नेपालमा हराएको मूर्ति बेलायतमा फेला

नेपालमा हराएको मूर्ति बेलायतमा फेला


बेलायतबाट नेपाललाई दूतावासमार्फत मूर्ति हस्तान्तरित

लन्डन । हिजो बेलायतस्थित नेपाली दूतावासमा बेलायत सरकारले नेपालमा हराएका दुइटा प्राचीन ढुंगा तथा काठमा कुँदिएका उक्त मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त मूर्तिहरु नेपाली दूतावास लण्डनमा हिजो आयोजित उक्त विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन्।

बेलायत सरकारबाट हस्तान्तरित उक्त मूर्तिहरुमा पहिलो १६ औं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौं हनुमानढोका कुमारी बहाबाट हराएको थियो र दोस्रो १८ औं शताब्दीतिर कुँदिएको घुंडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालस्थित मन्जुश्री मन्दिरबाट हराएको थियो । केहीअघि गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट लन्डन महानगरीय प्रहरीले ति मूर्ति बरामद गरेको थियो ।

गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको छ ।