याक एन्ड यतिमा घलेले राखेको प्रस्ताव अस्विकार गरेको पन्तको खुलासा

याक एन्ड यतिमा घलेले राखेको प्रस्ताव अस्विकार गरेको पन्तको खुलासा


गैरआवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुमार पन्तले निवर्तमान संरक्षक शेष घलेले राखेको प्रस्तावलाई ठाडै अस्विकार गरेको बताएका छन् ।

काठमाडौंमा जारी एनआरएनको १०औं महाधिवेसनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सय जना प्रतिनिधिबीच मात्रै मतदान प्रक्रिया अपनाएर नेतृत्व चयन गर्न घलेले राखेको प्रस्ताव अस्विकार गरेको जनाएका हुन् । पूर्वअध्यक्ष घलेको नाम नै नलिई अध्यक्ष पन्तले एनआरएन फुटाउने उनको प्रयास पनि असफल भएको दाबी गरेका छन् ।

‘हिजो अस्ति केही दिनअघि पनि गैरआवसीय संघको महाधिवेसन भनेर आयोजना गरिएको थियो, त्यसलाई जोक सम्झिए पनि सम्झनुहोस्’, पन्तले उदघाटन सत्रमा भने, ‘त्यहाँ रहेका साथीहरुले यो संगठनलाई फुटाउन दिनुभएन, तपाईंले पहलकदमी गर्नुहोस् भन्नुभयो, उसोभए मैले केही गर्नुपर्छ भनेर सोध्दा निवर्तमान प्रमुख संरक्षकज्यूलाई भेटेर कुरा गर्नुहोस् भन्ने सुझाव आयो ।’

निवर्तमान संरक्षक घलेसँग भएको वार्तालापका बारेमा थप जानकारी गराउँदै पन्तले अगाडी भने, ‘मैले पटक पटक उहाँलाई म्यासेज गरे, फोनै गरेर आउनुहोस् मिलेर काम गरौँ भने, तपाईं एक्लैले यसरी काम गर्न मिल्दैन, यो नेपालीहरुको चाहाना पनि होइन भने, उहाँसँग विभिन्न राष्ट्रका समन्वय परिषदका सदस्य पनि उपस्थित रहेछन्, उहाँहरुले पनि आग्रह गर्नुभयो ।’

एनआरएनको विभाजनलाई जोगाउनका लागि स्वयं घले पक्षद्वारा गरिएको भनिएको महाधिवेशन स्थल याक एन्ड यतिमा पनि पुगेको पन्तको भनाइ थियो । ‘म आफै याक एन्ड यति गए, उहाँले कार्यक्रम सुरु भइसकेको छ यसैलाई अब क्यारीअन गर्नुहोस् भन्नुभये, मैले भनेँ- अदालतमा मुद्धा चलेको छ, अदालतले चुनाव नगराउनु भनेको छ, चुनाव गराउनतर्फ लागियो भने समस्या पो हुने हो कि ? बरु यसलाई प्रि-कन्फ्रेन्स भनौँ, महाधिवेशन उदघाटन भयो, हिजो हामी थिएनौ तर पनि उदघाटन समारोह मान्न तयार छु तर त्यसरी भन्दा के पो हुने हो कि, पहिला वकिलहरुसँग सल्लाह गर्छु, यदि सही रैछ भने म क्यारीअन गर्न मञ्जुर छु ।’

घलेसँग याक एन्ड यतिमा भएको वार्ताका बारेमा अध्यक्ष पन्तले थप अगाडि भने, ‘तर, उहाँको सर्त थियो- हिजो रजिस्टर्ड भएका मान्छेहरु अर्थात झन्डै सय जनाको बिचमा चुनाव गराउनुहोस, उहाँका अनुसार त्यो मेरो कर्तब्य रे, अन्तर्राष्ट्रिय समन्वय परिषदको काम रे, अनि म अब यो जोकमा फस्दिनँ भनेर त्यहाँवाट जुरुक्क उठेर हिँडेँ ।’

उनका अनुसार घलेका आग्रहमा उपस्थित हुन आएका प्रतिनिधिहरुले पनि ‘एनआरएनलाई फुटाउने काममा लाग्नुभएको रहेछ भन्ने बुझ्नुभएछ, पछि मलाई आएर भन्ने उहाँहरुले नै भन्नुभयो- हामी तपाईंको पक्षमा छौं, अघि बढ्नुहोस भनेर साहस दिनुभयो, अहिले हामी एकताबद्ध भएर उभिएका छौँ ।’

घलेबाहेक एनआरएनएका सबै पूर्वअध्यक्षहरु उपस्थित कार्यक्रम काठमाडौंमा जारी छ ।