एनआरएनएको यो दुर्दशा किन र कसरी ?

एनआरएनएको यो दुर्दशा किन र कसरी ?


विश्वभरि छरिएका आम नेपाली कसैका दास होइनन् । कुनै ब्यापारी वा राजनीतिप्रेरितका ती हली बन्न पनि तयार छैनन् । हजारौँ हजार मिली सामाजिक सेवाभावले बनाएको यो संस्थालाई राजनीतिक वा ब्यापारिक स्वार्थमा राइँदलो गर्न दिने पक्षमा पनि छैनन् आम प्रवासी नेपाली ।
  • कृष्ण लामिछाने

दुई दशक लामो इतिहास बोकेको प्रवासी नेपालीहरूको एक मात्र साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आज किन दूरावस्थाबाट गुज्रिन पऱ्यो भन्ने आजको गम्भीर प्रश्न हो । वर्तमान समस्या निरुपण गर्न यसको उत्तर खोजिनुपर्छ । एउटा स्थापित संस्था । सबै प्रवासी नेपालीको हक, हित र अधिकार, धर्म, रितिरिवाज, भाषा र संस्कृतिलगायत आर्थिक र राजनीतिक अधिकारसमेतका लागि लड्न स्थापित यो संस्थाको अवस्था गम्भीर बनाइएकोे छ । आजको अवस्थामा पुऱ्याउन र पुग्नका लागि जानी-जानी लाग्नुभएका अग्रजलगायत वर्तमान समितिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वले जिम्मा लिइ सम्पूर्ण नेपालीलाई एक बनाउन लाग्नुपर्ने बेलामा जिम्मेवार ब्यक्तिबाटै एकले अर्कोलाई खुइल्याउने कार्य भएको छ । यसले नेपालीलाई थप विभाजन गरिरहेको छ । संस्थालाई झन्-झन् कमजोर पारिरहेको छ । यो देख्दा साधारण पञ्जिकृत सदस्यहरूको मन कटक्क खान्छ, र पनि मुकदर्शक भएर बस्नुपर्ने अवस्था छ ।

कुनै पनि संस्थालाई जीवन्त राख्न, प्रवाहित गराइरहन निर्वाचन एक अभिन्न अङ्ग हो । निर्वाचनबाट भाग्ने, तर्किने बहाना बनाउनु हामीजस्तो विकसित राष्ट्र, प्रजातान्त्रिक मुलुकमा बस्ने र प्रजातान्त्रिक पद्दति चाहनेका लागि सुहाउने कुरो होइन ।

संस्थाको नेतृत्वका लागि मतदाताले रोज्ने हो नेतृत्व । उमेदवारले मतदाताको मन जित्न सक्नुपर्छ । यो मेरो भोट र त्यो अर्काको भोट भन्ने कुरै हुँदैन । किनकि मतदाताले जसले राम्रो काम गर्छ, विगतमा गरेको थियो र नेतृत्व गर्न सक्ने देख्छन् उसैलाई रोज्छन् । मतदाताको मन मत हाल्ने अन्तिम क्षणमा पनि बदलिन सक्छ । त्यसैले उम्मेदवारले यसको मत र त्यसको मत भनेर बस्ने नै होइन ।

आफ्नो देश र प्रवासी नेपालीको हकहितमा काम गर्छु, सेवा गर्छु भन्ने कसम खाएर आएका एनआरएनएको कुनै पनि तहमा रहेका नेतृत्वकर्ताले सोच्नुपर्ने बेला छ । देश र प्रवासीका लागि काम गर्छु भनेर कसम खाएर आउनुभएका अभियन्ताहरूले चिन्तन-मनन गहिरोसितै गर्नुपर्ने बेला छ । नेतृत्वप्राप्तिका लागि केहिबेर झुट बोले पनि त्यसले राति सुत्ने बेला पनि आफ्नै मन पोल्न सक्छ । छाती चसक्क पार्न सक्छ ।

एनआरएनएको नेतृत्व गरिसक्नुभएका पूर्व अध्यक्षहरूले मान-सम्मान राम्रो पाउनुभएको थियो । संस्थाका आम सदस्यको उहाँहरूसित अपेक्षा पनि थियो । तर उहाँहरूले आफूलाई दिइएको मानसम्मान जोगाउन सक्नुभएन । ती अपेक्षाहरू पूरा गर्न सक्नुभएन । यति भनिरहँदा कसैलाई चस्स लाग्ला । तर उहाँहरूकै क्रियाकलापले सारा गैरआवासीय नेपालीले दिएको सम्मान, आदर र अपेक्षा उहाँहरूले पूरा गर्न नसकेको छर्लङ्गै छ ।

त्यस्तो किन भयो ? कारण स्पष्ट छ । कुनै अमुक ब्यक्तिको पछाडि लाग्नुभयो । संस्थालाई बन्धक बनाउनुभयो । तपाईं भूपू अध्यक्ष र संस्थापकहरूकै भूमिका त्यही देखिन्छ ।

विश्वभरि छरिएका आम नेपाली कसैका दास होइनन् । कुनै ब्यापारी वा राजनीतिप्रेरितका ती हली बन्न पनि तयार छैनन् । हजारौँ हजार मिली सामाजिक सेवाभावले बनाएको यो संस्थालाई राजनीतिक वा ब्यापारिक स्वार्थमा राइँदलो गर्न दिने पक्षमा पनि छैनन् आम प्रवासी नेपाली ।

नेपालका केही अमुक पार्टीको निकट पुग्ने र केही स्वार्थी स्वनामका ठूला नेताहरूको पछि लागेर, तिनलाई खुशी बनाएर पार्टीको नाम भजाइ सामाजिक संस्थाको नेतृत्व हत्याउन खोज्नु गलत प्रवृत्ति हो । संलग्नता र स्वार्थ पार्टीतिर अनि नेतृत्व सामाजिक संस्थाको ! यो कसरी सुहाउँछ ? यस्तो दोहोरो चरित्रलाई कसरी मतदाताले पत्याउने ? राजनीतिक पार्टीको स्वार्थमै नेतृत्व हत्याउन खोजेपछि राजनीति र सामाजिक कर्मलाई अलग देख्न चाहनेले कसरी स्विकार्न सक्छ ?

तर त्यसो भनिरहँदा प्रजातान्त्रिक पार्टीमा रहे पनि सामाजिक काम गर्ने ब्यक्तित्वहरूलाई नेतृत्वमा लैजान आम मतदाता, एनआरएनहरू तयार छन् । तर जब एनआरएनए जस्तो सामाजिक संस्थामा प्रवेश गरिन्छ तब पार्टीको नाम बेचेर एनआरएन्एलाई दुर्गन्धित बनाउन र पार्टीको नाम बेचेर खान भने मिल्दैन, पाइँदैन । त्यसैले म फेरि भन्छु- एनआरएनएभित्र कुनै पनि राजनीतिक पार्टीको हस्तक्षेप, दबदबा, मनपरी र राजनीतिक निहित स्वार्थ प्रवेश नहोस् !

हिजो आजका एनआरएनए अभियन्ताहरू कुन-कुन रुपका प्रजातान्त्रिक आन्दोलनबाट खारिएर आउनुभएको हो ? विगतमा त्यस्ता राजनीतिक आन्दोलनबाट आउनुभए होला । त्यो राम्रो हो । तर जब एनआरएनएमा प्रवेश गरिन्छ यो सामाजिक सेवाका लागि हो, राजनीति गर्न होइन । एनआरएनएमा त्यसलाई प्रवेश नगराउनुहोला । एनआरएनएलाई पार्टी-राजनीतिबाट परै राख्नुहोला । जतिखेर राजनीतिक पार्टीलाई प्रवासी नेपालीको खाँचो पर्छ त्यो बेला उनीहरू एनआरएनए खोज्दै आउँछन् । हामीले यो संस्थालाई त्यही हैसियत, अडान र गौरवको बनाइराख्न सक्नुपर्छ । त्यसैले हामी जाने होइन कि एनआरएनए खोज्दै राजनीतिक पार्टीहरू आउनुपर्छ । यस्तो संस्था बनाउने पनि हामीले नै हो ।

एनआरएनएको नाम बेचेर केही स्वनामधन्य ब्यक्तिहरूबाट एनआरएनएलाई कुनै न कुनै बहानामा ब्यापार र लगानीका नाममा वितृष्णा फैलाउने काम गरिएको छ । एनआरएनएलाई यो स्वार्थबाट पनि अलग राख्नुपर्छ । हजारौँ एनआरएनले बनाएको यो संस्थालाई यस्ता ब्यक्तिहरूले पनि दुरुपयोग गरिरहेका छन् ।

विश्वभरि छरिएका आम नेपाली कसैका दास होइनन् । कुनै ब्यापारी वा राजनीतिप्रेरितका ती हली बन्न पनि तयार छैनन् । हजारौँ हजार मिली सामाजिक सेवाभावले बनाएको यो संस्थालाई राजनीतिक वा ब्यापारिक स्वार्थमा राइँदलो गर्न दिने पक्षमा पनि छैनन् आम प्रवासी नेपाली । तिनलाई राम्रोसित थाहा छ मत कसलाई या कस्ता ब्यक्तिलाई दिनुपर्छ । ती लाटा छैनन् । ती मतदाताको ठेक्का लिएझैँ गर्नु, तिनलाई भजाउन खोज्नु जरुरी छैन । जसलाई नेतृत्वको तिर्खा लाग्छ उसले तिनको मन जित्न सक्नुपर्छ ।

के एनआरएनए भनेको केवल ‘नेतृत्व’का लागि मात्रै हो त ? नेपाली नागरिकताको निरन्तरता, युवा वर्गको नेतृत्व, ज्ञान र सिपको परिचालन, महजदूरहरूका हक र विमाको ब्यवस्था, भाषा र संस्कृतिको संरक्षण, आर्थिक लगानी के हुन् यी ? कता गए यी मुद्दा ? यी तमाम मूल मुद्दालाई विषयान्तर गरेर जतिखेर पनि नेतृत्वकै मात्र चर्चा ?

हरेक वैधानिक संस्थाको आ-आफ्नो नीति-नियम हुन्छ । उसले विधान र नियमावली बनाएको हुन्छ । त्यो भनेको उसको स्वाश फेर्ने अक्सिजन भने जस्तै हो । रक्तसंचार गराउने मुटु हो । धमनी हो । त्यसले आम सदस्य, नेतृत्वकर्ता सबैलाई बाँधेको हुन्छ । संस्था त्यसैका आधारमा चल्छ । त्यही विधि र विधानअनुसार चलिदिए संस्था अगाडि बढ्छ । नेतृत्व गर्न चाहनेलाई पनि सहज हुन्छ ।

अहिले केही मुठ्ठीभर मानिसहरू भनिरहेका छन्, हामी एनआरएनए केन्द्रलाई तिर्नुपर्ने दस्तुर तिर्दैनौँ । केन्द्रलाई तिर्छौं, आवद्धताबापत । अन्तर्राष्ट्रिय संस्थाको छबी र ओज प्रयोग गरेबापत । त्यही संस्थाको नाममा नेतृत्व गरेबापत तिर्छौं भनेर साधारण सदस्यबाट लिएको रकम अहिले तिर्दनौँ, दिन्नौँ भनिरहेका छन् । साधारण सदस्यबाट जुन प्रयोजनका लागि लिएको हो त्यो नदिनु बेइमानी, सदस्यहरूप्रतिको बदमासी र झुटो काम होइन ? अन्तर्राष्ट्रिय संस्थामा बसेर नेतृत्व गर्ने, शान मान र पहुँच प्रयोग गरिसकेपछि शुल्क नै दिन्न भन्नु संस्थालाई फुटतिर लैजाने प्रयास हो ।

पूर्व र वर्तमान नेतृत्वकर्ताहरूले एक पटक छातीमा हात राखेर सोच्नुस् त, यो संस्थाको दुर्गति, यो अस्वस्थ विवाद, मान–सम्मानमा पुगेको चोट र किचलो देख्दा तपाईं-हाम्रा सन्ततिले के भन्लान् ? यतिबिघ्न आरोप र प्रत्यारोप, झैझगडा देख्दा हाम्रा छोराछोरीले तपाईं-हामीलाई कुन रूपले मूल्याङ्कन गर्दा हुन् ? के भन्दा हुन् ? अभिव्यक्त हुन नसक्नेले के सोचेका होलान् ?

देश, समाज र आम प्रवासीका लागि केही गर्न संस्थामा पद नै लिनुपर्छ भन्ने पनि छैन । संस्था रहे पद रहने हो । त्यसैले पहिले त संस्था रहनुपऱ्यो । त्यो संस्था सम्मानित, गौरव महसूस गर्ने अवस्थामा रहनुपऱ्यो । संस्था रहे पो पद । इज्जत जोगाए पो इज्जतिलो पद । त्यसैले एक कदम पछि हटेर पनि संस्था जोगाउनतिर लागौँ । संस्था रहे पद फेरि-फेरि लिउँला, नेतृत्वमा बसौँला भन्ने बेला हो यो ।

एनआरएनएमा के मतदाता, चुनाव, महाधिवेशन र अझ मुख्य एजेण्डा भनेकै दुई वर्षको नेतृत्वका लागि मात्रै जस्तो गरिएको छ । नेतृत्वका लागि मात्रै बहस, हल्ला, किचलो र आकाङ्क्षा देखिन्छ । के एनआरएनए भनेको केवल ‘नेतृत्व’का लागि मात्रै हो त ? नेपाली नागरिकताको निरन्तरता, युवा वर्गको नेतृत्व, ज्ञान र सिपको परिचालन, महजदूरहरूका हक र विमाको ब्यवस्था, भाषा र संस्कृतिको संरक्षण, आर्थिक लगानी के हुन् यी ? कता गए यी मुद्दा ? यी तमाम मूल मुद्दालाई विषयान्तर गरेर जतिखेर पनि नेतृत्वकै मात्र चर्चा ? के एनआरएनए नेतृत्वकर्ताका लागि मात्रै हो र ?

यो संस्थामा युवाहरूलाई माया, अग्रजहरूलाई सम्मान, एकअर्काप्रति सम्मानित ब्यवहार, दायालु र मायालु भाव, सिष्टतापूर्वक आफ्ना तर्कको प्रतुति र उठान । के यस्तो बनाउन सकिँदैन ? हामी सबैले सोचौँ ।

अहिले देखिएको समस्या खासमा भन्नुपर्दा प्रतिनिधि छनौटको पनि होइन । यो त संस्थामा कसले कब्जा जमाउने भनेर निकालिएको विवाद हो । यसलाई विवाद बनाएर निर्वाचनकै विरोध गर्नु बरु निर्वाचनबाट भाग्ने खोज्ने प्रवृत्ति हो । यो प्रवृत्ति कत्ति पनि प्रजातान्त्रिक होइन । मान्न सकिँदैन ।

सामाजिक संस्थामा पक्ष र प्रतिपक्ष भन्ने पनि हुँदैन, हुनु हुँदैन त्यस्तो ! निर्वाचनबाटै भाग्न खोजेर पनि कहीँ नेतृत्व चयन हुन्छ ? भाग खोजेर पाइन्छ ? प्रजातान्त्रिक तरिकाले निर्वाचित भएर आएर पो नेतृत्व, पद खोज्ने हो । सहमति, सहकार्य र सहयोग हुनुपर्नेमा यहाँ त माग र भाग खोजिएको छ । यस्तो कार्य सामाजिक संस्थामा हुन सक्दैन ।

अर्काथरिले फेरि कामचलाउको नारा दिइरहेका छन् । विधिसम्मत निर्वाचित भएर आएको र विधानतः कार्यकाल थपिएको समिति पूर्ण अधिकारप्राप्त हो । विधानतः अधिकारप्राप्त र वैधानिक हो । निर्वाचित र विधानअनुसार बनेको कार्यसमिति कसरी ‘कामचलाउ’ हुन्छ ? यस्तो समितिलाई पूर्ण अधिकार हुन्छ ।

त्यसैले मित्रहरू आउनुहोस्, सबैले आफ्नो इर्ष्या, दम्भ र विवाद छोडौँ । यो संस्थालाई सबैको साझा बनाउँ । ७० लाख नेपालीकै एक साझा संस्था बनाउँ । आफ्नो शक्ति, राजनीतिक नारा, इगो, ब्यापारको स्वार्थ त्यागेर, दम्भ छोडौँ । संस्थालाई एकजुट बनाउन हामी सबै लागौँ ।

(लामिछाने एनआरएनए केन्द्रिय समितिका मानार्थ सदस्य तथा एनआरएनए अमेरिकाका पूर्व केन्द्रिय सदस्य हुन् ।)