अर्थमन्त्रीद्वारा अर्थतन्त्रमा समस्या पैदा भएको स्वीकार, ‘परनिर्भरता’लाई औंल्याएर चोखिने प्रयास

अर्थमन्त्रीद्वारा अर्थतन्त्रमा समस्या पैदा भएको स्वीकार, ‘परनिर्भरता’लाई औंल्याएर चोखिने प्रयास


पोखरा-काठमाडौं यात्रा जम्मा २ घण्टाको हुनुपर्ने !

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र खतरामा परेको स्वीकार गरेका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको जिकिर छ ।

कास्कीमा आयोजित लेखनाथ महोत्सवको उद्घाटन गर्दै माओवादीका पूर्वकमाण्डर रहेका मन्त्री शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ । खाद्यान्नदेखि विलासिताका बस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ । यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’

अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले कृषि उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई सुझाव दिए । आयातलाई प्रतिस्थापन गर्न कृषिमा आत्मनिर्भर हुनुपर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्ने उनको तर्क छ ।

मन्त्री शर्माले पोखरादेखि काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लीन सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकोले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाइ छ ।

बिहीबारदेखि सुरु भएको महोत्सव आगामी चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टल राखिएका छन् ।