युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध : बाइडेन

युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध : बाइडेन


युक्रेनसँगको वार्तामा प्रगति भइरहेको पुटिनको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन् । मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो धारणा आएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे । उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेको समेत बताए । ‘निश्चय नै सकारात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन्,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु ।’

यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन ।

यस क्रममा रुसी हमलामा हजारौँको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन् । युक्रेन संकटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन् । तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ । बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् । ‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो । यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धि प्रदान गरेको थियो,’ पुटिनले भनेका छन्।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्ने छैनौँ । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनको भनाइ छ ।

यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ ।

युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन् ।

यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य सहरहरुमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।