उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गीरी क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।
उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्बिर सार्वजनिक भएका हुन् । तर, विश्लेषकहरूले पुन्गे-री परीक्षणको लागि तयार हुन वर्षौं लाग्न सक्ने बताउँछन् ।
पछिल्ला केही दिनमा नयाँ भवनको निर्माण, विद्यमान भवनको पुनर्निमाण र काठ तथा आरोको धुलो जस्ता निर्माणका केही प्रारम्भिक संकेत स्याटलाइट तस्बिरमा देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज (सीएनएस)ले जनाएको छ । उत्तर कोरियाले परीक्षण साइटको अवस्थाबारे केही निर्णय गरेको त्यहाँ भएका कार्यहरुले संकेत गरेको विश्लेषकहरुले बताएका छन् ।
प्रतिक्रिया