थामिएला त देशको ओह्रालो यात्रा ?

थामिएला त देशको ओह्रालो यात्रा ?


समस्या चिन्ने भन्दा थप्ने, सुल्झाउनेभन्दा बल्झाउने र आमजनताको पीडा-क्रन्दनमा अट्टहास गर्ने प्रवृत्ति शासन-सत्तामा हाबी रहँदै आएको छ र, यो दूरावस्था यतिबेला उत्कर्षमा छ ।

शेरबहादुर देउवानेतृत्वको वर्तमान सरकारका सारथिको रूपमा आफूलाई चित्रण गर्न रुचाउने तथा माओवादी पार्टीका सर्वकालिक सुप्रिमो प्रचण्डको पन्ध्र वर्षअघिको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ बनिरहेको छ । उक्त भिडियो-दृश्यमा प्रचण्डले दिएको अभिव्यक्ति एवम् उनको बोलीको आशय छ कि नेपाल साधन-स्रोतले दक्षिण एसियामै सबभन्दा सम्पन्न देश हो, विगतका शासकहरूको अयोग्यताका कारण देश निकै पछि पऱ्यो, अबको दश वर्षमा नेपाललाई दक्षिण एसियाकै सबभन्दा समृद्ध मुलुक बनाएरै छाडिन्छ…!

देशको नेतृत्व लिन चाहने या नेतृत्व तहमा पुगेका व्यक्तिले देशलाई विकसित वा समृद्ध बनाउने आकाङ्क्षा र अठोट दर्शाउनु स्वाभाविक विषय हो । देशलाई अगाडि लैजानकै निम्ति राजनीति गर्ने हो, मुलुक हाँक्ने अवसर प्राप्त हुँदा हरेक राजनीतिकर्मीले निर्वाह गर्ने या गर्नुपर्ने कर्तव्य पनि यही नै हो । यसर्थमा प्रचण्डले दश वर्षभित्रै नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक तुल्याउने प्रतिबद्धता जनाउनु स्वभाविक र स्वागतयोग्य कुरा नै हो/थियो । तर, मनसाय अलग अनि बोली र व्यवहार बेग्लै प्रकट गरेर जब कोही आफूलाई राजनीतिको अग्रस्थानमा ‘जसरी पनि’ टिकाउन मरिहत्ते गरिरहेको हुन्छ, तिनका अभिव्यक्तिको कुनै तुक रहन्न । यसको ज्वलन्त उदाहरणीय पात्र हुन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जो यतिबेला पनि काङ्ग्रेसको काँधमा बन्दुक राखेर इच्छानुसार शिकार गरिरहेका छन् ।

राजनीति भनेको एक उच्च दर्जाको समाजसेवा हो, नितान्त निःस्वार्थी भावमा रही देश र जनताको सेवा गर्नु राजनीतिको सुन्दर पक्ष हो र, व्यक्तिगत तथा अवान्छित स्वार्थसिद्धका लागि परायापोषण हुने कर्म राजनीतिको नाममा गरिनु जघन्य अपराध एवम् देशद्रोह हो भन्ने यदि प्रचण्डमा चेत हुँदो हो त उनले जे-जे गरिआएका छन्- सम्भवतः यस्तो पक्कै गर्ने थिएनन् ! आफ्नै बोली र व्यवहारको कदर गर्न नसक्ने नेताले देश र जनताको सेवा र सम्मान कसरी गर्न सक्छन् होला ? आफैलाई ढाँटछल गर्न असहज नमान्ने व्यक्तिले देश-दुनियाँप्रति कतिसम्म छलछाम गर्न सक्छ होला ? यस्ता प्रश्न प्रचण्डका अभिव्यक्ति र व्यवहार नियाल्ने हरेक सचेत नेपालीजनको हृदयमा उब्जिनु अस्वाभाविक छैन ।

दश वर्षमा देशलाई दक्षिण एसियाको अगुवा देश तुल्याएर देखाउने कसम खाएका प्रचण्ड पन्ध्र वर्षपछि यतिबेला आफ्नो उक्त बाचा सम्झेर के सोच्दा हुन् भनी जिज्ञासु बन्नु निरर्थक छ, उनका सोच-शैली एवम् वर्तमानका रवैया नियाल्दा । बिहान बोलेको दिनमा बिर्सने अनि दिउँसोको बोली बेलुका बदल्ने राजनीतिजीवीले पन्ध्र वर्षअघि के बोले र अहिले के बित्दै छ भनी लेखाजोखा गर्नु पनि बेकारकै विषय हो यथार्थमा । तथापि, झण्डै साढे तीन दशकदेखि अविच्छिन्न रूपमा दलविशेषको शीर्ष नेतृत्व तहमा रही प्रकारान्तरले लगभग त्यति नै अवधि मुलुकको शासन-सत्तालाई प्रत्यक्ष-परोक्ष तवरले प्रभावित तुल्याउँदै आएका पात्रको भूमिकालाई नजरअन्दाज गर्न पनि सकिँदैन/मिल्दैन ।

प्रजातन्त्र पुनःस्थापनापछिका तीन दशक अवधिको समग्र स्थिति पुनरावलोकन गर्दा देश के थियो र आज कुन परिस्थितिमा आइपुग्यो- सबै जानिफकार नै छन् । यस दर्दनाक परिवेश सिर्जना हुनुको दोष कुनै व्यक्तिविशेषप्रति थोपर्नु पनि वान्छनीय नहोला । प्रचण्ड-प्रवृत्ति त एक नियोजित रूपमा उब्जाइएको उदाहरण मात्रै हो, यथार्थमा ‘म नेता हुँ, मबाहेक अरुले देश बनाउन सक्दैन, अरु सब खराब फगत् म सही, पाँच-दश वर्षमै मुलुकको कायापलट गर्छौं’ भन्ने जस्ता अभिव्यक्ति जो-जतिले दिए पनि यी सब ‘बुख्याँचा’को भूमिकामा रहेका पात्र मात्र रहेछन् भन्ने समयले सिद्ध गरिसकेको छ । आफैंमा दम-दक्षता भएका व्यक्ति थिए भने कुनै न कुनै एकले त आशा-भरोसाअनुरुप कर्म गरी देखाउन सक्ने थिए ! निःस्वार्थ भावले देशसेवामा उत्रिएका थिए भने कुनै एक त बाह्य दबाब र प्रभावबाट मुक्त रहने थिए ! तमाम नेपालीजनका निम्ति विडम्बनाको विषय हो कि त्यस्तो सच्चा सपुतको उदय नेपाली राजनीतिक फाँटमा भएको देख्न वा अनुभूत गर्न कमसेकम पछिल्ला तीन दशक अवधिभर पाइएन ।

आर्थिक, सामाजिक, सांस्कृतिक सबै कोणबाट देश तीव्ररूपमा ओह्रालो लागिरहेको छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेशका आधारमा भन्नुपर्दा ओह्रालो यात्रामा विराम लाग्ने कुनै लक्षण देखिएको छैन । सङ्कटावस्थाको पहिचान गरी विपत्ति टार्ने भूमिकामा दर्शिनुपर्ने दायित्व सामान्यतया देशका नेतृत्वकर्ताहरूकै हो । तर, समस्या चिन्ने भन्दा थप्ने, सुल्झाउनेभन्दा बल्झाउने र आमजनताको पीडा-क्रन्दनमा अट्टहास गर्ने प्रवृत्ति शासन-सत्तामा हाबी रहँदै आएको छ र, यो दूरावस्था यतिबेला उत्कर्षमा छ । प्रचण्ड-प्रवृत्तिले गाँजेको यस कहालीलाग्दो अवस्थाबाट मुक्तिका लागि अब सच्चा नेपालीजनका बीचबाट घनघोर विद्रोह प्रतीक्षित विषय बन्न पुगेको छ । अन्य विकल्प समाप्त भएको महसूस गरिनु अप्रिय सन्दर्भ हो तर यही नै यथार्थ पनि हो ।