‘आफ्नो इतिहासकै चुनौतीपूर्ण अवस्थामा एनआरएनए’

‘आफ्नो इतिहासकै चुनौतीपूर्ण अवस्थामा एनआरएनए’


  • सागर सुवेदी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको मिति नजिक आउँदै गर्दा डायस्पोरामा चुनावी सरगर्मी बढिरहेको छ भने अर्कोतर्फ संस्थाभित्रको विवादले पनि चरम रूप लिएको देखिँदै छ । यस्तै गर्मागर्मीका बीच निर्वाचनमा भाग लिने प्रतिनिधिहरूका सुझाव सुन्ने र उम्मेद्वारहरूले पनि अहिले भइरहेका र हुन सक्ने सम्भावित विषयहरूलाई जोडेर अन्तर्क्रिया खालको ‘मिट द टिम’ भन्ने कार्यक्रम गर्दै आइरहेको छ । यो कार्यक्रम विशेषतः ‘टिम बद्री’ले वर्तमान अवस्थालाई प्रतिनिधि-तहमा संघको अधिवेशन पुऱ्याउने उद्देश्यले गरेको बताएको छ ।

यसै सिलसिला शनिबार (मार्च १९) मिट द टिम बद्रीले अमेरिका क्षेत्र लक्षित गरेर त्यहाँस्थित एनआरएन अभियन्ता तथा मतदानमा भाग लिने अधिवेशन प्रतिनिधिलाई जोडेर अनलाइन कार्यक्रमको आयोजना गऱ्यो । सो कार्यक्रममा सङ्घारमै आइपुगेको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार डा. बद्री केसी र अमेरिकानिवासी अध्यक्षका प्रत्यासी तथा वर्तमान कार्यकालका उपाध्यक्ष रविना थापाले पनि सम्बोधन गर्नुभयो ।

उक्त कार्यक्रमलाई एनआरएनएका वर्तमान सचिव तथा आगामी कार्यकालका लागि महासचिवका प्रत्यासीसमेत रहेका गौरी जोशीले सञ्चालन गर्नुभएको थियो, जसमा जोशीले विशेष समय लिएर सम्बन्धित क्षेत्रका अधिवेशन प्रतिनिधिलाई सम्बोधन पनि गर्नुभयो ।

सम्बोधनका क्रममा जोशीको भनाइ थियो- ‘आज एनआरएनए यसको इतिहासमै एक कठिन चुनौतीको डिलमा उभिएको छ । वर्तमान घडीलाई हामीले अत्यन्त नजिकबाट महसूस हुनेगरी हेरिरहेका छौँ । आज हामी जुन बाटोमा हिँड्न खोजिरहेका छौँ त्यो बाटो हिजोको दिनभन्दा कयौँ गुणा बढी चुनौतीको चाङमा अवस्थित छ । हामीले स्थापनादेखि नै उठाउँदै आएको समग्र गैरआवासीय नेपालीका महत्वपूर्ण मुद्दालाई सम्बोधन गराउने चुनौती एकातर्फ छ भने अर्कोतर्फ हाम्रै सहकर्मी मित्रहरू र अग्रजहरू फरक बाटोमा हिँड्न खोजिरहेको अवस्थामा उहाँहरूलाई मनाएर एकताबद्ध तुल्याउँदै संघलाई एकताको सुत्रमा बाँध्नुपर्ने चुनौतीसँगै विविध मुद्दामा काम गर्नुपर्ने अवस्था पनि छ । यसका लागि म खुला दृष्टिकोणबाट यहाँहरूको सुझाव लिएर अघि बढ्नेछु र, यसमा तपाईंहरूको सहयोगको अपेक्षा गरेको छु । आगामी दिनमा तपाईंहरूको हर सुझावलाई विनम्रतापूर्वक लिएर म एनआरएन अभियानमा प्रतिबद्ध रहनेछु ।’

काठमाडौंमा अर्कै समिति निर्माण गरेर शेष घले समूहले प्रत्यक्ष निर्वाचन गराउने भन्दै आइरहेको परिवेशमा कसरी संघलाई एक बनाएर अगाडि लैजाने भन्ने विषयलाई प्राथमिकतामा राख्दै गैरआवासीयका मुद्दामा काम गर्नका लागि कार्यक्रमका सहभागीहरूले उम्मेदवारका आकाङ्क्षीहरूको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमलाई क्यानाडानिवासी सचिवका प्रत्यासी चिरन्जीवी घिमिरे र जापाननिवासी अर्का सचिवका उम्मेदवार ओम गुरुङले पनि सम्बोधन गर्नुभएको थियो ।