बेल्जियम दर्पणमा ‘अनेसास’को नाम हराएपछि…

बेल्जियम दर्पणमा ‘अनेसास’को नाम हराएपछि…


  • डिल्ली अम्माई

अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमका संस्थापक महासचिव रमेश कँडेल अहिले एनआरएनए बेल्जियमका समेत महासचिव हुनुहुन्छ । बेल्जियममा सन् २००७ को तिहार अर्थात् लक्ष्मीपूजाको दिनमा नेपाली साहित्यप्रेमीहरूको एउटा भेलाले साहित्यकार कृष्ण बजगाईंको नेतृत्वमा अन्तराष्ट्रिय साहित्य समाजको गठन गर्ने ऐतिहासिक निर्णय गऱ्यो, जसमा रमेश कँडेल महासचिव बन्नुभयो । त्यसैले यी नाम अनेसास बेल्जियमका बिर्सनै नसकिने नाम हुन् । त्यसपछि क्रमशः उपाध्यक्ष विमल गिरि, सचिव शंकर बजगाईं, कोषाध्यक्ष कुम शाहीलगायत सिंगो टिम अनेसास बेल्जियमका सप्तऋषि जस्तै चम्किला पुञ्ज हुन् । जसले एउटा साहित्यिक चौतारो चिनेर बेल्जियमका साहित्यप्रेमीहरूलाई सौगातस्वरुप सुम्पिए । त्यो चौतारो अहिलेसम्म भत्केको छैन । ज्युँकात्यूँ चौतारो बस्नलायक छ ।

अनेसास बेल्जियमको लागि एउटा गर्वको कुरा हो कि अहिले आएर आफ्नो संस्थापक महासचिव सिंगो बेल्जियम समाजलाई नेतृत्व गर्ने एनआरएनमा समेत महासचिव हुनुभएको छ । त्यसैले उहाँलाई बेल्जियमका सम्पूर्ण साहित्यप्रेमीहरुले संस्थागत रूपमा सम्मान गर्नु पर्दछ, यो पङ्क्तिकारको मात्र नभइ सम्पूर्ण साहित्यप्रेमीको माग हो ।

एनआरएनएका वर्तमान महासचिव साहित्यप्रेमी तथा लेखकहरूलाई सम्मान गर्ने, साहित्यिक संघहरुको सदैव प्रगतिको चाहना राख्ने र भाषा साहित्यको उन्नयनमा आफ्नो देशको पहिचानको छवि देख्ने कारणले नै हुन सक्छ, बेल्जियमले कार्यकालको प्रारम्भिक चरणमा नै ‘बेल्जियम दर्पण’ पाएको छ । यो संगालोमा कवि दीपेन्द्र केसी, विमल गिरिलगायतका केही उत्कृष्ट कविता समेटिएका छन् । जातिय उत्पीडनको विरुद्ध लेखिएको यशु थापाको एक सशक्त कथा यसमा छ । अन्य धेरै जानकारीमूलक लेख रचना र परिचयात्मक गद्यहरू समेटिएका छन् । यो कृति वा सँगालो आफैंमा बेल्जियमको बारेमा चासो राख्नेहरूका लागि सानो तर विशेष संग्रहालय जस्तै हो ।

यसमा विवाद छैन कि बेल्जियम दर्पण प्रकाशित गर्न पत्रकार सनत आचार्यलगायत एनआरएनए समितिका पदाधिकारीहरूको सशक्त मिहिनेत परेको छ । विशेषगरी अध्यक्ष खड्क केसी र महासचिव रमेश कँडेलको निर्णायक त्यागसमेत यसमा छ । त्यसको लागि पङ्क्तिकार सम्पादक मण्डल, प्रकाशक र सहयोगी सबैलाई सलाम अर्पण गर्दछ ।

तर दुःखका साथ भन्नुपर्छ, ‘बेल्जियम दर्पण’को पेज नम्बर ५८ मा बेल्जियमका साना-ठुला, राता-सेता, राष्ट्रिय-क्षेत्रिय वा जातीय सम्पूर्ण संघ-संस्थाको नाम राखिएको रहेछ । त्यतिका नाम समेटिँदा अनेसास बेल्जियमको भने अभिलेखमा नाम अटेनछ । रमेश कँडेलले स्थापना गरेको अन्तर्राष्ट्रिय नेपाली साहित्यको नाम उहाँद्वारा नै सम्पादित कृतिमा भेटिएन । त्यो पानामा अनेसास बेल्जियमको नाम भेटियोस् भन्ने कामनाका साथ पटक-पटक पल्टाएँ, कैयन पटक हेरेँ तर हेरेकोहेऱ्यै भएँ । अनेसास बेल्जियमको नाम बेल्जियममा रहेका संघ-संस्थाहरूको लिष्टमा थिएन ।

धेरै पछि पेज ९९ मा एनआरएन बेल्जियमका वर्तमान अध्यक्ष खड्कबहादुर केसीले प्रमुख अतिथिको आसनबाट बोल्दै गरेको तस्बिरपछाडि अनेसासको ब्यानर देखेपछि हृदयले मनलाई भन्यो- ‘साथी, विज्ञापनको ब्यापार गर्न जानेनौ के भो त, नाम छुट्यो झन् उज्यालो ब्यानर भेटियो ! सम्पूर्ण समाजलाई पछाडिबाट उज्यालो प्रकाश बालेर बाटो देखाउने अनेसासको ब्यानरको अघिल्तिर एनआरएनका अध्यक्ष नै छन् ।’ यसरी असन्तुष्ट मनलाई थुम्थुम्याएँ । त्यसैले प्रकाश र ज्ञानको गणना अंक र अक्षरमा गर्न सकिँदैन भनिएको होला । दर्पणमा बिर्सिन लागेका अनुहार देखाइन्छ तर बिर्सनै नसकिने अनुहारको दर्पण त मानिसको हृदयभित्र मात्र हुन्छ ।

राष्ट्र र राष्ट्रिय जातिको सांस्कृतिक, भाषिक र साहित्यिक पहिचान न्वारनदेखि शुरु भएर मृत्युपर्यन्त जीवित रहन्छ । कहीँ लेखिरहनु आवश्यक पर्दैन । नतिर्ने ऋणीसँग मात्र तमसुक लेखिन्छ । तसर्थ तमसुक केवल वर्तमानको शंकाका कारण आवश्यक पर्ने हो ।

माथिको सकारात्मक भावलाई मनन गरेर ‘बेल्जियम दर्पण’को अभिलेखमा अनेसासको नाम नराखिएको हो भने यो संस्था सदैव एनआरएनए बेल्जियम, त्यसको सम्पादक टिम र प्रकाशक मण्डलप्रति आभारी रहने छ । विशेषगरी अन्तर्राष्ट्रिय साहित्य समाजका संस्थापक महासचिव सोही पदमा विराजमान हुनुहुन्छ । उहाँलाई हामीले हाम्रै संस्थापक अग्रजको रुपमा मात्र नभएर साझा संस्थाको महासचिवको रुपमा समेत सदैव आभार ब्याक्त गरिरहने छौँ ।