, दिपेन्द्र केसी र मोहन खत्री रहेका छन् ।