एमसीसी मामलामा चलखेल गरेको भन्दै माओवादीका सांसदले गरे पार्टी परित्याग

एमसीसी मामलामा चलखेल गरेको भन्दै माओवादीका सांसदले गरे पार्टी परित्याग


नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । कर्णालीका सांसद विष्टले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनको भनाइ छ । पार्टीको सबै जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उनले बताए ।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए ।

‘मैले आजदेखि पार्टी र सांसद पदबाट राजीनामा दिएको छु’, उनले भने- ‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन ।’

कर्णाली प्रदेशमा पछिलो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने र टिप्पणी गर्ने सँगै बौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले कर्णालीको माओवादी केन्द्रमा हलचल आएको छ ।

यस्तै, कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदाहुँदै पनि गैरसांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको विषयमा उनले चर्को असन्तुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथनप्रति विष्ट चर्को विरोधमा थिए ।