मेरो धर्म र मेरो विवेक !

मेरो धर्म र मेरो विवेक !


स्वधर्म साह्रै महत्वपूर्ण छ । स्वधर्म भनेको यस्तो धर्म हो जुन आफ्नो शरीरको स्वभाव, बौद्धिक क्षमता, शरीरको बनौट आदिको आधारमा आफ्नो लागि उपयुक्त बाटो हो ।
  • दामोदर पौडेल

मुलभूत रूपमा धर्मका दुई पक्ष देखिन्छन्, सांसारिक पक्ष र अलौकिक पक्ष । त्यस्तै अर्का दुई पक्ष- भौतिक पक्ष र आध्यात्मिक पक्ष हुन् । धर्मका बारेमा धेरै पक्षहरू उल्लेख गर्न सकिन्छ, विशेषताहरू उल्लेख गर्न सकिन्छ ।

यस जीवनका लागि गरिनुपर्ने कार्य र यस जीवनबाट परत्र सुखी वा खुसी हुने कार्यसमेतका आधारमा धर्मलाई मर्त्यलोकमा गर्नुपर्ने कार्य र मृत्युपर्यन्तको लागि गरिने कार्य भन्न सकिन्छ । धर्म भनेको शरीरको स्वभाव र क्षमताअनुसार कार्य गर्नु वा नगर्नु तथा समय परिस्थितिअनुसार उचित विषयको चयन गर्नु, संस्कृति र धर्मको सहसम्बन्ध र एकले अर्कोलाई कति सहयोग गर्छ तथा धर्म र संस्कृतिहरू कति परस्परमा निर्भर छन्, धर्मका शास्वत पक्ष के हुन् ? सत्य विषयहरू के हुन् ? धर्म किन आवश्यक छ ? भगवान् वा उपरवाला वा गड छन् कि छैनन् ? जस्ता सवालहरू पनि महत्वपूर्ण छन् ।

हामीले कुन धर्म मान्ने ? वुद्ध नै भगवान्, ईश्वर, गड हुन् कि होइनन् ? राम ठीक कि रावण ? असल र धर्मिक मान्ने तथा खराब र अधर्मी मान्ने आधार के-के हुन् । इतिहास र धार्मिक पुस्तकका भनाइलाई कुन रूपमा लिने ? महिला र पुरुष समान छन् कि छैनन् ? किन अविकसित अवस्थामा महिलालाई भन्दा पुरुषलाई महत्व दिइएको होला ? सबै धर्ममा पुरुषलाई उच्च स्थान दिइएको होला ? पहिलाका सबै परम्परा र धर्महरूलाई अहिले मान्न उपयुक्त छैन कि ? वा कसरी मान्ने ? सम्पूर्ण चराचर जगत र प्राणीसमेतको उत्पत्ति कसरी भयो ? यसको उत्पत्ति कसले गरेको होला ? किन गरेको होला ? मरेका मानिस जन्मने र स्वर्ग वा नर्क जाने हुन्छ कि हुँदैन होला ? धर्म र विकास, धर्म र संस्कृतिबीच के भिन्नता र समानता होला ? धर्मग्रन्थहरूका कुरा सत्य हुन् कि हैनन् होला ? मान्ने कि नमान्ने ? कुन मान्ने ?

विश्वमा धेरै धर्म छन् । कुनै धर्मले महिलालाई पुरुषको सम्पत्ति मान्छन्, कुनै धर्मले पृथ्वी चेप्टो छ भन्छन् भने कुनै धर्म मान्नेले गाई जस्ता पशु–प्राणीलाई पनि भगवान् भनेर पुजा गर्छन् । कुनैले एउटालाई मात्र मान्छन् र कसैले धेरैलाई मान्छन् । कुनै धर्ममा त त्यसै धर्मभित्र पनि विवादास्पद र फरक कुरा छन् । त्यस्तोमा कुनलाई मान्ने ? भन्ने सवाल पनि छ ।

धर्मको भौतिक पक्ष र आध्यात्मिक पक्ष कुन बढी महत्वपूर्ण ? के धर्मको लागि भनेर मानिस मार्नु राम्रो हो ? कुन धर्म राम्रो भन्ने सवालका अलावा धर्म नै नमान्नु पो राम्रो हो कि ? स्वर्ग, जन्नत, हेभेन, मुक्ति आदि सत्य हुन् कि होइनन् ? किन त्यसको बारेमा थाहा हुन नसकेको होला ? यति धेरै विवादित विषय, अनेक धर्ममध्ये कुनचाहिँ सत्य हो भन्ने विषय, धर्म कसरी मान्ने भन्ने विषय सबैलाई महत्वपूर्ण छन् । धर्म नमान्नेहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छन् । सह-अस्तित्वलाई आत्मसात गर्ने धर्महरू मात्र मानव धर्म हुन् र उपरवालाबाट प्राप्त भएका धर्महरू हुन् कि ? धर्ममा केही थपघट हुँदै गएकोले विवादास्पद भएको पनि भनिन्छ । धर्ममा रहेका तीमध्ये कुन कुरा पछि थपिएको वा घटाइएको हो भन्ने कुरा के सत्य हो ? र, कसरी थाहा पाउने ? धर्म समाजमा अझ धेरै महत्वपूर्ण भएको महसूस गरिएकोले धर्महरूमा समानता, अन्य धर्महरूका निर्देशहरूसँग पनि मेल खाने, विज्ञानसम्मत र विवेकको आधारमा हेर्दा उपयुक्त हुने धर्म नै वास्तविक धर्महरू हुन् । ती धर्महरू मात्र उपरवालाले दिनुभएका फरक परिवेश र फरक स्थानका वचनहरू हुन् ।

केही जिज्ञासुले सोध्ने गर्छन्- म महिलालाई दासी वा पुरुषको सम्पत्ति मान्दिनँ । यस्तो मानिसको लागि मुक्तिको उपाय छ कि छैन ? म महिला, पुरुषभन्दा महिला कम छैनन् र मुक्तिको लागि अझ राम्रो गुरु हुँ अनि, मुक्तिको बाटो देखाउने वा त्यतातिर लैजाने माझी हुँ । त्यसैले म पुरुषभन्दा अब्बल छु भन्ने विश्वास छ । मेरो लागि मुक्ति सम्भव छ कि छैन ? मलाई मरेपछि स्वर्गमा गएर धेरै महिलासँग सहवास गर्नु छैन । स्वर्गमा बसेर लामो समय सहवासमा लीन हुने इच्छा पनि छैन । मजस्ता पुरुषको लागि स्वर्गमा स्थान छ कि छैन ? मलाई स्वर्गमा पतिले सयौँ महिलाहरूसँग यौनसम्बन्ध राखेको हेरेर समयको प्रतीक्षा गरेर बस्नु छैन । मलाई स्वर्गमा स्थान छ कि छैन ? मेरो लागि वास्तविक मुक्तिको बाटो अर्थात् धर्म कुन हो ? वा कुन हुन् ? भन्ने सवाल आइरहन्छन् ।

धर्महरू जति भए पनि सबैको मुख्य भावना एउटै छ भन्ने आत्मसात गर्छ र त्यो धर्म वा पन्थले अरु पन्थ वा धर्मको सहअस्तित्वलाई आत्मसात गर्छ । जुन समानता र विवेकमा आधारित छ, त्यो मात्र मेरो धर्म हो । म जन्मको आधारमा कुनै धर्म मेरो हो भन्दिनँ । जात र वर्ण वा स्थानको आधारमा म यो धर्म मेरो हो भन्दिनँ । म धर्मको चुरो विषय र सबैमा समभाव राख्ने धर्म मात्र मान्छु । मलाई सबै धर्महरू उपरवालाले नै समय, परिस्थिति र आवश्यकताको आधारमा विभिन्न समयमा दिएका र गरेका वचन तथा कर्महरू हुन् भन्ने मान्यतामा प्रष्ट छु । यो सोच ठिक र सत्य हो कि हैन भन्नेबारे पनि मलाई उत्तर चाहिन्छ भन्ने अधिकार मलाई छ कि छैन ? भन्नेहरूलाई पनि सजिलो उत्तर रहेको धर्म के हो ? यसलाई कसरी बुझ्ने ? भन्ने प्रष्टता मलाई चाहिन्छ । किताब र कथाहरूका कुरालाई आधार मान्ने हो वा प्रमाणका रूपमा कुनै वस्तुलाई दिने हो भने सबै धर्महरूले वा तिनीहरूका किताबले यस्तो उल्लेख गरेकै छन् र, भनेकै छन् । तीमध्ये कुन भनाइलाई मान्ने ? दुनियाँले खोजोस् वा नखोजोस् तर अझै लाखौँ वर्ष भन्दा पनि बढी अस्तित्वमा रहने सम्भावना भएको यो पृथ्वीको बारेमा मात्र ध्यान दिँदा पनि अहिले लादिएका वा धेरैबाट मन पराइएका धर्म भनिनेहरू समेत त्यस समयसम्म रहलान् ?

वास्तवमा एकपक्षीय धर्म जसमा विवेक, समानता, फरक विचार र धर्म शान्तिपूर्वक स्वतन्त्र अस्तित्व एकको उपयुक्त विषय अर्कोले आत्मसात गर्न त्यसमा रहन नपाउने हो भने जति विज्ञानको विकास हुन्छ त्यति नै ती कथित धर्म कुनै गलत भावना लिने विद्वान् भनिनेले ईश्वरका भनाइको नाममा ल्याएका गलत विचारहरू हुन् भन्ने विवेकशील मानिसहरूलाई प्रष्ट हुन्छ । त्यस अवस्थामा पनि दिमाग नै गलत शिक्षाले भरिएका आफ्नो विचारसँग सहमत नहुनेलाई मार्न पनि पछि पर्न हुँदैन भन्ने सहज पागल धर्मभिरुहरूको कब्जामा मानिसहरू पर्न पनि सक्छन् र, मानवहितको लागि बनेका राम्रा बस्तुहरू नराम्रो अर्थात् मानव जातिको विनासको लागि पनि प्रयोग हुन सक्ने हुँदा जुन समय पनि गलत विचारले मानवको अस्तित्व समाप्त गर्ने सम्भावना हुन्छ । पृथ्वीमा भौतिक र रसायनिक परिवर्तनका नयाँ अवस्था मात्र रहन सक्छन् । पहाड फोर्न उपयुक्त हुने बमहरू मानव बस्तीमा मानवलाई मारेर तहसनहस पारेर आफू स्वर्ग वा जन्नतमा जाने तथा मोजमस्ती गर्ने इच्छाले आफूसमेत मर्न तयार हुने कल्पनामा रमाउने सहज अपराधीले विश्व नै ध्वस्त पार्ने हतियार र मौका पाए सबैलाई तहसनहस पार्न चाहँदैन होला र ? त्यस्ता मुर्खहरूको बारेमा भन्ने हो भने केही पहिला आकाशमा राति कुनै नयाँ सङ्केत वा बस्तु देखिँदा यसै समयमा नदीमा हाम्फाल्ने हो भने मुक्ति पाइन्छ भन्दै सयौँ मानिस नदीमा हामफालेर मरे र यस्तै प्रकारका घटना बारम्बार हुने गर्छन् । एक जना मानिसले विकलाङ्गलाई देखेर साह्रै दया लागेकोले स्वर्ग जाउन् भनेर बन्दुकले धेरै शारीरिक रूपमा फरक मानिसहरूलाई मारेछन् । त्यस्तै कुनै धार्मिक सहज अपराधी भइ पागलपनमा रमाउनेले यो समय प्राणी मुक्तिको समय हो भन्ने सङ्केत आयो वा सपना देखेँ भनेर मानव वा सबै जीवको कल्याण होस् भनेर आफू र आफ्ना अनुयायीहरू भएर संसार नै ध्वस्त बनाए र त्यसको लक्ष्य सबैलाई मुक्ति दिनु हो भन्ने सोचे भने के होला ? उनीहरूको यो धार्मिकता र सदासयता वास्तविक धार्मिकता होइन भन्नेमा विमति नहोला । यही कारणले नै धर्मको मृत्युलोकमा प्रयोग यसै लोकमा देखिने गरेर वा यस लोकमा कुनै पनि असर नगर्ने किसिमबाट हुनुपर्ने हुन्छ ।

स्वर्गको कल्पना गर्ने हो तर उपरवालाको नाम, निस्काम कर्म, अरुको हानी नपुग्ने भनेर मृत्युलोकमा मान्यता पाएका विचारहरूको माध्यम, विवेकशील रूपमा प्रयोग हुने विचार, ज्ञान, साधना, भक्ति तथा सबै धर्महरूले वा पन्थहरूले साझा रूपमा बोलेका विवेकसम्मत माध्यम मात्र वास्तविक हुन् । धेरै समयसम्म र बचपनदेखि नै कुनै एक विषय वा धर्म राम्रो भनेर घोकाइएको र अरु धर्म र व्यवहारको सम्बन्धमा जानकारी नै नभएको र भए पनि पुर्वाग्रहपूर्ण रूपमा जानकारी भएको व्यक्तिले आफूलाई घोकाइएका विचारहरू चाहिने भन्दा बढी जानेको हुन्छ, कल्पनामा अरु धेरै अर्थ लगाउँछ, तर अन्य धर्म र विचारहरू तथा व्यवहारहरू चाहिने भन्दा पनि कम जानेको हुन्छ वा जानेको हुँदैन वा गलत रूपमा बुझाइएको हुन्छ भने उसले लगाएको चस्माबाट अरु सबै नराम्रा देखिनु र अपराधी देखिनु अनौठो नहोला । त्यतिबेला संसारका जीवहरूलाई तहसनहस पार्न सक्ने भए उसले नपार्ला ? यदि कयामत नै आएर पनि मानिसले नबुझेका हुन् भन्ने उसलाई लाग्यो भने सबैको कल्याणको लागि संसार नै तहसनहस पार्नु नै धेरै घर्म गर्नु हो भन्ने कल्पना गर्न थाले भने त्यस्ता अतिवादी सहज पागल धर्मभिरुहरूले के नगर्लान् र ! नत्र अर्को धर्म मान्ने बालिकालाई बलात्कार गर्नु र आफ्नो धर्ममा ल्याउने प्रयास गर्नु तथा आफ्नै धर्मका महिलाहरूलाई पनि तल्लो सम्झनु जस्ता काम किन हुन्थे ?

त्यस्ता भनाइ र विचारहरू तथा तिनको पछि लाग्ने गलत हुन् र काम पाप पनि हुन् । समान सोच राख्ने अर्को मानवको अहित हुनु र उसलाई आफ्नो अधीनमा राखेर धर्म हुन्छ भन्ने मान्यता कुनै व्यक्ति वा धर्मभिरुले लिन्छ भने वा कुनै धर्मको नाममा सन्देश दिइन्छ भने यो विचार र सन्देश नरकको बाटो हो । धर्म त त्यही हो जुनले तपाईंलाई शान्तिको अनुभूति दिन्छ, तपाईंलाई शान्तिको अनुभूति हुँदा अरु नै विचार र धर्म लिनेको लागि डर हुँदैन । त्यस्तै तपाईंको पनि त्यस्तै व्यवहारको अपेक्षा रहन्छ तथा त्यो अवसर, चाहना, भावनालाई कन्द्रीत गरेर दिएका वचनहरू नै ईश्वरवचन हुन् । नाम नै नलिएर वा कमन नाउन (जातिवाचक नाम) लिएर त्यो भगवानको म पुजक हुँ भनेर, त्यही नाम नै नभएको अर्थात् तपाईंलाई नाम भन्न मन नलागेको जस्तो लाग्छ भने त्यही उपरवाला, गड, भगवान्, ज्योतिरूपलाई आदि अवस्थालाई सम्झेर प्रार्थना गर्न पनि त सकिन्छ । व्यक्तिवाचक नाम राम, कृष्ण, बुद्ध, ब्रह्म, अल्लाह, परमेश्वर, स्वर्गका पिता, दुर्गा माता आदि नाम नलिएर पनि कतिपय धर्मको भन्दा झनै राम्रोसँग प्रार्थना हुन सक्दछ । यही भावना र कामबाट मुक्ति प्राप्त हुन्छ ।

ब्रह्माण्डको उत्पत्ति, भगवानको सन्देश, मानिसको उत्पत्ति आदिको ज्ञान मुक्तिको लागि अनिवार्य होइन, विज्ञानसम्मत भए जानकारीयोग्य विषय हो । धर्मको बारेमा बारम्बार स्वधर्म पनि भनिन्छ जुन साह्रै महत्वपूर्ण छ । स्वधर्म भनेको यस्तो धर्म हो जुन आफ्नो शरीरको स्वभाव, बौद्धिक क्षमता, शरीरको बनौट आदिको आधारमा आफ्नो लागि उपयुक्त बाटो हो । जस्तै सबै वैज्ञानिक हुन सक्दैनन् । ज्ञानको क्षमताअनुसार मानिस वैज्ञानिक हुन सक्छ भने पढाइ राम्रो गर्न नसक्नेले व्यवसायसम्बन्धी पढाइ र काम गर्न सक्छ । मानिस स्वधर्मप्रति सजग हुन आवश्यक छ र स्वधर्मअनुसार पढाइ र पेशा लिनाले उसको क्षमताको उचित उपयोग हुन्छ र प्रयास खेर जाँदैन । पाइलटको काम डाक्टरले गर्न चाहेमा परिणाम भयावह हुन्छ ।

धर्मका केही पक्षहरू अपरिवर्तित हुन्छन् । भगवानले दिएका विचारहरूको स्मरण र भक्ति गरिनुपर्छ । उनले दिएका अपरिवर्तनशील सन्देशहरू पनि छन् अपराध नगर्नु, सबैलाई समान व्यवहार गर्नु आदि । भगवानका बारे र धर्मका बारे केही छनौट गर्न सकिने छन् । जस्तै- भगवान् निराकार, साकार वा कण-कणमा छन् लगायतका इच्छा र स्वभावअनुसार छनौट हुन सक्छ । भगवानको स्तुति गर्ने, नाम जप्ने, भक्ति गर्ने, गीत-संगीतबाट भगवानलाई सम्झने, ज्ञान लिने, निस्काम कर्मयोग आदिमा छनौट गर्न सकिने हुन्छ । केही विषय समयसापेक्ष छन्, तथा परिस्थितिजन्य छन् । तिनै समेतका विषयलाई समन्वय गरेर वा कुनैलाई प्रधान मानेर धर्म मान्न सकिन्छ । आफ्नो कारणले भएको परिणामको उचित किसिमले इमान्दारी साथ निकास दिनु पनि धर्ममा पर्छ ।