जापानमा बुधबार राति गएको भूकम्पमा परेर तीन जनाको मृत्यु

जापानमा बुधबार राति गएको भूकम्पमा परेर तीन जनाको मृत्यु


  • विशेष प्रतिनिधि, जापान

उत्तरपूर्वी जापानको फुकुशिमा क्षेत्रलाई केन्द्र बनाएर गएराति ११ः३६ बजेतिर गएको भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ भने १ सय २६ जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

जापानको मियागी र फुकुसिमा क्षेत्रमा बुधबार राति ७.३ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्प मियागी र फुकुसिमा क्षेत्रमा एक मिटर माथिसम्मको सुनामी आउन सक्ने बताइए पनि सुनामीको खतरा भने टरेको छ ।

जापानी संचारमाध्यमहरुले जनाएअनुसार मियागी प्रिफेक्चरमा ४४, फुकुसिमा प्रिफेक्चरमा ३०, इवाते प्रिफेक्चर र यमागाता प्रिफेक्चरमा ३∕३ जना गरी देशभरमा लगभग १ सय २६ जना घाइते भएका हुन् ।

पछिल्लो विवरणअनुसार मियागी र फुकुसिमा क्षेत्रका करिब ३५ हजार ६०० घर धुरीमा विद्युत आपुर्ति बन्द भएको छ । त्यस्तै, जापानको रेल सेवासमेत प्रभावित भएको समाचारहरु प्रशारण भएका छन् ।

९६ जना यात्रु लिएर जापानको टोकियो बाट सेन्दाइ जाँदै गरेको बुलेट ट्रेन भुकम्पका कारण सामान्य दुर्घटनामा परेको छ । मियागी प्रिफेक्चरको सिराइसी नगरपालिकामा गुडिरहेको यामाबिको २२३ ट्रेन भूकम्प गएपछि इमर्जेन्सी ब्रेक लगाउँदा सामान्य दुर्घटनामा परेको जनाइएको छ ।

उक्त ट्रेनमा रहेका यात्रुहरुलाई झन्डै ४ घण्टापछि ट्रेनको इमर्जेन्सी ढोकाबाट बाहिर निकालिएको थियो । सबै यात्रु सुरक्षित रहेको पूर्वी जापान रेल वे कम्पनीले जनाएको छ ।