एनआरएनएको अध्यक्षमा डा. केसी र थापा भिड्ने, कुल आचार्य ‘रिङआउट’

एनआरएनएको अध्यक्षमा डा. केसी र थापा भिड्ने, कुल आचार्य ‘रिङआउट’


गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ । अध्यक्ष पदमा रसियाबाट डा. बद्री केसी र अमेरिकाबाट रवीना थापाले उम्मेदवारी दर्ता गराएका हुन् । केसी र थापा दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।

संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।

अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् । जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने थापा दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज उठाउँदै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन् ।

नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनले एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन् ।

अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । संघअन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका केसी प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताएका छन् ।

डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धिलाई थप उचाइमा पुर्‍याउने दाबी गरे । आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता र सबैको साझा उम्मेदवार भएको केसीको दाबी छ ।

यता अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलाउँदै आएका कुल आचार्य भने चुनावी मैदानबाटै बाहिरिएका छन् । प्रतिनिधि छनोटमा अनियमितता भएको बहाना बनाएर आचार्यसहित उनीनिकटका केही व्यक्तिले मनोनय नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए ।