पहिला सिंहदरबार नै भत्काउने हो कि ?

पहिला सिंहदरबार नै भत्काउने हो कि ?


मुलुकमा गणतन्त्र आएपछि ठूलै अमनचैन मिल्ला भन्ने आशमा रहेका नेपाली जनतालाई सरकारले राहतका रूपमा राजा त्रिभुवनको सालिक हटाइदिने निर्णय गरेको छ । शान्ति सुरक्षा कायम गर्न नसके पनि भ्रष्टाचार रोक्ने प्रयास नगरे पनि या मूल्यवृद्धि घटाउन नसके पनि दलहरूले नेपाली जनतालाई पछिल्लोपटक तोकिएको समयमा संविधान बनाइदेलान् भन्ने अपेक्षा गरिएको थियो तर राजनीतिक दल र संविधानसभामा देखिएका गतिविधिले त्यो दिन आगामी केही महिनाभित्रै आउला भनेर विश्वास गर्न सकिँदैन । एउटै मात्र उद्देश्यले केन्द्रित संविधानसभाबाट संविधानको अपेक्षा गर्नु कुनै ठूलो कुरा पनि होइन । त्यसो त, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि धेरै बेथितिहरूमा सुधार आउने अपेक्षा पनि गरिएको थियो । रातारात सबै कुरा ठीक पार्नका लागि जादुको छडी उहाँसँग थिएन तर पनि गर्न सकिने र गर्नुपर्ने धेरै कुराहरू थिए । ती सब कुरा गर्न नसकेपछि जनताको ध्यान ‘डार्इभर्ट’ गर्नका लागि भट्टराई सरकारले ठूलै काम गरेझैं गरेर सहिदगेटमा रहेको राजा त्रिभुवनको सालिकलाई त्यहाँबाट हटाउने निर्णय गर्‍यो । निर्णय यसरी गरियो मानौँ सरकारलाई कामकाजका लागि सबैभन्दा ठूलो बाधकतत्त्व त्यही सालिक थियो र हटाएपछि अब सब ठीक हुन्छ । निरङ्कुश राणाशासनलाई हटाउनमा राजा त्रिभुवनले जनतालाई पूर्ण साथ दिएका थिए सोही कारणले राणा शासकहरूले हत्या गरेका चार सहिदसँगै त्रिभुवनको सालिक राखिएको थियो । भोलि यो मुलुकमा माओवादीद्वारा घोषित सहिदहरूलाई एकै ठाउँ राखेर प्रचण्ड बाबुरामहरूको सालिक उनीहरूसँगै राखियो भने जसरी अनौठो मान्नुपर्दैन त्यसैगरी तत्कालीन सर्न्दर्भमा त्रिभुवनको सालिक त्यहाँ राखिनु कुनै आर्श्चर्यजनक कुरा थिएन । जिउँदा सहिद रामहरि शर्मा यसका साक्षीका रूपमा अहिलेसम्म जीवित हुनुहुन्छ । राजा त्रिभुवनले आफ्नो ज्यान हत्केलामा राखेर कसरी प्रजातन्त्रका लागि जनतालाई आह्वान गरेका थिए भन्ने कुरा यति छोटो अवधिमै बिर्सन चाहनु भनेको ठूलै कृतघ्नता पनि हो । यो मुलुकको इतिहासप्रति अलिकति पनि संवेदनशील मानिसहरूलाई यो मुलुकका सक्कली सहिदहरूसँगै त्रिभुवनको सालिक राखिएको कुरा कहिल्यै असहज लागेन, लाग्ने छैन । राणाकालको सङ्घर्षताका यो मुलुकमा माओवादीको उदय नभएका कारण त्यो सङ्घर्षलाई अवमूल्यन गरिएको हो भने त्यो अलग कुरा हो, होइन भने यस्ता कार्यहरूले छुद्रता र मानसिक दर्रि्रताबाहेक अरू कुराको प्रदर्शन गर्दैनन् । जसले जे गरे पनि इतिहास इतिहास नै हो, वर्तमानमा आफू रहँदा सङ्घर्षशील इतिहासलाई सम्मान दिन नसक्नेहरूलाई भोलि अरूले सम्मान दिइरहन्छन् भन्ने पनि छैन । आफूले सम्मान पाउनका लागि अरूलाई सम्मान दिन सक्नुपर्छ, इतिहास जति मेटाउँदैमा मेटिने कुरा होइन । त्रिभुवनको सालिक त्यहाँबाट हटाउँदैमा राणाशासन हटाउन उहाँले नेपाली जनतालाई दिएको साथको इतिहास अलग्गिँदैन न त पृथ्वीनारायण नगरपालिकाको नाम हटाएर गोरखा राख्दैमा या उहाँका सालिकहरू ढाल्दैमा पृथ्वीनारायण शाहले यो देशको एकीकरण गरेको कुरा नै मेटिन्छ । जसले जतिसुकै निमिट्यान्न पार्न खोजे पनि इतिहासको महत्त्व आफ्नै प्रकारको हुन्छ र सभ्य संसारका मानिसहरू इतिहासलाई संरक्षण गर्छन्, मेटाउदैनन ।
यो मुलुकमा अचम्मै भयो, माओवादी आन्दोलनको सुरुदेखि नै इतिहासलाई निमिट्यान्ने प्रयासहरू गरियो । शान्तिप्रक्रियामा आएपछि यो कार्यले थप गति लियो । राष्ट्रका निर्माताको सालिक त भत्काइयो भने अरू कुरा त गौण नै भए । हामी नेपाली यति कृतघ्न भयौँ कि यही देशमा बसेर, यही देशको नागरिक भन्नुमा गर्व गर्दै यो देश निर्माण गर्नेको त इज्जत गर्न सकेनौँ भने अरू त हामीबाट अपेक्षा गर्ने कुरा नै के रहन्छ र ? भनिन्छ, आफूलाई जन्म दिने आमाबाबु र आफ्नो पहिचानका लागि अगाडि बढाइदिने मानिसको सम्मान गर्न नसक्नेले कसैको पनि सम्मान गर्न सक्दैन । उसलाई भोलि अरूले गर्ने पनि त्यस्तै नै हो । अहिलेका जल्दाबल्दा नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने हिजो यो देश बनाउनेलाई त हामीले इज्जत गर्न सकेनौँ भने आफू सत्तामा जानका लागि गरिएको सङ्घर्षको नेतृत्व गर्नेहरू भोलिका पुस्ताका लागि को हुन् र ? कोही पनि होइनन्, इतिहासमा आफू अमर रहन चाहनेले त अरूको अमरत्वको रक्षा पनि गर्न सक्नुपर्छ ।
मुलुकका धेरै कुरा इतिहाससँग कुनै न कुनै रूपले जोडिएका हुन्छन्, हामीकहाँ मात्रै होइन यो सबै मुलुकमा लागू हुने कुरा हो । भारतमा पनि राजा-महाराजा थिए, तिनका इतिहासका गाथाहरूलाई कसरी संरक्षण गरेर राखिएको छ भन्ने कुरा भारतमै दीक्षित प्रधानमन्त्री भट्टराईलाई सम्झना गराइरहनुपर्ने कुरा होइन । सोही इतिहासलाई आधार बनाएर अहिले भारतमा पर्यटकहरूको सङ्ख्या बढाउने काम भइरहेको छ । वास्तवमा भन्ने हो भने इतिहास मेटाउन खोज्नु आफैंमा मूर्खतासिवाय केही होइन, के मेटाउने ? कतिसम्म मेटाउने ? सालिक त भत्काइएला त्रिभुवनका नाममा स्थापित त्रिभुवन विश्वविद्यालयलाई के गर्ने, त्रिविको नाम हटाइएला त्यहाँबाट पहिल्यै लिइसकिएका योग्यताका र्सर्टिफिकेटहरूलाई के गर्ने, त्रिभुवन विमानास्थल, पार्क तिनलाई कता लाने ? यस्तै गर्दै जाने हो भने सबैभन्दा पहिला त निरङ्कुश राणाहरूले बनाएका दरबार सबैभन्दा पहिला भत्काउनुपर्‍यो । उनीहरूले बनाएको सिंहदरबारमा बसेर यसप्रकारका निर्णयहरू गर्न सरकारमा रहेका व्यक्तिलाई सुहाउँदैन । सिंहदरबारको सबै भौतिक संरचना भत्काएर नामसमेत परिवर्तन नगरी यस्ता निर्णय गर्ने नैतिक धरातल कसैको पनि रहँदैन । सिंहदरबार मात्र होइन, वीर अस्पताल भत्काउनुपर्‍यो, गोरखा पत्रलाई सरकारी मुखपत्र बनाइनुभएन, त्रिचन्द्र कलेज राखिनुभएन, केशरमहललाई हटाउनुपर्‍यो । गोरखा दरबारलाई ध्वस्त पार्नुपर्‍यो । यस्ता इतिहाससँग प्रत्यक्ष जोडिएका कुराहरूलाई मेटाउन खोजेर सफल भइएला भन्ने ठान्नु आफैंमा आर्श्चर्यजनक कुरा हो । निर्माणका नाममा वर्षौंदेखि जीर्ण रहेका घरहरूको रंगरोगन गर्न नसक्नेले अनेक कुतर्कसहित सस्ता कुरा गर्दै हिँड्नु निर्लज्जताको नमुनाबाहेक केही पनि होइन ।
वास्तवमा इतिहास भन्ने कुरा मेटाउने होइन, आत्मसात् गर्दै संरक्षण गर्ने कुरा हो । हामीमध्ये धेरैका बाबु या आफन्तहरू पञ्चायतमा थिए, उनीहरू पञ्चायतमा काम गर्थे, हामी नयाँ व्यवस्थाका गणतन्त्रवादी भनेर उहाँहरूलाई बागमतीमा लान मिल्छ ? अरू कुराहरू पनि यस्तै हुन् । चन्द्रशमशेरका नामबाट यहाँ धेरैको नाम चन्द्र राखिएको छ, महेन्द्र, त्रिभुवन, ज्ञानेन्द्रलगायतका नाम त कति छन् कति । स्वयम् प्रधानमन्त्रीको नाममा ‘राम’ छ, राम प्रजा थिएनन्, राजा नै थिए । नेता कृष्ण महराको नाम उहाँका बाबुआमाले भगवान् कृणबाट प्रभावित भएर मेरो छोरो कृष्णजस्तै प्रभावशाली र बौद्धिक होस् भन्ने चाहनाले राख्नुभएको हो भनेर अनुमान गर्न गाह्रो पर्दैन । समग्रमा भन्नुपर्दा हामी धेरै कुरामा इतिहाससँग कुनै न कुनै रूपमा जोडिएका छौँ । यस्ता कुरालाई निमिट्यान्न पार्ने असफल प्रयासतिर लागेर जनताको ध्यान तान्न खोज्नुभन्दा इतिहाससँग जोडिएका कुराको संरक्षण गर्दै मुलुकलाई सङ्क्रमणकालबाट मुक्ति दिनपट्टि लाग्दा नै राम्रो होला ।