उपयोग गर्न नसक्दा गुणकारी गुराँस खेर जाँदै

उपयोग गर्न नसक्दा गुणकारी गुराँस खेर जाँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूर पहाडका वन-जंगलमा अहिले लालीगुराँस फूल फूलेर ढकमक्क भएका छन् । यहाँका प्रायः सबै वनमा लालीगुराँस ढकमक्क फुलेको देख्न पाइन्छ । सदुपयोग हुन नसक्दा जंगलमा फुलेका लालीगुराँस त्यसै सुकेर खेर जाने गरेको छ ।

जंगलमा खेर गइरहेको लालीगुराँस यहाँका केही बालबालिकाका लागि भने आम्दानीको राम्रो स्रोत पनि बनेको छ । भीमदत्त राजमार्गछेउछाउका न्युन आय भएका परिवारका बालबालिकाहरूले लालिगुराँसको फूल बेचेर आफ्नो पढाइखर्च जुटाउने गरेका छन् ।

हात–हातमा गुराँसका फुल लिएर भीमदत्त राजमार्ग छेउमा दर्जनौँ बालबालिका दैनिकजसो बिक्री गर्ने गर्दछन् । भीमदत्त राजमार्ग भएर तराईका जिल्ला जाने यात्रुहरूले लालिगुराँसका फुल किन्ने गरेका छन् । उनीहरू दैनिक एकदेखि तीन सय रुपैयाँ सम्म जम्मा गर्छन् । उक्त रकमले कापी-कलम, खाजालगायत अन्य आवश्यक काममा खर्च गर्ने गरेका छन् ।

स्कूलेबालबालिकाको यो सानो प्रयासले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई थोरै भए पनि राहत मिलेको छ । बिदाको बेला दिनैभरजसो लालिगुराँसका फूल बेच्ने गरेका भए पनि विद्यालयको समयमा भने बिहान–बेलुकी बालबालिकाहरू सडकछेउमा लालिगुराँसका फूल लिएर उभिन्छन् ।

डडेल्धुरामा केही वर्षपहिले लालीगुराँस फूलको जुस बनाउन शुरु गरिएको थियो । जिल्ला सदरमुकाममा रहेको ऋषिखोला सामुदायिक वनले तत्कालीन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गरेको थियो । बजारको व्यवस्थापन हुन नसक्दा जुस उत्पादन कार्य बन्द भएपछि अहिले लाखौँ रुपैयाँ बराबरका लालीगुराँस जंगलमै खेर जान थालेको छ । वनभरी लालीगुराँसका फूल फूलेर पर्यटकलाई लोभ्याउने भए पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक पर्यटकहरू पनि लालगुँराससँग रमाउन सकेका छैनन् ।

विशेषगरी जिल्लाको सदरमुकाम क्षेत्रका विभिन्न वनसहित उच्च लेकाली भागमा लालीगुराँस ढकमक्क फुलेको देख्न पाइन्छ । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानवस्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत उपयोगी रहेको भनिए पनि त्यसको सदुपयोग नहुँदा कुहिएर खेर गइरहेको छ ।

लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा मान्यता दिइएको छ । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा लालीगुराँस अङ्कितत छ । नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरै पटक हुलाक टिकट तथा हुलाक बस्तुमा प्रकाशन भइसकेको छ । यस मनमोहक फूललाई अङ्ग्रेजी भाषामा ‘रोडोडेनड्रन’ भनेर चिनिन्छ ।

लालीगुराँसलाई एक महत्वपूर्ण औषधीका रूपमा पनि लिइन्छ । यसको विधिवत सेवनबाट बाथरोग ठिक हुने, पाचन प्रणालीलाई ठिक गर्ने र रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकाले यो एउटा फूल मात्र नभइ औषधीय उपचारका लागि पनि प्रसिद्ध छ । यसको प्रयोगबाट विभिन्न किसमका रोग निको हुने पतन्जली योग समिति सुदूरपश्चिम प्रदेश सप्रभारी (उपाध्यक्ष) गोविन्द खडायतले बताए ।

यसरी यो पूmल हेर्नमा जति राम्रो छ उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिहरूमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । रातो रङ्गको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदयरोग लगायत केही गम्भीर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डीको दुःखाइ र उच्च रक्तचापमा लाभ पुग्ने विज्ञजनको दाबी छ ।

गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि फूल सुकाएर राख्न सकिन्छ । गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता पनि रहेको जानकारहरू बताउँछन् । लालीगुराँस साधारणतया माघ-फागुन देखि वैशाख-जेठ सम्म फूल्ने गर्छ । तर छिटो फूल्ने ठाउँमा यो फुल पुस महिनामै पनि फूलेको देख्न पाइन्छ ।